आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुस युक्रेन युद्ध  : तीन सय भन्दा बढी नेपाली सुरक्षित स्थानमा

राजधानी कीभका सबै नेपालीले युक्रेन छोडे
बुधबार, १८ फागुन २०७८, ०७ : ०९
बुधबार, १८ फागुन २०७८

लन्डन । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिएका हुन् ।

समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् । यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरूलाई सुरक्षित स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो  ।

बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीहरूले समेत नियमित रूपमा युक्रेनमा रहेका नेपालीहरूसँग सम्पर्क रहेको जानकारी दिए । उनले एनआरएनएका राष्ट्रिय समितिहरू उद्धार कार्यमा सक्रिय रूपमा लागि परेको जानकारी दिँदै  एनआरएनए पोल्याण्डको सक्रियतामा आर्थिक सहयोग सङ्कलनको तयारी थालिएको जनाए ।

रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी कीभमा रहेका सम्पूर्ण नेपालीहरूले युक्रेन छोडेको जानकारी दिए । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विद्यार्थीहरू चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले  गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए । सुवेदीले युक्रेनमा रहेका नेपालीहरूको सङ्ख्या सोचे भन्दा अझ बढी हुनसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप