सभामुख, प्रचण्ड र नेपाललाई ओलीको जवाफी हमला, एमसीसी कार्यान्वयनमा जोड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी परियोजना संसद्बाट अनुमोदन भएपछि मंगलबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्ना धारणाहरू सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारले एमसीसी पास गर्न संसद्‍मा अगाडि बढाउन खोज्दा एमालेले जस लिन्छ भनेर अन्य दलहरूले रोकेर अहिले पास गरेको आरोप लगाए । साथै सभामुख, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नो पदको रक्षाका लागि एमसीसी परियोजना अगाडि बढाउन बाध्य भएको दाबी गरे । साथै एमसीसी पारित गर्ने प्रक्रियामा सभामुखले असंसदीय व्यवहार गरेको बताउँदै सभामुखले राजीनामा दिएर नबाहिरिए एमाले महाभियोग लगाउन तयार रहेको पनि उल्लेख गरे ।
पद जाने भयो भनेर एमसीसी पास गरे, १२ बुँदेको अर्थ छैन
अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटा र माधव नेपालको पद जाने भयो भनेर सभामुख, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पास गर्न अघि बढेको आरोप लगाए । एमसीसी सम्झौता संसद्‍मा टेबल गर्नुपर्यो भने आत्महत्या गर्छु भन्ने जस्तो कुरा गर्ने सभामुखले आफ्नो पदसँग एमसीसी सम्झौता साटेको ओलीको आरोप थियो । माओवादी र एकीकृत समाजवादी कार्यकर्ता सडकमा भिडाउने आफू यता सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएर सो सम्झौता पास गरेको बताए ।
उनले भने–‘ एमसीसीमा राष्ट्रघात भएको हो कि हैन तपाईंहरूले उहाँहरूलाई सोध्नुपर्ने कुरा हो । राष्ट्रघात भएको हैन भने किन हल्ला चलाउनु, किन कार्यकर्ता परिचालन गराउनुभयो, किन ढुङ्गामुढा गराउनुभयो, किन बाटो भत्काउनुभयो । प्रचण्ड माधव नेपालहरूले कार्यकर्ता उकासेर, आवेश उत्तेजनामा ल्याएर देशभक्तिको एउटा भावना उरालेर बाटो भत्काउन र ढुङ्गामुढा गर्न लगाउनुभयो । सत्ता जोगाउनका लागि जनतालाई दुख दिनुभयो । सभामुखको पद जाने भयो, माधव नेपालको पद जाने भयो । त्यसो भएपछि यो एमसीसी पारित गर्नुभयो । राष्ट्रघात सार्वभौम सत्ताको प्रश्न हो भने सभामुखको पद वा फलानाको पदसँग साटिन सक्छन् ? त्यो जोडिन वा साटिन सक्ने विषय नै हैन । तर उहाँहरूले त्यसै गरी व्याख्या गरेको सुन्नुभएको छ ।’
अध्यक्ष ओलीले कुनै पनि दातृ मित्रराष्ट्र कसैसँग पनि सहयोग सहकार्य, कुनै विषयमा ठोस रूपमा समयमै बिचार गर्नुपर्ने बताए । राष्ट्रिय आवश्यकता र प्राथमिकताका आयोजनामा बाह्य सहयोग र लगानी हामी स्वीकार्ने बताए । उनले सम्झौता गर्नुभन्दा अगाडि त्यसमा रहेका भाषा कस्तो रहेको त्यसलाई हेर्नुपर्ने बताउँदै एमसीसी सम्झौता अहिले सरकारमा रहेका गठबन्धन दलले नै गरेको बताए । उनले ओली सरकारलाई पास गर्न दिएर किन जस दिने, ओली सरकार ढालेपछि पास गर्ने भनेर गठबन्धन लागेको र सोही अनुसार पास गरिएको दाबी गरे ।
उनले भने–‘प्रदीप ज्ञवाली अमेरिका पुगेर आइपीएसको अंग बनाइयो भन्ने हल्ला पनि चलाइयो । अहिले तथाकथित १२ बुँदा राखेर पास गरियो त्यो बुँदाको कुनै अर्थ छैन । राजनीति नगरी यसलाई विकास परियोजनाको रूपमा अगाडि बढाउनुपर्ने थियो । शाकाहारी आन्दोलनले पुगेन, मांशाहारी आन्दोलन गर्नुपर्यो, फेरी जंगल जानुपर्‍यो भने धम्की दिएर आफ्नो भनाई माथि पार्ने काम भयो । हामीले संसद्‍मा वातावरण बनाएर छलफल गर्न चाहेका थियौँ । हामीमाथि असंसदीय व्यवहार गरियो ।’
उनले सांसदहरूले सभामुखको बेल घेराउ गरेपछि संसद् बसेको नमानिने बताउँदै सभामुखले असंसदीय अभ्यास गरेको आरोप लगाए ।
एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको थिएन
अध्यक्ष ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताए । उनले आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा नै सबै प्रावधानहरू हेर्नुपर्ने उल्लेख गरे ।
उनले भने–‘गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको छैन । हामीले त्यो बेला प्रमुख प्रतिपक्षमा हामी थियौँ तर हामीसँग कुनै परामर्श गरिएन ।’ एमाले नेतृत्वको सरकार ढाल्ने र नयाँ गठबन्धन बनाएर एमसीसी पास गर्ने सहमति गर्दै आफ्नो नेतृत्वको सरकार ढालेको दाबी गर्दै उनले संसद्बाट एमसीसी पास हुनुपर्छ भन्ने अमेरिकी दृष्टिकोण सुरुदेखि रहेको पनि स्पष्ट पारे ।
गैरकानुनी रूपमा एमसीसीबारे मृत प्रस्ताव संसद्मा पेस गरियो
अध्यक्ष ओलीले एमसीसी राष्ट्रघाती हो भन्दै आफ्ना नेता तथा कार्यकर्ता सडकमा उचालेर फेरि राष्ट्र एकताका लागि एमसीसी पास गराएको भन्नु लज्जास्पद भएको बताए ।
‘एमसीसी राष्ट्रघाती हो कि होइन भनी कुरा स्पष्ट गर्नुपर्छ, राष्ट्रघाती भन्दै बाटो भत्काउन लगाए, विपक्षी दलको गाडीमा ढुंगा हान्न लगाए । अहिले आएर राष्ट्रिय एकताको कुरा कहाँबाट आयो ?,’ प्रश्न गर्दै उनले सभामुखको पद जाने माधवकुमार नेपालको पद जाने डरले उनीहरूले बहाना बनाएर एमसीसी पास गराएको आरोप लगाए ।
‘हामी एमसीसीको बारेमा संसद्‍मा बहस गर्न चाहन्थ्यौँ तर हामीमाथि ज्यादती भयो,’ उनले भने । आपराधिक क्रियाकलापमा लागेकालाई पार्टीबाट निष्कासन गर्दा पनि सूचना ननिकालेको आरोप लगाउँदै उनले आफूहरूले त्यसको विरोधमा संसद्‍मा आवाज उठाउँदा पेलेर जाने कार्य भएको बताए लगाए ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सांसदभन्दा चार गुणा प्रहरी राखेर सभामुखले गर्व महसुस गरेर खुरुखुरु संसद् सञ्चालन गरेको टिप्पणी गरे । जुन प्रस्ताव संसद्‍मा प्रस्तुत भयो त्यो कानुन सम्मत नरहेको बताउँदै उनले कानुनअनुसार कुनै एउटै अधिवेशनमा प्रस्तुत भएको प्रस्ताव त्यही अधिवेशनमा छलफल गर्नुपर्ने प्रावधान रहेको जिकिर गरे । तर तीन वर्ष अगाडि पेस भएको मृत प्रस्तावमाथि तथाकथित रूपमा गैरकानुनी रूपमा छलफल गराएको उनको आरोप छ ।
सभामुखले राजीनामा नदिए एमालेले महाभियोग लगाउन सक्छ
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताउँदै राजीनामा नदिए महाभियोग लगाउन सकिने उल्लेख गरे । उनले सभामुखको क्रियाकलाप अनुचित रहेको जिकिर गरे ।
ओलीले सत्ता गठबन्धनले जस्तो राजनीति एमालेले नगर्ने पनि बताए । गठबन्धनमा रहेका दलहरू एक्लै चुनावमा जान सक्ने हैसियतमा नरहेको जिकिर गर्दै ओलीले कमजोर भएकैले गठबन्धन खोजेको बताए । ओलीले उनीहरू गठबन्धन बनाएर वा एक्लै जसरी गए पनि त्यसमा एमालेलाई कुनै फरक नपर्ने बताए । एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै उनले आउने चुनावको परिणाम पर्खिन आग्रह पनि गरे ।
काँग्रेसप्रति आक्रोश ः कहिले छोरीलाई बोक्ने कहिले बाउलाई बोक्ने राजनीति गर्दैनौँ
अध्यक्ष ओलीले काँग्रेसको राजनीति प्रतिशोधपूर्ण नहुनुपर्नेमा जोड दिए । उनले अहिलेको गठबन्धन सरकार ढाल्न खोजेको नभई सुरुमै बन्न नदिन प्रयास गरेको बताए । उनले काँग्रेसलाई हिजो कसैले लोकेन्द्र बहादुर चन्द बोक्ने, कसैले सूर्यबहादुर थापा बोक्ने, कहिले छोरी बोक्ने, कहिले बाउ बोक्ने जस्तो राजनीति नगर्न सुझाव दिए ।
उनले भने–‘यो सरकार बन्नै हुँदैनथ्यो लोकतन्त्रका लागि दुर्भाग्य हो । यो संविधानको उल्लङ्घन हो । हामीले लोकतन्त्रको आधारभूत मूल्य मान्यता र प्रणालीको रक्षाका लागि संविधानको रक्षाका लागि या मूलभूत रूपमा सहमति समझदारीका लोकतन्त्रका लागि बलिदान गरेर आएका काँग्रेस र एमालेबीच आधारभूत समझदारी हुनुपर्छ भनेर हामीले भनेका हौँ । कहिले कसको रिसको कहिले कसको रिसको प्रतिशोधका रूपमा काम गरियो । एमाले गठबन्धनको जस्तो राजनीति गर्दैन हामी लोकतन्त्रको पक्षमा राजनीति गर्छौँ ।’
उनले सभामुखले राजीनामा नदिए महाभियोग ल्याउन सक्ने पनि बताएका छन् । एमालेले सभामुखको राजीनामा पर्खिएको र ससम्मान हट्न आग्रह गरेको बताए ।
अब एमसीसी कार्यान्वयन गरेर जानुपर्छ, निरन्तर रखवाली गर्नुपर्छ
अध्यक्ष ओलीले अब एमसीसी परियोजना कार्यान्वयन गरेर जानुको विकल्प नभएको बताए । एमसीसी परियोजना देशको विकास र हितको पक्षमा काम हुँदै जानुपर्नेमा उनको जोड थियो ।
उनले भने –‘एउटा देशको सहयोग निकायसँग हाम्रो देशले गरेको सम्झौता संसद्बाट पारित भइसकेपछि त्यो कार्यान्वयन नहुने भन्ने कुरा हुँदैन । प्रक्रियागत त्रुटि सरकारको त्रुटि हो त्यो गलत हो । त्यसो गर्नु हुँदैनथ्यो सरकारले ग¥यो । संसद्‍मा पनि स्वस्थ ढंगले कहाँ बिचार गर्न दिइयो र ? जसरी पनि पास भएपछि अव यो कार्यान्वयनमा जानुको कुनै विकल्प छैन । कार्यान्वयनमा जानुपर्छ । कार्यान्वयन कसरी जान्छ हेर्नुपर्छ । राष्ट्रहितमा यसको कार्यान्वयनको रखवाली गर्नुपर्दछ । हाम्रो भनाई यसको कार्यान्वयन देशको हितमा होस, विकासको पक्षमा होस ।’
पत्रकारले तपाईंलाई अमेरिकी अधिकारीको फोनबाट दबाब आएको हो भन्ने जिज्ञासामा अध्यक्ष ओलीले नेपालको प्रमुख पार्टीको अध्यक्षको हैसियतमा भारत, चीन, अमेरिकाका अधिकारीले फोन गर्नु स्वाभाविक कुरा रहेको बताए । उनले अमेरिकी सहायक विदेश मन्त्रीको पनि फोन आएको बताए । कसैले धम्की, दबाब वा प्रभाव पार्न खोजे त्यसको प्रतिवाद गर्ने र त्यस्तो दबाब नआएको दाबी गरे ।
भीम रावल अनुशासनहीन हिरो
एमाले अध्यक्ष ओलीले आफ्नै पार्टीका नेता भीम रावललाई अनुशासनहीन ढंगले हिजो बन्न खोजेको आरोप लगाएका छन् । उनले भने–‘पार्टीको काम कारबाही भन्दा आफूलाई पृथक् ढंगले प्रस्तुत गरिरहनुभएको छ । मैले अस्ति हाम्रो संसदीय दलको बैठकमा पनि भनेको थिएँ, आफूलाई व्यक्तिगत तर्फबाट हिरो देखाउन खोज्ने, कुनै पनि बहानामा चाहे राष्ट्रवाद होस चाहे लोकतन्त्र होस वा अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन् त्यसको विरुद्धमा पृथक् देखिएर गर्ने क्रियाकलापहरू अनुशासनभित्र पर्दैनन् । भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद्को सदस्य हो । उहाँले आत्मकेन्द्रीत, आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन काम गर्दै आउनुभएको छ ।’ त्यसतर्फ पार्टीको ध्यान गएको पनि उनले बताए । एमाले एमसीसीको पक्षमा रहेपनि नेता रावल एमसीसी विरोधी कार्यमा क्रियाशील रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता