बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

महाभियोग प्रकरणमा माधवको खुलासा : बालकोटको योजनामा पार्टी समाप्त पार्ने षड्यन्त्र थियो

मङ्गलबार, १७ फागुन २०७८, १२ : ००
मङ्गलबार, १७ फागुन २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बालकोटको षड्यन्त्रअनुसार चल्न खोजेपछि महाभियोग लगाइएको खुलासा गरेका छन् । उनले चोलेन्द्रको नामै नलिई फागुन १ गते पार्टीलाई नै सिध्याउने गरी षड्यन्त्र भएकाले त्यसलाई चिर्न सत्ता गठबन्धन सफल भएको बताए । उनले बालकोटको त्यस्तो षड्यन्त्रसम्बन्धी सूचना आफूले पाएको बताए । 

‘हामीलाई निमिट्यान्न पार्न खोज्ने सबै दुई हप्तादेखिका षड्यन्त्रहरू एक मिनेटमा चुट्की बजाएर समाप्त भएको छ । फागुन १ को षड्यन्त्र त्यस्तै थियो । फागुन १ गते पुरै हामीलाई त्यही दिन हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षड्यन्त्र भइसकेको थियो’, मंगलबारको पत्रकार सम्मेलनमा नेपालले भने, ‘हामीलाई थाहा हुँदैन बालकोटमा के–के षड्यन्त्र भइरहेको छ ? थाहा पाइराख्नु पर्‍यो त्यहाँ । घरको वरिपरि अझै हेर्नुपर्‍यो । सूचना हामीकहाँ पठाउने पठाउने छन् कि ।’

उनले षड्यन्त्र नगर्न, सकारात्मक सोच्न र गलत बाटोबाट फर्किन पनि ओलीलाई आग्रह गरे । उनले भिरबाट लड्ने गोरुलाई रामराम भन्न सकिए पनि काँध थाप्न नसकिने बताए । फागुन १ गते सत्ता गठबन्धनले चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएको थियो । सो महाभियोगसम्बन्धी विषय अहिले संसद्‍मा विचाराधीन अवस्थामा छ ।

ओलीमा दिमागी समस्या छ

नेपालले एमाले अध्यक्ष ओलीमा दिमागी समस्या रहेको आरोप लगाए । उनले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएको उनको आरोप छ । उनले ओलीमा देश शक्तिको भावना नरहेको जिकिर गर्दै उनले दक्षिणपन्थको बाटो अँगालेको बताए । दक्षिणपन्थ अँगालेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायकै नहुने उनको भनाइ छ । एमसीसीमाथि आशङ्का खडा गर्ने काम केपी ओलीले नै सरकारमा हुँदा गरेको जिकिर गर्दै नेता नेपालले त्यसमा उनको क्याबिनेटका मन्त्रीहरूको पनि दोष रहेको बताए । यसबारे प्रश्न उठाउँदा ओलीले नेता कार्यकर्तामाथि लाञ्छना लगाउनुका साथै आत्मालोचना पनि नगरेको नेपालले बताए । ओलीमा व्यक्तिवाद र अधिनायकवादी चिन्तन रहेको बताउँदै नेपालले उनमा आफूमाथि कसैले औँला ठड्याएर समाप्त पार्ने सोच रहेको आरोप लगाए ।

एमाले आतङ्कित भयो, तमासा  देखायो

नेपालले आफ्नो पार्टीको संसद्‍मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष ओली आतङ्कित भएको बताएका छन् । आफ्नो पार्टीलाई नै कारण देखाएर एमालेले संसद्‍मा तमासा देखाउँदै आएको उनको भनाइ छ । ​आफ्नो पार्टी कानुन सम्मत रूपमा आयोगमा दर्ता भएर संसद्मा आएको बताए । तर पार्टीकै उपस्थितिले एमाले आतङ्कित भएको उनले दोहोर्‍याए । उनले एमसीसीको रटान लगाएर नथाक्ने एमाले अन्तिममा आएर एमसीसीको पक्ष तथा विपक्षमा नखुलेर तमासा देखाएको आरोप लगाए । ​

‘एमालेले एमसीसीमा अन्त्यमा न समर्थन न विरोध गर्‍यो । एउटा तमासाको स्थिति बन्यो । जसले एमसीसी अघि बढाउन सारा कुरा गर्‍यो । उ मुकर्दशक भयो’, उनले भने, ‘ यो किन भयो भन्दा समाजवादीको अस्तित्वबाट आतङ्कित भएर । सांसदहरूको उपस्थितिबाट विचलित भएर । हामी वैधानिक रूपमा स्थापित भएको पार्टी हो ।’​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप