आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

युक्रेन र रुसको लडाईँमा परमाणु हमलाको खतरा कति ?

मङ्गलबार, १७ फागुन २०७८, १५ : ०६
मङ्गलबार, १७ फागुन २०७८

युक्रेनमा जारी हमलाका बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई आफ्नो प्रतिरोधी शक्तिलाई ‘स्पेशल अलर्ट’ मा राख्ने आदेश दिएका छन् जसमा परमाणु हतियार पनि समावेश छ । तर यसको वास्तविक अर्थ के हो ?

पश्चिमका विशेषज्ञले यसबारे अहिले नै स्पष्ट भइनसकेको बताएका छन् । बेलायती अधिकारीका अनुसार पुटिनले जुन भाषाको प्रयोग गरेका छन्, त्यसबारे केही स्पष्ट जानकारी हासिल हुन सकेको छैन ।

कसै–कसैले पुटिनले सतर्कताको तल्लो तहबाट अघि बढ्न आदेश दिइरहेको बताएका छन् । यद्यपि, यो पक्का गरी भन्न सकिँदैन ।

धेरैले पुटिनको यो बयानको अर्थ निकाल्दै उनले जनतालाई सन्देश मात्रै दिन चाहेको बताए । कतिले भनेका छन्, ‘उनको उद्देश्य वास्तवमा परमाणु हतियार प्रयोग गर्ने होइन किनभने पुटिनलाई थाहा छ कि यस्तो भएको खण्डमा पश्चिमी देशले जवाफी कारवाही गर्नेछन् । ’ ब्रिटेनका रक्षामन्त्री बेन वालेसले यो घोषणा सिर्फ बयानबाजी मात्रै भएको आफ्नो मान्यता भएको बताएका छन् ।

तर यसको अर्थ यो पनि होइन कि परमाणु हमलाको जोखिम छैन । स्थितिलाई नजिकबाट नियाल्न आवश्यक छ ।

के यो नयाँ धम्की थियो ?

अघिल्लो हप्ता पुटिनले यदि रुसको योजनमा कसैले पनि हस्तक्षेप गर्ने कोसिस गरे उसले यस्तो परिणामा भोग्नुपर्नेछ जुन इतिहासमा कहिल्यै देखिएको थिएन । पुटिनको यो बयानलाई नेटोका लागि धम्कीको रुपमा हेरिएको छ ता कि उसले युक्रेनमा सैन्य अभियान सुरु नगरुन् । यद्यपि, पुटिनले यस्तो चेतावनी कसलाई दिइरहेका थिए भनेर सिधा रुपमा भनेका छैनन् ।

यद्यपि, रुससँग तनाव बढ्ने र परमाणु हमलाको आशंकालाई मध्यनजर गर्दै नेटोले सधैँ आफूले युक्रेनमा आफ्नो सेना नपठाउने स्पष्ट पार्दै आएको छ । तर आइतबार पुटिनले सिधा धम्की दिए ।

नयाँ चेतावनी किन दिइरहेका पुटिन ?

पुटिनले यो कदम पश्चिमी देशको तर्फबाट दिँदै गरिएको आक्रामक बयानको प्रतिक्रिया स्वरुप उठाएका हुन् । सोमबार क्रेमलिनले बेलायतकी विदेशमन्त्री लिज ट्रससहित पश्चिमी देशका अधिकारीका तर्फबाट युक्रेनको विषयमा आक्रामक बयान दिइएको बताएको थियो । पश्चिमी अधिकारीको मान्यता यो पनि छ कि नयाँ चेतावनी यसकारण पनि आएको हुनसक्छ किनभने युक्रेनको विषयमा पुटिनको अनुमान गलत भएको पनि हुनसक्छ ।

हुनसक्छ पुटिनले युक्रेनमा युद्ध सुरु गर्दा कति प्रतिरोधको सामना गर्नुपर्नेछ भन्नेबारे बुझ्न सकेका छैनन् । प्रतिबन्धदेखि कडा प्रतिक्रियासम्म, पश्चिमी देश कुन हदसम्म हुनसक्छने भन्ने कुरालाई उनले कम आँकलन गरे । यसैकारण उनी नयाँ विकल्पको खोजी गरिरहेका छन् ।

हालै सेवानिवृत्त भएका एक बेलायती जनरलले मलाई भने, ‘यो क्रोध, अत्यास र निराशाको संकेत हो ।’

संयुक्त राष्ट्रमा अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डको बुझाईमा यो भाषा युक्रेनमा युद्धलाई सही ठहराउनका लागि पुटिनको प्रयासको हिस्सा हो । उनी दाबी गर्न चाहन्छन् कि रुस हमलाकर्ता नभई खतरामा छ र आफूलाई बचाउने कोसिस गरिरहेको छ ।

अर्को पक्षले यसो पनि भनिरहेका छन् । सायद पुटिन युक्रेनलाई सैन्य सहायता दिने पश्चिमी देशको योजनाका कारण पनि तनावमा छन् । त्यसैले उनी पश्चिमी देशलाई यस्तो नगर्नका लागि चेतावनी दिन चाहन्छन् ।

अर्को एउटा कारण यो हो कि पुटिन प्रतिबन्धका कारण चिन्तित छन् जसबारे उनले आफ्नो घोषणा गरेका थिए । पुटिनको मान्यता यो छ कि यो प्रतिबन्ध रुसमा अशान्ति पैदा गर्ने र उनको सरकारलाई उखेलेर फ्याँक्ने उद्देश्यले लगाइएको हो । यद्यपि, अन्तिममा हेर्ने हो भने पुटिनको सन्देश नेटोका लागि एउटा चेतावनी जस्तो पनि देखिन्छ ।

के खतरा छ ?

पुटिनले धम्की मात्रै दिइरहेका छन्, उनको अहिले नै परमाणु हतियार प्रयोग गर्ने कुनै योजना छैन भनेर मान्ने हो भने पनि एउटा खतरा सधैँ रहन्छ कि उनको सन्देशको अनुमान गलत नहोस् ।

जानकारका अनुसार चिन्ताको कुरा यो हो कि पुटिन एक्लो भएका छन् र आफ्ना केही सल्लाहकारबाहेक उनी कसैको पनि सम्पर्कमा छैनन् जसलाई उनले वास्तविकता बारे बताउन सकोस् । केही मानिसलाई डर लागिरहेको छ कि उनको निर्णय अनिश्चित हुँदै गइरहेको छ ।

केहीलाई आशा छ कि यदि पुटिनले भयानक निर्णय लिइहाले भने पनि अरुले उनको आदेशको पालना गर्नेछैनन् । कुनै पनि परमाणु संघर्षको जोखिम थोरै बढेता पनि तर त्यो अहिले पनि कम नै छ ।

पश्चिमी देशले कसरी दिइरहेका छन् जवाफ ?

अहिलेसम्म पश्चिमी देशका सरकारले विवाद बढाउने बयान वा कारवाही नगर्ने कुरामा सतर्कता अपनाएका छन् ।

अमेरिकी सेनाको रक्षा तयारीसँग जोडिएको आफ्नो चेतावनी अलर्ट सिस्टम छ जसलाई डेफकन नाम दिइएको छ । ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले यतिबेला आफ्नो परमाणु चेतावनी स्तरलाई फेर्न कुनै कारण नभएको बताएकी छिन् ।

ब्रिटेनको परमाणु क्षमता सम्पन्न पनडुब्बी समुद्रमा तैनाथ छन् र उसले पनि सार्वजनिक रुपमा केही बयान सायदै देला । तर यस्तो लागिरहेको छ कि यी देशको उद्देश्य रुसको बयानलाई मात्र एउटा खोक्रो धम्कीको रुपमा हेर्नुछ । यी देशले यो बयानलाई गम्भीरताका साथ लिएर वा रुसलाई उक्साउने खालको कुनै कारवाही गरेर तनाव बढाउन चाहँदैनन् ।

पश्चिमी सुरक्षा अधिकारीले यो हाल परमाणु संकट नभएको र भविष्यमा यस्तो स्थिति निम्तिन पनि नहुने बताएका छन् ।

गार्डन कोरेरा /बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप