सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

तथाकथित १२ बुँदे व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन : ओली

सभामुख र माधव नेपालको पद जाने भयो भनेर एमसीसी पास गरे
मङ्गलबार, १७ फागुन २०७८, ०८ : ००
मङ्गलबार, १७ फागुन २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा र माधव नेपालको पद जाने भयो भनेर सभामुख, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पास गर्न अघि बढेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले एमसीसी सम्झौता संसद्मा टेबल गर्नुपर्‍यो भने आत्महत्या गर्छु भन्ने जस्तो कुरा गर्ने सभामुखले आफ्नो पदसँग एमसीसी सम्झौता साटेको आरोप लगाए । माओवादी र एकीकृत समाजवादी कार्यकर्ता सडकमा भिडाउने आफू यता सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएर सो सम्झौता पास गरेको बताए । 

उनले भने–‘ एमसीसीमा राष्ट्रघात भएको हो कि हैन तपाईहरुले उहाँहरुलाई सोध्नुपर्ने कुरा हो । राष्ट्रघात भएको हैन भने किन हल्ला चलाउनु, किन कार्यकर्ता परिचालन गराउनुभयो, किन ढुङ्गामुडा गराउनुभयो, किन बाटो भत्काउनुभयो । प्रचण्ड माधव नेपालहरुले कार्यकर्ता उकासेर, आवेश उत्तेजनामा ल्याएर देशभक्तिको एउटा भावना उरालेर बाटो भत्काउन र ढुङ्गामुडा गर्न लगाउनुभयो । सत्ता जोगाउनका लागि जनतालाई दुख दिनुभयो । सभामुखको पद जाने भयो, माधव नेपालको पद जाने भयो । त्यसो भएपछि यो एमसीसी पारित गर्नुभयो । राष्ट्रघात सार्वभौम सत्ताको प्रश्न हो भने सभामुखको पद वा फलानाको पदसँग साटिन सक्छन् ? त्यो जोडिन वा साटिन सक्ने विषय नै हैन । तर उहाँहरूले त्यसैगरी व्याख्या गरेको सुन्नुभएको छ ।’

अध्यक्ष ओलीले कुनैपनि दातृ मित्रराष्ट्र कसैसँग पनि सहयोग सहकार्य, कुनै विषयमा ठोस रूपमा समयमै बिचार गर्नुपर्ने बताए । राष्ट्रिय आवश्यकता र प्राथमिकताका आयोजनामा बाह्य सहयोग र लगानी हामी स्वीकार्ने बताए । उनले सम्झौता गर्नुभन्दा अगाडि त्यसमा रहेका भाषा कस्तो रहेको त्यसलाई हेर्नुपर्ने बताउँदै एमसीसी सम्झौता अहिले सरकारमा रहेका गठबन्धन दलले नै गरेको बताए । उनले ओली सरकारलाई पास गर्न दिएर किन जस दिने, ओली सरकार ढालेपछि पास गर्ने भनेर गठबन्धन लागेको र सोही अनुसार पास गरिएको दाबी गरे ।  

उनले भने–‘प्रदीप ज्ञवाली अमेरिका पुगेर आइपीएसको अंग बनाइयो भन्ने हल्ला पनि चलाइयो । अहिले तथाकथित १२ बुँदा राखेर पास गरियो त्यो बुँदाको कुनै अर्थ छैन । राजनीति नगरी यसलाई विकास परियोजनाको रूपमा अगाडि बढाउनुपर्ने थियो । शाकाहारी आन्दोलनले पुगेन, मांसाहारी आन्दोलन गर्नुपर्‍यो, फेरि जंगल जानुपर्‍यो भने धम्की दिएर आफ्नो भनाई माथि पार्ने काम भयो । हामीले संसद्मा वातावरण बनाएर छलफल गर्न चाहेका थियौँ । हामीमाथि असंसदीय व्यवहार गरियो ।’ उनले सांसदहरूले सभामुखको बेल घेराउ गरेपछि संसद् बसेको नमानिने बताउँदै सभामुखले असंसदीय अभ्यास गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप