आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को सत्ता गठबन्धनमा खटपट

काँग्रेस सांसदले ‘गठबन्धन चाहिँदैन’ किन भने ?
मङ्गलबार, १७ फागुन २०७८, १३ : ०९
मङ्गलबार, १७ फागुन २०७८

सरकार गठन भएको साढे तीन महिनामै प्रदेश १ को सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसको संसदीय दलको आइतबार बसेको बैठकले सरकारको काम कारबाही प्रभावकारी नभएको निष्कर्ष निकालेको थियो । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै काँग्रेसकी सांसद ज्योति सुब्बाले त काँग्रेस झोले भएर गठबन्धनमा बस्न नसक्ने बताएपछि गठबन्धनभित्रको विवाद छताछुल्ल भएको हो ।

सत्ता गठबन्धन दलका धेरैजसो सांसदले नेपाली काँग्रेसको आन्तरिक गुटउपगुटको असर सत्ता गठबन्धनमा देखापरेको बताएका छन् । केहीले भने एमसीसी पारित गर्ने विषयमा केन्द्रमा भएको खटपटको असर तलसम्म परेको हुनसक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका सांसद धीरेन्द्र शर्माले काँग्रेस आफ्नो चरित्र अनुसार प्रस्तुत हुनु अनौठो नभएको बताए । ‘यो त काँग्रेसको चरित्र हो नि । काँग्रेस काँग्रेस जस्तै हुनुपरेन ?,’ उनले भने, ‘उनीहरूको आन्तरिक गुट र असन्तुष्टि पनि संसद्मा प्रस्तुत भएको हो ।’

तर, काँग्रेसकै कोटाबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्री बनेका शेखर चन्द्र थापाले भने सरकार गठबन्धन संस्कृति अनुसार नचलेको आरोप लगाए । सरकारमा सहभागी भएर काम गर्दा काँग्रेसले डोमिनेट भएको अनुभव गरेको हो ? भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म त्यस्तै देखिन्छ ।’

‘काँग्रेसका सांसदहरूले उठाएको कुरा स्वाभाविक छ । सत्ता गठबन्धनमध्ये काँग्रेस सबैभन्दा ठूलो दल हो,’ थापाले भने, ‘काँग्रेसलाई अझै जिम्मेवार बनाउने र सरकारलाई पनि जवाफदेही बनाउन खोज्नु गल्ती होइन ।’ 

उनले सरकारमा सहभागी भएका मुख्यमन्त्री तथा मन्त्रीहरू सबैलाई लक्षित गरेर सांसदहरूले कुरा उठाएको पनि बताए । उनले आफ्नो पार्टीभित्रको विवाद हो भनेर अर्थ्याउनु खोज्नु गल्ती हुने भन्दै उनले भने, ‘यो गुट–उपगुटको कुरा होइन, सरकार, गठबन्धन संस्कृति अनुसार अगाडि बढोस् भन्ने अपेक्षा हो ।’

नेपाली काँग्रेसका सांसद लोकप्रसाद संग्रौलाले पनि अहिलेकै अवस्थामा सरकार चले गठबन्धन आवश्यक नहुने बताए । ‘यही अवस्थामा यस्तै तरिकाले सरकार चल्ने हो भने गठबन्धन किन आवश्यक भयो ?,’ उनले भने, ‘काम कारबाही प्रभावकारी ढंगले गर्नुपर्‍यो, मन्त्रालयको सङ्ख्या र मन्त्री बढाएर मात्रै हुँदैन, जनताको अपेक्षालाई सम्बोधन गर्न पनि सक्नुपर्छ ।’

यता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता तथा सरकारका यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले भने गठबन्धन दलहरुबीच छलफलको माध्यमबाट सबै समस्याको समाधान हुने बताए । ‘सरकारको विषयमा काँग्रेस सांसदहरूलाई चित्त बुझेको छैन भने हामी बसेर समाधान गर्न सक्छौँ, अहिले नै गठबन्धनमा धेरै ठूलो समस्या पैदा भएको होइन ।’

गठबन्धन दलहरूले सरकार सञ्चालनका लागि बनाएको सर्वदलीय संयन्त्रका संयोजकसमेत रहेका नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइराला गठबन्धनको काम छैन भन्ने सांसदहरूको कुरा व्यक्तिगत भएको बताउँछन् । ‘उहाँहरूले बोलेको कुरा व्यक्तिगत कुरा हो, दलको कुरा होइन,’ कोइरालाले भने, ‘के कारणले त्यो कुरा आयो, किन बोल्नुभयो, यस विषयमा हामी १९ गते पछाडि बस्ने संयन्त्रको बैठकमा छलफल गर्छौँ ।’ गठबन्धन टुट्ने हिसाबले काँग्रेसले अहिले नसोचेको उनले बताए । 

एकीकृत समाजवादीका एक नेताले काँग्रेसको गतिविधि सन्तोषजनक नभएको बताए । ‘गठबन्धन भित्र खटपट भएको विषयमा संसदीय दल नेताहरूले सम्बन्धित ठाउँमा राख्ने हो,’ उनले भने, ‘अर्को ठाउँ भनेको क्याबिनेटमा राख्ने हो । आफ्नो व्यक्तिगत कुरा हो भने फरक कुरा हो ।’ मन्त्री बनाउनु पर्छ भन्ने माननीयहरूले मन्त्री बन्न नपाएको झोँकमा सरकारको आलोचना सुरु गरेको उनको भनाइ थियो । 

काँग्रेस संसदीय दलको बैठकको निर्णय के थियो ?

काँग्रेसको संसदीय दलको बैठकमा तीन महिनाको सरकारको कामको समीक्षा गरेको थियो । उक्त समीक्षाको क्रममा कामको प्रभावकारिता चित्तबुझ्दो र परिणाममुखी नदेखिएको निष्कर्ष निकालेको थियो । 

दलको बैठकले गठबन्धन सरकार मूल मर्ममा अगाडि बढ्नै नसकेको निष्कर्ष निकालेको सो दलका सचेतक सूयर्माराज राईले बताए । ‘जुन मर्मका साथ सरकार गठन भएको थियो त्यसअनुसार अघि बढ्न नसक्दा गठबन्धनको संस्कृति र मूलआत्माबाट नै नै विमुख भएको देखिएको ठहर गरेको छ,’ काँग्रेस सचेतक राईले भने ।

बैठकले दलहरूको बीचमा सहमति हुनुपर्ने, मन्त्रीहरुको बीचमा समन्वय हुनुपर्ने, मन्त्री तथा मुख्यमन्त्रीबीच सरसल्लाह हुनुपर्ने, दल दलहरुबीच अनि नेता नेताहरुबीच पनि समन्वयको अभाव देखिएको उनले बताए । नेपाली काँग्रेसको संसदीय दलको नेता राजीव कोइरालालाई उच्चस्तरीय संयन्त्रको संयोजक तोकिएको भएपनि जुन तहमा समन्वय र सरसल्लाह गर्नुपर्ने त्यो नदेखिएको काँग्रेस संसदीय दलको निष्कर्ष छ । सचेतक राईले सरकारले तीन महिनाको अवधिमा खासै उपलब्धिपूर्ण काम गर्न नसकेको बताए ।

प्रदेश १ मा गत कात्तिक १६ गते नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप