शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

उमङ्ग लघुकथा सङ्ग्रह विमोचन

मङ्गलबार, १७ फागुन २०७८, ११ : ३९
मङ्गलबार, १७ फागुन २०७८

सत्या अधिकारीद्वारा लिखित उमङ्ग लघुकथा सङ्ग्रह विमोचन गरिएको छ । अक्षर धाम नेपालले प्रकाशन गरेको यस कृतिको विमोचन लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, पाठशालाका व्यवस्थापक लता केसी, डा. शेखरकुमार श्रेष्ठ, लघुकथाकार श्रीराम राई, बिमुन्स पौड्याल, विश्व स्वास्थ्य सङ्गठन नेपालका राष्ट्रिय कार्यक्रम अधिकृत दामोदर अधिकारीले संयुक्त रूपमा गरेका थिए ।

प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको सुरुआत गरेका थिए भने कृतिकार सत्या अधिकारीले सम्पूर्ण अतिथिको स्वागत गरेकी थिइन् । कार्यक्रममा वीरेन्द्र मालाकारको शुभकामना गीत र नोबेल एकेडेमी बानेश्वरका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कृतिका बारेमा बोल्दै लघुकथा समाजका अध्यक्ष श्रेष्ठले सत्या अधिकारीको लघुकथामा रहेको खुला समापनले पाठकलाई लामो समय प्रभाव पार्ने विचार व्यक्त गरे । उनले तापक्रम शीर्षकको लघुकथा वाचन गर्दै यस लघुकथाले विदेशमा काम गर्न जाने पतिको पीडा र घरमा सुख खोज्ने पत्नीको मानसिक सोचलाई संयोजन गरी देखाउन सफल बनेको बताए ।

विमोचन कार्यक्रममा लघुकथाकार एवं समीक्षक ध्रुव मधिकर्मीले विमोचित कृतिका कथाहरूको समीक्षा गरेका थिए । समीक्षाका क्रममा उनले अधिकारीको यो पहिलो कृति भए पनि यसमा अभ्यास चरणदेखि लिएर सशक्त भाव बोकेको लघुकथा रहेको बताए ।

कार्यक्रममा लघुकथा सौन्दर्यका व्यवस्थापक एवं लघुकथाकार श्रीराम राईले लघुकथाकार उमङ्गको सफलताका लागि शुभकामना दिएका थिए भने कृतिकारकी छोरी सुषमा अधिकारीले राहत लघुकथा वाचन गरेकी थिइन् ।

लघुकथा पाठशालाको आयोजनामा गरिएको यस विमोचन कार्यक्रममा लघुकथा गानलाई पृष्ठभूमिमा बजाइएको थियो । यस कार्यक्रम पाठशालाका व्यवस्थापक डा. शेखरकुमार श्रेष्ठको सभाध्यक्षमा बिमुन्स पौड्यालले सञ्चालन गरेकी थिइन् । विमोचन कार्यक्रममा लघुकथा समाज बागमती प्रदेशका अध्यक्ष डा. विदुर चालिसे,  सचिव रामकुमार पण्डित क्षत्री, नमस्ते आधुनिक लघुकथा मञ्चका व्यवस्थापक शेखर अर्याल, साहित्यकार मधुसूदनप्रसाद घिमिरे, चित्रकार नीरबहादुर याक्खा, लघुकथाकार रमेश सुवेदी, बन्दना घिमिरे, स्वास्थ्य मन्त्रालयका अवकाश प्राप्त प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य सङ्गठनका कार्यक्रम अधिकृत डा. सुद्धन पन्थीलगायत साठी जना लघुकथा अनुरागीको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप