शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

विकास बोर्डका सदस्यसचिव परशुराम बस्नेतको ‘गुपचुप स्पष्टीकरण’

सोमबार, १६ फागुन २०७८, १७ : ४८
सोमबार, १६ फागुन २०७८

प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (परशुराम) ले मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् । मुख्यमन्त्री भीम आचार्यको सरकारका पालामा सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले बस्नेतलाई गत असोज २४ गते सदस्य सचिवमा नियुक्त गरेका थिए । आचार्य नेतृत्वको सरकार हटाएर बनेको राजेन्द्र राई नेतृत्वको सरकारका सामाजिक विकासमन्त्री राजन राई आएलगत्तै बस्नेतलाई स्पष्टीकरण माग गरिएको थियो । 

स्पष्टीकरणमा योग्यता नपुगेका व्यक्तिलाई नियुक्ति गरेको, छवि स्वच्छ नभएको र काम पनि चित्तबुझ्दो नभएको उल्लेख थियो । ‘हामीले सोधेको स्पष्टीकरणको जवाफ सदस्य सचिवबाट आएको छ, चित्तबुझ्दो छैन,’ सामाजिक विकासमन्त्री राजन राईले भने । स्रोतका अनुसार बस्नेतले दिएपनि बोर्डका उपाध्यक्ष बाबा मेन्याङ्बोले स्पष्टीकरण दिएका छैनन् । प्रदेशमा सदस्य सचिव बन्नका लागि कम्तीमा १० वर्ष खेलकुद क्षेत्रमा योगदान दिएको र असल चालचलन भएको हुनुपर्ने उल्लेख छ । प्रदेश खेलकुद ऐन २०७६ अनुसार सदस्य सचिवको कार्यकाल चार वर्षको हुन्छ ।

यसैबीच बस्नेतले आफूले स्पष्टीकरण दिएको बताए । ‘सरकारले सोधेको चित्त बुझ्दो जवाफ दिएको छु,’ उनले भने, ‘योग्यता नपुगेको विषय होस् वा काम चित्त बुझ्दो नभएको विषयमा विवरण नै दिएको छु ।’ बस्नेतले वर्तमान सरकारले आफूलाई बजेटमा उल्लेखित कार्यक्रम गर्न रोक लगाएको, सामान्य खर्चमा समेत नाकाबन्दी गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘यो सरकारले खेल क्षेत्रलाई ध्वस्त बनाउन लागेको छ,’ उनले भने, ‘मलाई स्पष्टीकरण सोधिएको विषयमा जवाफ दिएको छु, चित्त बुझ्दो भएन भन्यो भने यो राजनीतिक प्रतिशोध हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप