आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘एमसीसी अन्तर्गतका परियोजना चाँडै कार्यान्वयन होस्‌’ : उद्योग वाणिज्य महासंघ

सोमबार, १६ फागुन २०७८, १६ : ४७
सोमबार, १६ फागुन २०७८

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले एमसीसीको औपचारिक रूपमै स्वागत गरेको छ । महासंघले सोमबार अर्थात् संघीय संसदमार्फत एमसीसी पास भएको भोलिपल्टै एक प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको स्वागत गरेको हो । ‘प्रतिनिधिसभाको मिति २०७८ फागुन १५ गते सम्पन्न बैठकबाट नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता अनुमोदन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ स्वागत गर्दछ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रतिनिधिसभाबाट केही बुँदाहरूमा रहेको अस्पष्टता समेतलाई प्रष्ट पार्दै त्यसको व्याख्यात्मक घोषणाका साथ सम्झौता अनुमोदन भएकोमा अब यसबारे रहेका सबै भ्रमहरू चिरिने विश्वास समेत महासंघले व्यक्त गरेको छ । नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौताअनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम संघीय संसदबाट सम्झौता अनुमोदन पश्चात शुरू हुनेछ । सम्झौता अनुमोदन पश्चात अब यो परियोजना पूर्णरुपमा कार्यान्वयनको चरणमा जाने विश्वास रहेको महास‌ंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने विश्वाससमेत महासंघले विश्वास व्यक्त गरेको छ । ‘कोभिड-१९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढन सकेको छैन । सम्झौता कार्यान्वयन हुँदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत निर्यात एवम्‌ प्रविधि हस्तान्तरणको समेत ढोका खुल्नेछ । एमसीसी अन्तर्गतका आयोजना शुरू भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमूना बन्न सक्नेछ । अब यसबाट प्रतिफल लिन सम्झौता कार्यान्वयनका लागि गठित मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) ले तदारुकताका साथ काम गर्नुपर्छ । यसका लागि सरोकारवाला सबैले खबरदारी गर्नु पनि आवश्यक छ,’ महासंघले लेखेको छ ।

तीन दर्जन बढी मुलुकमा एमसीसीअन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त रहेको बताएको महासंघले पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप कुनै पनि वहानामा प्रभावित हुनुहुँदैन भन्नेमा समेत महासंघ स्पष्ट रहेको जनाएको छ । 

सम्झौता अनुमोदनबाट समग्रमा नेपालमा लगानीको वातावरण रहेको सन्देश विश्व समुदायसम्म पुग्ने र यसबाट भविष्यमा अन्य वैदेशिक लगानी एवं सहायता समेत भित्रिने विश्वास महासंघले व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप