बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

१० बुँदे घोषणापत्र जारी गर्दै थारू साहित्य सम्मेलन सम्पन्न

सोमबार, १६ फागुन २०७८, १४ : १९
सोमबार, १६ फागुन २०७८

१० बुँदे घोषणापत्र जारी गर्दै छैठौँ राष्ट्रिय थारू साहित्य सम्मेलन सम्पन्न भएको छ । कैलालीको कृष्णपुर नगरपालिका–५ स्थित सिंहपुरमा फागुन १२ देखि १४ गतेसम्म भएको सम्मेलनले थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारू साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भई सहकार्य गर्न प्रतिबद्धता जनाइएको छ ।

साथै थारू मातृभाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकाका विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोकसाहित्य तथा लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने, आख्यान विधाका स्रष्टालाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ ।

थारू लेखक सङ्घ नेपाल, थारू कल्याणकारिणी सभा कञ्चनपुरको आयोजना, सिंहपुर युवा क्लब, गोचाली परिवार कञ्चनपुरको सहआयोजना, कृष्णपुर नगरपालिका तथा सोही पालिकाको ५ र ६ नं. वडा एवं एआईपीपीको सहकार्यमा भएको तीन दिने कार्यक्रममा करिब २ सयभन्दा बढी थारू साहित्यकारहरूको जमघट थियो । 

थारू लेखक सङ्घ नेपालद्वारा स्थापित थारू भाषा र साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने स्रष्टालाई सम्मान र पुरस्कारका लागि अक्षयकोष रकम बढाउने सम्मेलनले निर्णय गरेको छ । थारू भाषाको विकासका लागि आफ्नो भाषा बोल्ने, लेख्ने र छाप्ने, छपाउने काममा आएको तीव्रतालाई निरन्तरता दिने र सिर्जनशील लेखनलाई प्रोत्साहन गरिने घोषणापत्रमा उल्लेख छ ।

थरुहट क्षेत्रका प्रत्येक पालिकालाई थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकासका लागि बजेट विनियोजन गर्न लगाउनका लागि दबाब दिने, साहित्य सम्मेलनको स्मारिका प्रकाशित गर्ने निर्णय गरिएको छ । साथै आगामी सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँके जिल्लामा २०७९ फागुनमा गरिने जानकारी थारू लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारीले दिए ।

विभिन्न विषयमा प्यानल छलफल

कार्यक्रममा थारू भाषा, साहित्य, लोकसंस्कृति राजनीतिलगायत विविध विषयमा प्यानल छलफल भएको थियो । कार्यक्रममा आकर्षणका केन्द्र साहित्यकारद्वय शिवानीसिंह थारू र रामलाल जोशी थिए । जसले आख्यान यात्रा विषयमा आ–आफ्ना अनुभव साटेका थिए । थारूले आफ्नो पहिलो उपन्यास काठमाडौँमा एक दिन पूर्वी मधेसको विषयमा रहेकोमा आउने उपन्यास नेपालगञ्ज क्षेत्रलाई केन्द्रित गरी पश्चिम मधेसको विषयमा रहने जानकारी दिइन् । उनले आफू थारू जाति भए पनि थारू भाषा नआउने स्वीकार्दै थारू भाषा सिकेर मातृभाषामा पनि कलम चलाउन सम्मेलनले उत्प्रेरित गरेको बताइन् । उता जोशीले पश्चिम क्षेत्रको विषयमा धेरै आख्यान लेखिसकेकाले अब आाफ्नो ध्यान पूर्वी क्षेत्रको विषयमा रहने जानकारी दिए । सो सेसनको सहजीकरण शेखर दहितले गरेका थिए ।

थारू साहित्यिक तथा अन्य पत्रिकारिता विषयमा राना थारून्के डटकमका सम्पादक नन्दलाल राना, लावा डग्गर त्रैमासिकका प्रधानसम्पादक छविलाल कोपिलासँग हरचाली त्रैमासिकका प्रधानसम्पादक सागर कुस्मीले बहस चलाएका थिए । स्थानीय पालिकाहरूबाट थारू मिडियाहरूले कुनै सपोर्ट नपाएको प्यानलको निचोड रहेको थियो । त्यस्तै थारू लोकसाहित्य र लोक दर्शन विषयमा संस्कृतिविदद्वय सुशील चौधरी र जोगराज चौधरीसँग जंग्रार साहित्यिक बखेरीका संयोजक सोम डेमनडौराले छलफल चलाएका थिए । थारू लोकसंस्कृति निकै समृद्ध रहेको तर पर्याप्त दस्तावेजीकरण तथा विश्लेषण हुन नसकेका सम्बन्धमा छलफल केन्द्रित रह्यो ।

यसैगरी कञ्चनपुरको राजनीतिमा थारूको अवस्था विषयमा पूर्वसंविधान सभा सदस्य देवीलाल चौधरी तथा सञ्चारकर्मी बलबहादुर डंगौरासँग थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले छलफल चलाए । सबै चिजको मियो राजनीति भएकाले भाषा, साहित्यको उन्नयन लगायत जुनसुकै क्षेत्रमा प्रगति गर्न थारूहरूले मूलधारको राजनीतिमा समानुपातिक समावेशी ढङ्गले समावेश हुनुपर्ने आवाज उठेको थियो । डंगौराले राजनीतिमा गुलामी गर्न नसकेको, समाज रूपान्तरणमा लाग्ने महोल नरहेकाले राजनीति छाडेर पत्रकारितामा आएको बताए ।

सम्मेलनको उद्घाटनको अवसरमा ४ वटा कृति विमोचन भएको थियो । जसमा शेखर दहितको थारू जोधा (जीवनी सङ्ग्रह), वीरबहादुर राजवंशीको जोंजा लेख सङ्ग्रह, साफी राजवंशीको गोरपासु संस्मरण सङ्ग्रह, मानबहादुर चौधरी पन्नाको सम्पादनमा प्रकाशित लखागिन जर्नल रहेको थियो । यी सबै स्रष्टाहरूसँग पुस्तकको बारेमा छविलाल कोपिलाले प्यानल छलफल चलाएका थिए । अघिल्ला वर्षहरूमा दर्जनभन्दा बढी कृति सम्मेलनमा विमोचन हुने गरे पनि कोरोनाका कारण गत वर्ष र यस वर्ष विमोचन हुने पुस्तकको सङ्ख्या कम भएको थियो ।

थरुहटका विभिन्न पालिकामा थारूहरूको परम्परागत सङ्गठन बरघर प्रणाली सक्रिय छ । कतिपय पालिकामा बरघर ऐन नै बनेर लागू समेत हुन थालेको छ । यसै क्रममा विकासमा जनप्रतिनिधि र बरघर भलमन्साको भूमिका विषयमा कृष्णपुर नगरपालिकाका उपमेयर रमिता राना बडायक, सोही नगरपालिकाका ५ नं. वडा अध्यक्ष आशाराम चौधरी, थारू कल्याणकारिणी सभा कञ्चनपुरका सल्लाहकार रोशन चौधरीसँग सोम डेमनडौराले छलफल चलाएका थिए । विकास निर्माणको काममा थारू बरघरहरू निर्वाचित जनप्रतिनिधिहरूभन्दा पनि सक्रिय रहने गरेको तर कुनै सुविधा नपाएको छलफलको निष्कर्ष थियो । आशाराम चौधरीले आफ्नो पालिकाले बरघर अक्षयकोष बनाउन थालेको जानकारी दिएका थिए ।

थारू महिला किन पछि ? विषयमा अधिवक्ता गीता चौधरी, साहित्यकार सुनिता चौधरी सानु, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गीता चौधरीसँग साफी चौधरीले छलफल चलाएकी थिइन् । थारू महिलाहरू अघि बढ्दै गरेको अवस्था रहे पनि उनीहरूलाई अधिकारका लागि घरबाटै सपोर्ट हुने वातावरण बनाइदिनुपर्ने छलफलको निचोड रहेको थियो ।

थारू गीत सङ्गीतको अवस्थाबारे गायकद्वय दोषहरण चौधरी, सन्तराम चौधरी र वसन्ती चौधरीसँग अर्का गायक राजु चौधरी राजले बहस चलाएका थिए । सो क्रममा थारू गायकहरूले थारू गीतको मौलिकता जोगाउन प्रयास गरे पनि पर्याप्त नरहेको निष्कर्ष थियो । 

विभिन्न क्षेत्रको नेतृत्वमा थारूहरूले अगुवाइ गरेको तर तिनीहरूको इतिहास नलेखिएको तीतो यथार्थ छ । यसैक्रममा खै थारू यौद्धाहरूको खोजी ? विषयमा थारू जोधा (योद्धा) पुस्तकका लेखक शेखर दहित, थारू लेखक सङ्घ नेपाल कैलाली शाखाका अध्यक्ष सीताराम चौधरी, लेखक राम सागर चौधरीसँग डा. कृष्णराज सर्वहारीले छलफल चलाएका थिए । दहितको पुस्तक थारू जोधामा दाङ, बाँके तथा बर्दियाका केही थारू योद्धाहरूको जीवनी समेटिएको छ । यस्तो जीवनी प्रत्येक थरुहट क्षेत्रका जिल्लामा अमूल्य योगदान पु¥याउने थारू योद्धाहरूको बारेमा पुस्तक आउनु पर्ने छलफलको निचोड थियो ।

सामाजिक सञ्जालहरूमा स्रष्टाहरूले मातृभाषा थारूमा पनि आफ्ना रचना पस्किँदै आएका छन् । यही क्रममा सामाजिक सञ्जाल र थारू साहित्य विषयमा साहित्यकार मानबहादुर पन्ना र अङ्कर अञ्जान सहयात्रीसँग प्रकृति पूजा चौधरीले बहस चलाएकी थिइन् । स्रष्टाहरूले जे विषयमा कलम चलाए पनि बिनासम्पादन पोस्ट गर्न हतार गर्न नहुने छलफलको निचोड थियो ।

कार्यक्रमको उद्घाटन कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले गरेका थिए । उनले आफ्नो क्षेत्रको डोटेली, रानाथारू, डंगौरा थारू लगायत सबै भाषाको समान विकासमा लागिपर्ने जानकारी दिएका थिए । सम्मेलनमा थारू लेखक सङ्घ नेपालबाट स्थापित थारू भाषासाहित्य पुरस्कार गायक दोषहरण चौधरीलाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशि १५,५५५।– रहेको छ । साथै सङ्घका संस्थापक तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप