शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस सिन्धुली : सभापतिमा संस्थापन इतर पक्षका उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुँदै

सोमबार, १६ फागुन २०७८, १० : १६
सोमबार, १६ फागुन २०७८

नेपाली काँग्रेस सिन्धुली सभापतिमा संस्थापन पक्षका उम्मेदवार पराजित भएका छन् । शनिबारबाट सुरु भएको अधिवेशन अन्तर्गत सभापति पदका लागि संस्थापन र इतर पक्षका गरी ५ जनाले उम्मेदवारी दिएका थिए । उनीहरू बीच आइतबार मतदान भएकोमा संस्थापन इतर पक्षका २ जना उम्मेदवारहरूले बढी मत पाए  ।

नेपाली काँग्रेस सिन्धुलीको सभापतिको लागि संस्थापन इतर पक्षबाट उज्ज्वलप्रसाद बराल र उपेन्द्र कुमार पोखरेलले उम्मेदवारी दिएका थिए भने संस्थापन पक्षबाट प्रेमचन्द्र दाहालले उम्मेदवारी दिएका थिए । त्यस्तै संस्थापन इतर पक्ष निकट रहेका तर हाल कुनै समूह नरहेको बताउँदै आएका विश्वनाथ कोइरालाले पनि सभापति पदमा उम्मेदवारी दिएका थिए भने स्वतन्त्र रूपमा काँग्रेसको राजनीतिमा लागेका खड्गबहादुर वाइवा पनि सभापति बन्न उम्मेदवारी दिएका थिए ।

बराल वर्तमान जिल्ला सभापति हुन् भने वाइवा उपसभापति हुन् । संस्थापन इतर पक्षबाट बराल आधिकारिक उम्मेदवार थिए । आइतबार भएको मतदानमा संस्थापन इतर पक्षका बराल ४२७ तर र पोखरेल ४८३ मत ल्याउँदै संस्थापन पक्षका उम्मेदवारलाई पछि पारेका थिए । निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार दाहालले ३६१ मत मात्र प्राप्त गरे भने वाइवाले १०१ र कोइरालाले १६ मत पाए । निर्वाचनमा ५१ मत भने बदर भएको निर्वाचन अधिकृत लेखतबहादुर खड्काले जानकारी दिए ।

काँग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुन कुल मतदाता सङ्ख्याको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । काँग्रेस सिन्धुलीको सभापति पदमा उम्मेदवारी दिएका ५ जना मध्ये पहिलो भएका बराल र पोखरेल दुवैले ५१ प्रतिशत मत हासिल गर्न नसक्दा पुनः दोस्रो चरणमा निर्वाचनको कार्यक्रम सञ्चालन हुने भएको छ । दोस्रो चरणको मतदानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको निर्वाचन अधिकृत खड्काले बताए । मतदान सोमबार बिहान ११ बजेबाट सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप