सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

एमाले कर्णाली प्रदेश : आगामी निर्वाचनमा पहिलो शक्ति बन्ला त ?

आइतबार, १५ फागुन २०७८, २२ : ४१
आइतबार, १५ फागुन २०७८

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आगामी निर्वाचनमा कर्णालीमा एमालेलाई पहिलो शक्ति केन्द्रको रुपमा स्थापित गर्नेगरी तयारी थाल्न निर्देशित गरिएको छ । शनिबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पार्टीलाई आगामी निर्वाचनमा कसरी अग्रसर गराउने भन्ने बारेमा वृहत छलफल गरेको थियो । उक्त भेलामा नेताहरुले एमाले विभाजनको असर कर्णालीमा पनि परेकाले अब कसरी जनाधारलाई बलियो पार्न सकिन्छ ? भन्ने विषयमा पनि छलफल गरिएको एमाले प्रदेश कमिटीका एक नेताले रातोपाटीलाई जानकारी दिए । 

उनले भने, ‘कर्णाली नेकपा हुँदै एमाले विभाजनकै केन्द्र भएकाले जनाधार विभाजित बनेको छ । जसले गर्दा चुनावमा असर पर्छ कि भन्ने आंकलन गरिएको छ । त्यसैको तयारी स्वरुप तयारी तिव्र पार्ने कुरा भएको छ ।’  साथै कर्णालीमा एमालेलाई पहिलो पार्टी बनाउनका संगठनात्मक काम र अभियानहरूलाई तिव्र पार्न नेताहरु लाग्नुपर्ने नेताहरुको भनाई थियो । 

एमाले सुर्खेतका प्रचार विभागका संयोजक समेत रहेका नेता गंगाराम तिमिल्सिनाकाअनुसार दुईदिने प्रशिक्षण भेलामा २ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । शनिबार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, नेता प्रदिप ज्ञवाली लगायतको सहभागिता थियो भने आइतबार प्रदेश इञ्चार्ज यामलाल कँडेल, स्थायी कमिटी सदस्य तथा सह–इन्चार्ज गोरखबहादुर बोगटीको प्रशिक्षण तथा निर्देशन र कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले प्रतिबद्धताहरू प्रस्तुत  गरेका थिए । 

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले स्थानीय तहको निर्वाचन एक आन्दोलन भएको टिप्पणी गरेका छन् । वीरेन्द्रनगरमा आज आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।   शनिबार पार्टी उपाध्यक्ष समेत रहेका रामबहादुर थापाले नेता, कार्यकर्तालाई कुनै पनि आन्दोलनबाट विजयी प्राप्त गर्नका लागि तयारी नगरी विजयी प्राप्त गर्न नसकिने तर्क व्यक्त गरेका थिए । 

थापाले विजयी प्राप्त गर्नका लागि शक्ति सञ्चय गर्न आवश्यक रहेको पनि बताएका थिए । एमालेले कर्णालीमा स्पष्ट कार्ययोजना, पार्टी निर्माणको उच्च संकल्प र दृढ आत्मविश्वास र उत्साह बोकेर आगामी निर्वाचनको तयारी थाल्ने बताएको छ। 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप