बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भीम रावललाई गगन थापाको चुनौति : सडकमा बहस गर्ने कि संसद्‍मा ?

आइतबार, १५ फागुन २०७८, २१ : १९
आइतबार, १५ फागुन २०७८

नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले नेकपा एमालेका नेता भीम रावललाई एमसीसीबारे आफूसँग बहस गर्न संसदबाटै चुनौती दिएका छन् ।

एमसीसी सम्झौताको व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै थापाले एमसीसीको विरोधमा रहेका रावललाई चुनौती दिएका हुन् । रावलले छलफलमा भाग लिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई आधा घण्टा बहस गर्न चुनौती दिएका थिए । जवाफमा थापाले रावललाई नै चुनौती दिँदै भने, ‘माननीयजीले चुनौती दिनुभएको छ, तपाईको चुनौती म स्वीकार गर्छु । सडकमा बहस गर्ने कि संसदमा ? अछाममा गर्ने कि काठमाडौंमा ? स्वीकार्य छ ।’

उनले एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने सबै गद्दार भनेर आरोप लगाइएकोमा पनि आपत्ति जनाए । उनले भने, ‘२०७३ असार ३१ गते भीम रावल उपप्रधानमन्त्री भएको क्याबिनेटले प्रस्ताव पारित गर्छ एमसीसीबाट प्रस्तावित कम्प्याक्ट कार्यक्रम तयार गर्न एक अर्ब १३ करोड लिने । त्यो दिन माननीयजीको पनि पेट दुखेको थियो ?’

२०६६ माघ १५ देखि २०७८ फागुन १५ सम्म १२ वर्ष एक महिना नेपालको मन्त्रिपरिषदमा बसेका सबै सदस्यले यो सम्झौता राष्ट्रघाती भन्नुभन्दा पहिला एक पटक ख्याल गर्नुपर्ने थापाले प्रस्ट पारे ।

२०१९ पछि एक एक गोप्य सम्झौता भएको छ भनेर कतिपयले भनेको भन्दै उनले प्रश्न गरे, ‘एउटा सम्झौता गर्ने वनमन्त्री शक्ति बस्नेत, एउटा सम्झौता गर्ने ऊर्जामन्त्री वर्षमान पुन, एक जना सम्झौता गर्ने मन्त्री वसन्त नेम्वाङ यहाँ नारा लगाउँदै हुनुहुन्छ । कोसँग भएको हो गोप्य सम्झौता ? हामी कसलाई के भ्रम दिँदैछौं ?’

उनले एमसीसीको पक्षमा हस्ताक्षर गर्ने कसैले गलत केही नगरेको दाबी गरे । उनले भने, ‘हामी सबैले ग¥यौं, गल्ती स्वीकारौँ होइन कि हामी सबैले ग¥यौं, जिम्मेवारी लिऔं भन्न चाहन्छु ।’

व्याख्यात्मक घोषणामार्फत एमसीसी सम्झौताभित्रका कुराहरुको थप व्याख्या गरिएको उनको भनाइ थियो । यो सम्झौतामा जे लेखिएको छ र यसको व्याख्यामा जे भनिएको छ, त्यसबाहेक एउटा कुरामा पनि नेपालको दायित्व सिर्जना हुँदैन भन्ने प्रस्ट पारिएको उनले बताए ।

उनले भने, ‘त्यस्तो दायित्व सिर्जना भयो भने तत् क्षण नेपालले सन्धि खारेज गर्छ । भोलि यो सम्झौता गरेबापत अमेरिकाले कुनै पनि आफ्नो सैन्य स्वार्थमा नेपाल आउनुपर्छ भन्यो भने तत् क्षण नसोचिकन यो सन्धि खारेज गर्ने आत्मविश्वास र हैसियत हामीले राख्नुपर्छ ।’

उनले २०७४ जेठ १९ गते प्रचण्डको क्याबिनेटको आफू मन्त्री रहेको भन्दै आफू उक्त जिम्मेवारीमा भएकाले यसलाई स्वीकार गर्ने पनि बताए । उनले भने, ‘यसलाई सच्याउन सकिन्छ, संकल्पमार्फत सर्वस्वीकृत बनाउन सकिन्छ, लेटर अफ एक्सचेन्जमार्फत थप स्पष्ट बनाउन सकिन्छ, परिमार्जन के गर्न सकिन्छ भनेर गएको दुई वर्षदेखि काम गर्दै आएको छु र आज व्याख्यात्मक घोषणा हुँदै गर्दा खुसी छु ।’

उनले एमसीसी सम्झौतालाई राष्ट्रघाती भनिएको भन्दै यो सम्झौताका कारण स्वाधिनता तलमाथि भएमा नेपालले जे व्यहोर्छ, आफूले यसमा हस्ताक्षर गर्ने सांसद भएर सरी भनेरमात्र छुट नपाउने उनले बताए । उनले भने, ‘म काठमाडौंको सांसद हुँ, यदि त्यस्तो भयो भने थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चारपाटा मुडियोस्, सम्पत्ति विवरण बुझाएको छु, सम्पत्ति खोसियोस् ।’

उनले एमसीसीको विरोधमा रहेका सांसदहरुप्रति लक्षित गर्दै भने, ‘माननीयजीहरु तयार हो ? सेना आउँछ, सम्पत्ति लुटिन्छ भनेर जनतालाई भनिएको कुरा यही पाँच वर्षभित्र भएन भने त्यो कुरा गर्न तयार हो ?

नक्कली राष्ट्रवाद र देशभक्ति फरक हुने उनको भनाइ थियो । नक्कली राष्ट्रवादीले आफ्नो नारामा मान्छेलाई मर्नका लागि उचाल्ने मार्न तयार हुने तर आफू देशभक्त रहेकाले मर्न तयार हुने उनले प्रस्ट पारे । उनले भने, ‘नक्कली राष्ट्रवाद र देशभक्तिको फरक नेपाली जनताले थाहा पाउँछन् । थाहा पाउनुपर्छ । संसदमा पनि थाहा पाउनुपर्छ, सडकमा पनि थाहा पाउनुपर्छ ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप