बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

एमसीसीबारे श्वेतपत्र जारी गर्न हृदयेश त्रिपाठीको माग

आइतबार, १५ फागुन २०७८, १८ : ०७
आइतबार, १५ फागुन २०७८

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले एमसीसीका बारेमा श्वेतपत्र जारी गर्न माग गरेका छन् । प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले एमसीसीका सन्दर्भमा विभिन्न दल र नेताहरुले एक अर्कामाथि आरोप लगाउने काम भएको भन्दै यो कहिलेबाट सुरु भयो र कसको पालामा के के भयो भन्नेबारे श्वेतपत्र जारी गर्नुपर्ने बताए ।

उनले एमसीसीबारे छलफल गर्न संसदमा भएको ‘वेल घेराउ’बाट नभइ सत्तारुढ गठबन्धनबाटै समस्या रहेको बताए । सत्ता गठबन्धनका केहीले एमसीसीबारे समर्थन र केहीले विरोध गर्दै आएको भन्दै उनले यस्ता परिवर्तित स्वरुपलाई पनि श्वेतपत्रले उदाङ्गो बनाउने बताए ।

उनले एमसीसी एउटा विकास परियोजना रहेको र यो अनुदान सहयोग हो भन्दै नेपालले यस प्रकारका पचासौं सहयोग लिएको बताए ।

‘म पनि चाहन्छु, नेपाल समृद्ध होस् । हामी एक अर्ब अमेरिकालाई दिउँ । दुई अर्ब भारतलाई दिउँ, तीन अर्ब चाइनालाई गरिखाऊ भनेर दिउँ,’ त्रिपाठीले भने, ‘तर यो निबन्धको कुरा हो ।’

उनले यो सहयोग कसैका विरुद्ध नभएको पनि प्रस्ट पारे । चीनतर्फ लक्षित गर्दै उनले भने, ‘उसका विरुद्ध गतिविधि हुन दिँदैनौं भनेर पटक पटक प्रतिवद्धता जनाइसकेका छौं । कतिपटक तमसुक गर्नुपर्ने हो ?’

सहयोग दिनेले नै अहिले ‘साम्राज्यवाद’को नारा खेपिरहेको त्रिपाठीको भनाइ थियो । उनले संसदबाट एमसीसीबारे व्याख्यात्मक टिप्पणी गर्नेबारे भएको सहमतिप्रति पनि असन्तुष्टि जनाए । उनले भने, ‘सरकारमा बसेर कार्यकर्तालाई उतार्ने, व्याख्यात्मक टिप्पणी भनेको तपाईहरुले गरेको अपव्याख्याकै कारणले गर्नुपर्ने भएको हो ।’

सत्ता गठबन्धनमा रहेका यस्ता नेताबाट बच्न पनि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराए । उनले  सहयोग लिनुपर्ने र समयमै काम सक्नुपर्नेमा जोडसमेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप