शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हिमचितुवाद्वारा बक्सिङमा नयाँ रेकर्ड : लगातार तीन जित

आइतबार, १५ फागुन २०७८, १७ : ३०
आइतबार, १५ फागुन २०७८

युवा पुस्ताका चर्चित बक्सर खेलाडी अविरल घिमिरेले ऐतिहासिक सफलता हासिल गरेका छन् । आज अपराह्न जापानको टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल  किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउन्डमा नै पराजित गरी उहाँले बक्सिङ खेलमा नयाँ रेकर्ड समेत कायम गरेका छन् ।

सो तौल समूहको प्रतिष्पर्धामा लगातार तीन पटक विजयी हुने उहाँ दक्षिण एशियाकै पहिलो खेलाडी समेत बनेका छन्। विश्वप्रख्यात सो प्रतिष्पर्धामा  उहाँको विजयको अविच्छिन्न  यात्रा जारी छ ।  गत वर्षको  ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’को उपाधि बक्सर खेलाडी घिमिरेले चुमेका थिए ।  विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर बनेका थिए । जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा  सम्पन्न ४९ औँ संस्करणको सो प्रतिस्पर्धामा अन्तराष्ट्रिय बक्सर खेलाडी घिमिरेले जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई परास्त गरेका थिए । उनीहरु दुवै ‘के वान के बक्सिङ प्रतिष्पर्धा’ मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।

‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध घिमिरेले सो प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जाल मार्फत जितका लागि आफ्ना पिता अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमीलाई सबैलाई धन्यवाद दिएका छन् । जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो । अविरलले सोही डोजो मार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएको छ।

प्रशिक्षक देवकाअनुसार ७० केजी तौल समूहको  ‘हिट प्रोफेसनल किक बक्सिङ जित हासिल गर्नु  आफैमा प्रतिष्ठाको विषय हो । उनका अनुसार खेलाडी अविरलले अब थप अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न बाटो खुला भएको  छ । वि.सं २०७७ को चैतमा जापानको टोकियो सहरमा सम्पन्न ‘के वान फेस्टिभल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य  अविरलले नै प्राप्त गरेका थिए ।

उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउन्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए । यसैगरी उनले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजीमाथि सहज जित हात पारेका थिए ।

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए । एक्काइस वर्षीय उनले ब्राजिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनी विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप