बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रदेशसभा बैठकमा आचार्यले भने, ‘यो नमूना सरकारलाई चिडियाखानामा राख्नुपर्छ’

आइतबार, १५ फागुन २०७८, १६ : १९
आइतबार, १५ फागुन २०७८

साढे तीन महिनापछि बसेको प्रदेश १ को प्रदेशसभा बैठकमा एमालेका सांसदहरु आक्रामक ढंगले प्रस्तुत भएका छन् । बैठकको शून्य समयमा बोलेका एमाले सांसदहरुले प्रदेश सरकारले मन्त्री बढाएकोमा व्यंग्य गरे । शून्य समयमा बोलेका ९ जना सांसदमध्ये प्रतिपक्षी एमालेकै ८ जना सांसदले बोले । अधिकांश सांसदले वर्तमान गठबन्धन सरकारप्रति थुप्रै व्यंग्य वाण गरे । त्यसपछि विशेष समय लिएर बोलेका  नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले पनि लामो भाषण गरे । 

पूर्व मुख्यमन्त्रीसमेत रहेका आचार्यले सरकार छ काम छैन भन्दै संसदलाई नै काम दिन नसक्ने सरकारले विकासको काम के गर्ला भन्दै प्रश्न गरे । ‘यो नमुना सरकारलाई चिडियाखानामा राख्नुपर्छ । होइन भने औचित्य पुष्टि गर्नुहोस्,’ उनले भने, ‘सहमतिको सरकार बनाउँ भनेको थिएँ । तर गर्ने त केही हैन रहेछ । स्याम्पेन तोड्ने खसी खाने मै रमाइरहेको छ । मल छैन बोर्डर खोलिदिए त हुने नि । त्यो पनि छैन । कर्मचारीलाई पैसा माग्ने नत्र सरुवा गरिदिन्छु भन्ने धम्कीका कुरा छन् । प्रतिपक्ष कमजोर छैन । विकृति हेरेर बस्न सक्दैन । सबैचिज जिरो भागवण्डाको हिरो ।’ 

आचार्यले सेवा कार्यालयहरू कटौती गर्दा जनताको सेवा प्रभावित भएको बताए । कृषि ज्ञान केन्द्र र बागवानी एकैठाउँमा जोडिएको कुरा अज्ञानता भएको उनले बताए । ‘जनताको सुविधा काट्ने अनि थप्ने मन्त्रालय । वहुवर्षे पुल र सडकको आयोजना ठप्प छ । मन्त्रालय भन्छ पैसा छैन रोक्नु । विकास कटौती गरेर भागवण्डा गर्ने ?,’ उनले भने, ‘कुर्सी च्यापेर, झण्डा हल्लाएर, रमाएर मात्र कहाँ पुुगिन्छ ? संघीयता यहि तालले जाने हो भने संघीयता भार र अभिसाप हुन्छ ।’

आचार्यले मन्त्रालय घटाउन र भागवण्डा बन्द गर्न माग गरे । राजश्व सुधार आयोग विघटनको संघारमा रहेको भन्दै उनले २५ अर्ब राजश्व थपिने सम्भावना खोजी किन नगर्ने ? भनि आचार्यले प्रश्न गरे । 
त्यसअघि शून्य समय लिएर बोल्दै एमाले सांसद उषाकला राईले मन्त्रालय फुटाएर १४ जना मन्त्री बनाएको सरकारको हालखबर के छ भन्दै प्रश्न सोधिन् । ‘मन्त्रीहरूको सुविधामा कति खर्च भइरहेको छ ? रकमान्तर गरेर बजेट शून्य बनाइदै छ किन ?,’  उनले प्रश्न गरिन् । 

अर्का सांसद काजिमान कागतेले मन्त्रालय अझै बढाउनु भन्दै व्यंग्य गरे । अर्थतन्त्र डामाडोल भइरहेको र उद्योग र कृषिमा सहुलियत कर्जा दिने भनिए पनि कार्यान्वयन भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । 
एमालेकै अर्का सांसद विमल कार्कीले प्रदेशले नाम नपाएको भन्दै विरोध गरे । सांसद राजकुमार ओझाले लोहन्द्रालगायतका खोलामा अधिक उत्खनन् भएको बताए । उनले नहर सुकेको र खेती प्रभावित भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराए । सांसद रामबहादुर मगरले बागवानी केन्द्रलाई जिल्ला ज्ञान केन्द्रमा राख्ने सरकारको निर्णयको विरोध गरे । सांसद सर्वध्वज साँवाले जोडजाडे सरकारकारले फोडफाडे काम मात्र गरेको भन्दै व्यंग्य गरे । सांसद सरिता थापाले बलात्कारीलाई फाँसीको सजाय दिन माग गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप