सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस मकवानपुर : सभापतिमा ३ जनाको मनोनयन दर्ता

आइतबार, १५ फागुन २०७८, १५ : ४६
आइतबार, १५ फागुन २०७८

नेपाली काँग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आइतबार बिहानबाट सुरु भएको मकवानपुर अधिवेशनमा सभापति पदका लागि तीन जना उम्मेदवारहरूले मनोनयन गरेका हुन् ।

सभापति पदमा हालका पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र जिल्ला समितिका सल्लाहकार जयराम लामिछानेले सभापति पदमा मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेस मकवानपुरको नेतृत्व सर्वसम्मत रुपमा छनौटका लागि आइतबार बिहानसम्म चलेको छलफल निष्कर्षविहीन बनेपछि निर्वाचनबाट नेतृत्व छान्ने प्रक्रिया सुरु भएको थियो । काँग्रेस मकवानपुरको नेतृत्वको लागि संस्थापन पक्षबाटै २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी परेको छ ।

संस्थापन पक्षबाट लामा र पराजुली उम्मेदवार छन् भने संस्थापन इतर पक्षबाट लामिछाने उम्मेदवार रहेका छन् । आइतबार बिहानसम्म हालका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको पक्षमा सहमति जुटाउने पहल गरिए पनि संस्थापन पक्षबाटै सभापति पदका उम्मेदवार रहेका पराजुलीले नमान्दा निर्वाचन हुने भएको हो । संस्थापन पक्षबाटै सभापतिको उम्मेदवार रहेका पराजुलीले कार्यवाहक सभापति लामिछानेको टिमको उपसभापतिसहित हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट लिन नमान्दा सहमति बिथोलिएको थियो ।

मनोनयन दर्तापछि उम्मेदवारहरूले पार्टीको आन्तरिक प्रतिस्पर्धामा लोकतान्त्रिक विधि अवलम्वन गरिएको र स्वच्छ प्रतिस्पर्धाको लागि तीनै जना तयार रहेको सन्देशसमेत प्रवाह गरेका थिए । निर्वाचन समितिले अन्य पदहरुमा उम्मेदवारी दर्ताको काम भइरहेको बताएको छ । आइतबार विहान ९ बजेदेखि सुरु भएको मनोनयन दर्ताको कार्यक्रम जारी रहेको छ । मनोनयन दर्ताको समय १ बजेसम्म निर्धारण गरिएको थियो ।

निर्वाचन समितिका अनुसार दिउसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका ६ः३० बजे हुनेछ । अधिवेशन अन्तर्गत मतदानको कार्यक्रम भने सोमबारको लागि तय गरिएको छ ।

निर्वाचन समितिका अनुसार सोमबार विहान ८ बजेबाट मतदान सुरु हुनेछ । मतदानमा जिल्लाका १०२ जना वडा सभापति, क्षेत्रिय सभापति तथा प्रतिनिधि, बुथ प्रतिनिधि गरी करिव १ हजार ९ सय जना मतदाताको उपस्थिती रहने निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप