शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सूर्यराजको व्यङ्ग्य : एमसीसीको व्याख्यात्मक घोषणा खसीलाई शाकाहारी भन्नु जस्तै

आइतबार, १५ फागुन २०७८, १२ : ३१
आइतबार, १५ फागुन २०७८

पूर्वाधारविद् सूर्यराज आचार्यले एमसीसी पास गर्ने विषयमा गठबन्धन दलबीच भएको ‘व्याख्यात्मक घोषणा’ प्रति व्यङ्ग्य गरेका छन् । एमसीसी सम्झौता पारित गर्नका लागि मध्यमार्गी बाटोको रुपमा व्याख्यात्मक घोषणा सहित एमसीसी पास गर्न माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि आचार्यले सत्तामा नछोड्नका लागि जनतामा भ्रम छोडेको बताएका छन् । 

रातोपाटीसँग कुरा गर्दै एमसीसीको विषयमा राजनीतिक दल पक्ष वा विपक्षमा उभिन सक्ने भए पनि पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असङ्गतिपूर्ण दृष्टिकोण आएको बताए । उनले भने–‘अहिलेसम्म जतिसम्म जनस्तरको छलफल भयो, जनताको मत लिनुभयो, जनताको मत पढ्नुभयो होला, एमसीसी सम्झौता जस्ताको तस्तै पास गर्दा यो देशको हितमा छैन भन्नेहरू अहिले देशको हितमै छ भन्ने नयाँ निष्कर्षमा  आएको देखियो ।’ 

आचार्यले समाजिक सञ्जालमा व्यङ्ग्य गर्दै लेखेका छन्–‘एउटा शाकाहारी पण्डितलाई खसीको मासु खान मन भयो । के गर्ने होला भनेर सोच्दै गर्दा यस्तो उपाय । ‘वास्तवमा खसीले घाँस खाएर र नै मासु बन्ने हुनाले मासुको स्रोत शाकाहारी हो, र यो विशेष परिस्थितिमा मासुलाई शाकाहारी मान्न सकिने’ भनेर व्याख्यात्मक टिप्पणी गरेर मासु खान मिल्ने उपाय निकाल्ने ।’

रातोपाटीसँगको कुराकानीमा आचार्य भन्छन्–‘उहाँहरूको पछिल्लो रवैयाले कस्तो सन्देश गइरहेको छ भने यो सम्झौता आपत्तिजनक त छ नै, यसमा केही आपत्तिजनक बुँदा पनि छ, यो थाहा हुँदा हुँदै पनि सत्ताबाट बाहिर निस्कन नसकेको देखियो । सत्ता हाम्रो लागि प्रिय छ, हाम्रो अस्तित्व पनि अहिलेको गठबन्धनसँग जोडिएको छ । जसरी पनि यो गठबन्धन जोगाउनुपर्ने बाध्यता हामीलाई आइलाग्यो । त्यसैले आपत्तिजनक लागेका बुँदामा स्वतन्त्र ढङ्गले व्याख्या गरेर अगाडि हिँड्न खोजे ।’ 

उनले राष्ट्रहित र देशहित भन्दा सत्ताका लागि गठबन्धन जोगाउने कुरा माओवादी केन्द्र र नेकपा एसको प्राथमिकतामा परेको बताए । उनले यी पार्टीको अहिलेको कार्यशैली आफ्नो स्वार्थका लागि भ्रम छर्ने किसिमले आएको उल्लेख गरे ।  उनले भने–‘सङ्कल्प प्रस्ताव र विशेष व्याख्याको कुरा त पहिलेदेखि नै चर्चामा आएको थियो । अमेरिकामा यो सम्झौतामा कुनै फेरबदल हुँदैन भनेको छ । कानुनविद्हरूले यस्तो एकतर्फी व्याख्याले कानुनी मान्यता पाउँदैन भनेका छन् । यो आम मानिसको आँखामा छारो हाल्ने गरी आएको छ ।’ सरकार र सत्ता गठबन्धन दलले आजै व्याख्यात्मक घोषणाबाट एमसीसी पास गर्ने तयारी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप