आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

विशेष कारण भन्दै बागमती प्रदेशसभा बैठक स्थगित

आइतबार, १५ फागुन २०७८, ०९ : ३१
आइतबार, १५ फागुन २०७८

विशेष कारण देखाउँदै बागमती प्रदेशसभाको फागुन १६ गते बस्ने भनेको बैठक स्थगित भएको छ । बागमती प्रदेशसभाको फागुन १६ गतेको बस्ने गरी तय भएको ९ औँ अधिवेशन बैठक अनिश्चितकालको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गर्नुपरेको उल्लेख गरेको छ ।

प्रदेशसभा बैठक अघि आज दिउँसो १ बजे बस्ने गरी तय भएको थियो । बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर बैठकको कार्यसूची तयार पार्ने तय गरिएको भए पनि बैठक स्थगित भएसँगै कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको छ ।

लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक फागुन ४ गते बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि फागुन १६ गतेको लागि तय भएको थियो । पछिल्लो समयमा संसद्मा भइरहेको गतिरोध अन्त्यका लागि फागुन ४ गते सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा सर्वदलीय बैठक बसेको थियो ।

उक्त बैठकले संसद् बोलाउने सहमति गरेको भए पनि फागुन १५ मा पुनः सर्वदलीय बैठक आह्वान गरेर सत्तापक्ष र विपक्षी दलहरूको बीचमा भइरहेको विवाद समाधानको पहल गर्ने तय गरिएको थियो । संसद् अनिश्चितकालका लागि स्थगित भएसँगै १५ गतेको लागि तय भएको सर्वदलीय बैठक पनि स्थगित भएको छ ।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोध कायम नै छ । एमालेले वर्तमान सरकारले मन्त्रालय विभाजन गरेर ठूलो मन्त्रिमण्डल बनाएको, अघिल्ला सरकारका गौरवका योजनाहरू कटौती गरेको, योजना विहीन रूपमा रकमान्तर गरेको, मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेकपा एकीकृत समाजवादी पार्टीको कमिटी नबनेको स्थानमा बजेट दिन्न भन्ने अभिव्यक्ति प्रति एमालेले आपत्ति जनाएर ती विषयमा सरकारको जवाफ माग सदन अवरुद्ध पार्दै आएको थियो । एमालेको अवरोधका कारण बागमती प्रदेशसभा बैठक विगत २ महिनाभन्दा बढी समयदेखि चल्न सकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप