बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस –एमाले वार्ता : आजपनि  मिलेन कुरा

शनिबार, १४ फागुन २०७८, १८ : ५९
शनिबार, १४ फागुन २०७८

काठमाडौं । संसद् खुलाउने र एमसीसी अनुमोदन गर्ने विषयमा काँग्रेस एमालेका नेताहरूबीच शनिबार भएको छलफल पनि विना निष्कर्ष सकिएको छ । 

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेताहरूबीच भएको छलफलपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि एमालेले पुरानै अडान दोहोर्‍याएको बताए । कार्कीले एमालेले पुरानै अडान दोहोर्‍याएको भन्दै संसद्मा आफूहरूलाई प्रवेशको ढोका खोल्नुपर्छ भन्ने सर्त नछाडेको बताए ।

काँग्रेस एमालेबीच शनिबारको छलफललाई निर्णायक भनिएको थियो । आइतबारको संसद् बैठक खुल्छ भन्ने रु प्रश्नमा मन्त्री कार्कीले भने, ‘मैले तपाईंहरूलाई नयाँ खवर भनौला भनेको थिएँ त्यो भएन ।’ उनले अहिलेसम्म गठबन्धन दायाँबायाँ नभएको समेत बताए । उनले संसद् सुचारु होस् भन्ने आशामात्र गर्न सकिने बताए । छलफलपछि एमाले महासचिव शंकर पोखरेलले विगत ५/६ महिनादेखि सभामुखको भूमिकालाई लिएर आफूहरूले संसद् अवरोध गर्दै आएका भन्दै जबसम्म सत्ता पक्ष आफ्ना माग पुरा गर्दैन तबसम्म संसद् अवरोध जारी रहने बताए । साथै उनले सत्तापक्षले एमसीसीमा खोजेको सहमतिमा पनि पहिला गठबन्धनको एकीकृत धारणा बनाएपछि मात्रै आफूहरूले धारणा बनाउने बताए । ‘दोस्रो संसद्‍मा प्रवेश बाटो बनाउनुस् त्यसपछि स्पष्ट दृष्टिकोण बनाउँछौ भनेका छौ’, महासचिव पोखरेलले भने, ‘लोकतान्त्रिक र राष्ट्रिय सन्दर्भमा छलफल गरिरहने भन्ने भएको छ । कुनै नयाँ निष्कर्षमा पुगेका छैनौ ।’

 शनिबारको छलफलमा काँग्रेसका तर्फबाट मन्त्री कार्कीसहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप