शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सांगठनिक विवाद नसकिँदै एमाले महोत्तरीमा बल्झियो टिकट विवाद

शनिबार, १४ फागुन २०७८, १५ : ०८
शनिबार, १४ फागुन २०७८

नेकपा एमाले महोत्तरीमा संगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ । विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला पालिकाहरुमा नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षका टिकटका दावेदारहरूबीच मनमुटाव सिर्जना भएको छ ।

टिकटको लागि स्वघोषणा गर्नेहरू र अनुमान गरिएको चर्चाका आधारमा विशेषगरी बर्दिवास बजारमा निक्कै गर्मागर्मा बढेको छ । केही दिनअघि नेकपा एमालेका नेताहरू केदार बस्नेत, फाल्गुण सुस्लिङ्ग मगर, क्यापछाकी तथा टेकबहादुर बलाम्पाकीले टिकटको दावेदारीमा गरिरहेको चर्चा थियो । त्यसको लगत्तै प्रदेश कमिटी सदस्य तथा बर्दिबासका स्थानीय नेता रुपेश कार्कीले आक्रोशसहित विज्ञप्ती निकाल्दै चर्चामा आएका नामप्रति असन्तुष्टि जनाएका थिए ।
उनले विज्ञप्तिमार्फत माओवादी केन्द्रबाट एमालेमा गएका टेकबहादुर बलाम्पाकीले नै टिकट पाउनुपर्ने यदि नपाएमा आफूले समेत नगरप्रमुखको लागि दावी गर्ने जिकिर गरेका छन् । नेता कार्कीले टेकबहादुर बलाम्पाकीको पक्षमा लबिङ्ग गर्दै उनी टिकटको लायक भएको दावी गरे । संगठनिक विवाद उत्कर्षमा रहेको बेला नेकपा एमालेका नेताहरूले यसलाई गम्भीर रुपमा लिएका छ ।

जिल्लास्तरीय नेताहरूले टिकटलाई लिएर सुरु गरेको कलहले पार्टीमा फाइदा नगर्ने प्रतिक्रिया दिएका छन् । आफूलाई चर्चामा ल्याउन कसैले पनि मिडियाबाजी गर्न नहुने उनीहरूको सुझाव छ । केन्द्रीय सदस्य तथा महोत्तरीका स–इन्चार्ज सरोज यादवले कार्कीको विज्ञप्तीलाई लिएर आपत्ती जनाएका छन् । ‘आकांक्षा राख्न जो कोहीले पाइन्छ तर  विज्ञप्तीनै निकालेर मेयरको टिकटको लागी दावी गर्नु नियमविपरीत हुन्छ ।’ उनले भने ।

विवादका कै कारण एमाले महोत्तरीको अधिवेशन हुन सकेको छैन । नेताहरू बीचमा देखिएको मत विभाजनले निर्धारित समयमा अधिवेशन हुन नसक्दा पटकपटक स्थगित बन्दै आएको छ । तर, एक पक्षले यहाँ अधिवेशन सम्पन्न भइ सपथ समेत खुवाइ सकिएको दावी गरेका छन भने अर्को पक्ष त्यसको विरुद्ध पटकपटक केन्द्रमा डेलिगेसन गएको छ ।

नेकपा एमालेभित्र देखिएको भाँड भैलोलाई नेकपा एसले भने अवसरको रुपमा लिएको छ । नेकपा एसका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका नेता सुरेश राउत अधिवेशन समपन्न भए पनि त्यसपछि आफ्नो पार्टीमा ठूलो समूह आउने दावी गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप