बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सम्भव होला चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउन ?

शनिबार, १४ फागुन २०७८, १४ : ५६
शनिबार, १४ फागुन २०७८

मेलम्ची खानेपानी आयोजनाले आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं पठाउने गरी काम भइरहेको जनाएको छ । गत असारमा आएको बाढी पहिरोले आयोजना स्थललाई पुरेको थियो भने निर्माण सामग्री र उपकरण बगाएर लगेको थियो । मेलम्ची अम्बाथानमा काठमाडौं पानी पठाउने मुख्य बाँधस्थलमा हिमाली क्षेत्रदेखि आएको ढुङ्गा, गिट्टी, बालुवा सहितको गेग्य्रान थुप्रिएको छ । करिब १५ देखि २० मिटर उचाईमा थुप्रिएको गेग्रान हटाउन झन्डै २ साता अघिबाट काम थालिएको हो । 

यस्तो झन्डै ४० प्रतिशत गेग्य्रान हटाउने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले रातोपाटीलाई जानकारी दिए । आयोजनास्थलमा थुप्रिएका ठुला–ठुला चट्टान हटाउन नेपाली सेनाको समेत सहयोग लिइएको छ । विस्फोटक पदार्थ पड्काएर चट्टान फुटाउने कामपनि भइरहेको छ । 

उनले आगामी चैत मसान्तसम्ममा काम सकेर सुरुङमा पानी पठाउने उद्देश्यका साथ काम भइरहेको  बताए । हेडवक्र्स, डाइभर्सन टनेल तथा अम्बाथानमै रहेको सुरुङ प्रवेश गर्ने झन्डै ३ सय मिटरको अडिटको सफाइको काम बाँकी छ ।
निर्देशक पौड्यालले भने– ‘चैत मसान्तसम्म काम सम्पन्न गर्नेगरी आयोजना स्थलमा गेग्य्रान हटाउने काम भइरहेको छ । झन्डै ३ तले घर पुरिएको जति ग्रेग्य्रान थुप्रिएको छ । अहिले हाम्रो मुख्य काम त्यसलाई हटाइसक्ने र त्यसपछि अरु काम गर्ने हो । गेग्य्रान सफा गर्ने क्रममा सुरुङको थुनिएको मुख भेटिएको छ । दुई तीन दिनमा सुरुङको मुखमा थुप्रिएको सामग्री हटाइसक्छौँ ।’

आयोजनास्थलमा रहेका विभिन्न भौतिक संरचना पुरिएका छन्, त्यी क्षेत्रहरुमा सफाइको काम बाँकी नै रहेको छ । ढुङ्गा माटो र लेदोले झन्डै पन्ध्रदेखि बीस मिटर उचाई पुरिएको र त्यसलाई सफा गर्न समय लाग्ने उनले बताए । 
यस्तै मेलम्चीको सुरुङ अन्र्तगत सुन्दरीजल, सिन्धु र ग्याल्थुमबाट सुरुङमा प्रवेश गर्ने ढोकाहरू खोली भित्र गएर सुरुङको अवस्था जाँच गर्ने काम पनि थालिएको छ । 

उनले भने– ‘झन्डै ३ तले घर पुरिए बराबरको तहमा गेग्य्रान थुप्रिएको छ । अहिले हामीले विभिन्न प्रकारका उपकरणहरु प्रयोग गरेर सफाई गरिरहेका छौँ । यो चैतसम्म काम सम्पन्न गर्नेगरी लागिपरेका छौँ ।’ आयोजना स्थानको सफाइका लागि झन्डै ३५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । टनेल तथा मुख्य बाँधस्थल निर्माणको ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई नै सो गेग्य्रान हटाउने ठेक्का दिइएको छ । 

कार्यकारी निर्देशक पौड्यालले भने– ‘हामीले सुन्दरीजल, सिन्धु र ग्याल्थुममा सुरुङको ढोका खोलेका छौं । सुरुङमा हावा बहन दिनुपर्ने हुन्छ । सुरुङभित्र ग्याँस जम्मा भएको छ कि छैन, त्यसको परीक्षण गरिरहेका छौँ । आयोजनामा गनुपर्ने कामको नियमित प्रक्रियाअनुसार काम गरिरहेका छौँ ।’

आयोजनाको हेडवक्समा क्षतिको अवस्था हेरेर पुनर्निर्माण गर्ने वा फेरि नयाँ डिजाइन गरेर अर्को बनाउने भन्ने निश्चित हुने आयोजनाले जनाएको छ । गेग्य्रान सफाईको काम सकेपछि अस्थायी बाँध बनाएर सुरुङभित्र पानी पठाई परीक्षण गर्ने योजना रहेको उनले बताए ।

यसअघि पनि अस्थायी बाँधबाटै काठमाडौंतर्फ पानी ल्याइएको थियो । २०७८ बैशाख र जेठ दुई महिना परीक्षणका रुपमा मेलम्चीको पानी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वितरण गरिएको थियो । यस वर्षको असार साउनमा आएको बाढी पहिरोका कारण आयोजनास्थलमा ठूलो क्षति भएपछि काठमाडौंमा पानी बन्द भएको थियो । सरकारले बजेट वक्तब्य मार्फत नै यो वर्षको चैतसम्ममा अस्थायी बाँध बनाएर भएपनि काठमाडौंमा मेलम्चीको पानी ल्याउने योजना बनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप