बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

कथा: तपाईंकी प्रेमिका

शनिबार, १४ फागुन २०७८, १० : ४२
शनिबार, १४ फागुन २०७८

घरको डोरबेल बज्छ– टिङ टोङ ! यो समयमा डोरबेल बज्नु अपत्यारिलो र अस्वाभाविक घटना हो । दिउँसोको समयमा घरमा कोही हुँदैन भन्ने प्रायःलार्ई जानकारी छ  । यसबेला को आयो त ?

अघि पात्रको मनमा दौडिएका शंकाहरुलार्ई डोरबेलले सही साबित गर्न खोजेको त होइन ? यस्तो कठिन मनस्थितीमा पनि पात्रले के सही अन्दाज लगाउन सक्षम भएको हो त ? अनुमान सही वा गलत जे होस्, त्यो त एकछिनमा थाहा भइहाल्छ तर पात्र भने अहिले ढोका खोल्ने कि नखोल्ने भन्ने द्विविधामा छ ।

हुन त नखोले पनि कहाँँ लुक्न जाने र ? विकल्प छैन । बरु आफ्नो स्थितिलाई केही सामान्य नै बनाइ ढोका खोल्नु उचित हुने देखेर पात्र ढोकातर्फ बिस्तारै अघि बढ्छ । एक पटक लामो सास तान्छ अनि सामान्य गतिमै ढोका खोल्छ ।

पात्रले ढोका बाहिर सादा पोसाकमा उभिएको एक सामान्य व्यक्ति फेला पार्छ । लामो घुम्रिएको कपाल, निधार माथिको उजाड भाग, फैलिदै गएको तालु, ठूला–ठूला आँखा र पात्र भन्दा थोरै होचो कद । यी सबै नवआगन्तुक व्यक्तिको बाहिरी रुपरेखा हुन्छ ।

पात्रलाइ उक्त व्यक्ति कतै देखेको हो कि जस्तो पनि लाग्छ  । मुहार चिरपरिचित झैं लागे पनि उ ठोकुवा गर्न भने सकिरहेको हुँदैन । कता देख्यो ?

पात्रलाई त्यो नवआगन्तुक आफूले विद्यार्थी राजनीति गर्दा ताका पार्टी कार्यालयको भित्तामा झुन्ड्याइएको कार्ल मार्क्सको रुपरेखासँग मिलेको जस्तो लाग्छ । तर मरिसकेको मान्छे यसरी मध्य दिनमा किन पो आउँथ्यो र ? त्यो पनि पात्रको घरमा  । मार्क्स त पक्कै होइन । तर को हो त ?

पात्रलाई नवआगन्तुकका आँखा बिहान स्कुलमा आफूतर्फ घुरिरहेको एक व्यक्तिसँग मिल्दोजुल्दो लाग्छ, जुन व्यक्ति स्कुलको भित्तामा पेन्टिङ गरिरहेका थियो । तर एकछिनमा रुपरेखा फेरि स्कुल अघि भेटिएको भिखारीसँग झन बढी मिलेको पाउँछ ।

होइन होइन, कतै बिहान भोटेबहाल चोकमा फोहोरको थुप्रोबीच केही खोज्दै गरेका व्यक्तिहरुमध्ये एक त होइन ? हुलिया त त्यता पो मिल्छ त बढी । उसो भए खासमा को हो त यो ? यहाँ किन आयो ? कि सबै मेरो कल्पित भ्रम मात्र त होइन ? कि चोर पो पर्यो यो ? हो भने खै त यसको हातमा बाकस ? पुलिसलाई पो खबर गरिसक्यो कि ?

पात्रको मनोवादको श्रृंखला पुरा हुन नपाउँदै बीचमा त्यो नवआगन्तुकले पात्रलाई “नमस्कार सर, के छ ?’ भनी ठाडो प्रश्न राख्छ । 

पात्रले भने उसको प्रश्नलाई पुरा बेवास्ता गरी उल्टै प्रश्न राख्छ, “को हो तपाईं ? यहाँ किन ?’

नवआगन्तुक: “म तपाईंको शुभचिन्तक । तपाईंलाई केही कुरा भन्नु छ । भित्र बोलाउनु हुन्न ?’

पात्र: “को शुभचिन्तक ? कस्तो चिन्तक ? के कुरा ?’

नवआगन्तुक: “त्यहीँ क्या, कालो बाकस ।’

पात्र आफूलाई सम्हाल्दै बोल्छ: “कुन ? कस्तो बाकस ?’

नवआगन्तुक: “मसँग तपाईंलाइ कुनै डर छैन । बरु म त तपाईंको डर दूर गर्न पो यहाँ आएको ।’

पात्रलाई लागेको हुन्छ कि बाकसको रहस्य आफूमा मात्र सीमित छ  । तर फेरि को आयो यो मनुवा, कालो बाकस भन्दै ? 

पात्रलाई यस्तो कुरा गुपचुप गर्न मन हुन्छ, अनि भित्र लैजान्छ त्यहीँ आफ्नो पुरानो कोठामा । खाटको दुई छेउमा दुई व्यक्ति आमने सामने भएर टुसुक्क बस्छन् ।

बस्न नपाउँदै नवआगन्तुकले प्रश्न राख्छ, “कतै देखेको जस्तो लागेन मलार्ई ?’

पात्र: “हो, तर यकिन गर्न सकिन ।’

नवआगन्तुक: “थाहा छ तपाईं निकै अलमलमा हुनुहुन्छ भन्ने । हिजोदेखि म तपाईंको वरपर नै छु ।’

पात्र: “को हो तपाईं ?’

नवआगन्तुक: “म चलचित्रकर्मी, क्यामेरा पछाडि काम गर्छु, डाइरेक्टर पनि भन्छन् ।’ 

पात्र: “कालो बाकसबारे के थाहा छ ?’

नवआगन्तुक: “सबै ।’ 

पात्र: “हँ ?’

नवआगन्तुक: “अँ ।’

नवआगन्तुक केही सहज पाराले खाटमा बिराजमान हुन्छ, अनि भन्दै जान्छ,“वास्तवमा म यहाँ तपाईंलाई सबै कुरा क्लियर गर्दिन नै आएको हुँ । म एउटा फिल्म बनाउँदै छु  । त्यो कालो बाकस पनि त्यसैको एक भाग हो । तपाईं र त्यो कालो बाकसको भेट गराउनु हाम्रो पूर्व योजना अनुरुप नै थियो । हाम्रो भन्नाले म र मेरो फिल्मकी नायिका । केही साता अघि देखिको योजना ।’

पात्र: “के यो सबै फिल्म हो ? खै क्यामेरा ?’

नवआगन्तुक: “होइन होइन, धैर्य गर्नुस् । मेरो फिल्मको मुख्य पात्र त बेग्लै छ । उसको पनि तपाईंको जस्तो कालो बाकससँग भेट हुन बाँकी नै छ । तर मलार्ई सुटिङ अघि कालो बाकसले फिल्मको पात्रमा पार्न सक्ने मनोवैज्ञानिक असर, पात्रको व्यवहारमा देखिन सक्ने परिवर्तनहरुबारे नजिकबाट पूर्ववत नै अध्ययन गर्नु थियो । र, त्यही अनुभवलाई रिलमा उतार्न पनि थियो । के गर्नु डाइरेक्टर न परें, सानो सानो कुरा पनि रिलमा रियलझंै देखाउनुपर्ने हुन्छ । नत्र दर्शकलाई चित्तै नबुझ्ने । यो एउटा तपाईंमाथि मैले गरेको रियल लाइफ ट्रायल थियो । तपाईं एउटा एक्सपेरिमेन्टल युनिट ।’

पात्र: “तपाईं भर्खरै पागलखानाबाट भागेर सिधै यहाँ आएको त होइन ? तपाईंले यस्तो सेन्सलेस कुरा गरेर मलाई मुर्ख बनाउन खोजेको ? कि जासुस हो तपाईं ?’

नवआगन्तुक (मन्द मुस्कानसहित ): “तपाईंको दिमागी हालत अहिले धेरै सोच्न योग्य छैन । तपाईं यसलाई धेरै जोड नदिनुहोस् । मेरो कुरा पहिला पुरै सक्किन दिनुस् । अनि तपाईंलाई जे गर्न मन लाग्छ, गर्नुस् । जे भन्न मन लाग्छ, भन्नुस् । ओके ?’

पात्र: “तपाईंको कुनै कुरा विश्वास गर्न लायक नै छैन  । मैले नै त्यो बाकस फेला पार्छु भनेर तपाईंलाई कसरी थाहा भयो ?’

नवआगन्तुक: “अरे कस्तो सिल्ली प्रश्न ! तपाईंले त्यो फेला पारेको होइन । तपाईंलाई त्यो फेला पार्न लगाइएको हो । इट वाज् अल प्रिप्लान्ड ।’

पात्र: “त्यो रात म त्यही गल्ली नै हिँडछु भन्ने जानकारी चाँही कसरी भयो ?’

नवआगन्तुक: “यो सबै टाइमिङ मिलाउनु नायिकाको जिम्मामा थियो । यो सबै उनको खोज अनुसन्धानको कमाल हो ।’

पात्र: “मैले त्यो बाकस घर नै लिएर जान्छु भन्ने ढुक्क चाँही कसरी ? बोकेर नहिंडेको भए ?’

नव आगन्तुक: “के कुरा गर्नु हुन्छ सर ? मनोविज्ञानमै आधारित भएर यत्रो फिल्म बन्दै छ, मानिसको मनोविज्ञानबारे यस्तो झिनो अध्ययन नगरी म कसरी डाइरेक्टर कहलिन सक्छु र ? त्यही माथि तपाईं लोभी स्वाभावको मान्छे, म त ढुक्क थिएँ । फुल कन्फिडेन्ट ।’

पात्र: “मेरो र मेरो स्वाभावबारे यति धेरै जानकारी कसरी हुन्छ तपाईंलाई ? हावा ।’

नवआगन्तुक: “अघि भने त सर, रिसर्च डिपार्ट्मेन्ट फिल्मकी नायिकाको थियो । उनकै कमाल हो ।’

पात्र: “तपाईंको यो नायिका चाँही को हो ?’

नवआगन्तुक: “क्या सर तपाईं नि ! धैर्य गर्नुस् न, सबै कुरा थाहा भैहाल्छ नि । अहिले नायिका महत्वकोे कुरा होइन, कालो बाकस हो । मलाई कुरा सक्काउन त दिनुस् ।’

पात्र: “ल छिटो भन्नुस् ।’

नवआगन्तुक अब अघिको आफ्नो कुरा पुरा गर्नतर्फ लाग्छ:“ अँ त म कहाँ थिए ? ए, त्यो असनको गल्लीमा । त्यो बाकस म आफैले खुद त्यहाँ लगेर राखेको हो, तपाईंलाई म त्यँही नजिक बसेर नियाल्दै थिएँ । म त्यो रात घरसम्म तपाईंको पिछा गरेको थिएँ । बिहान फोहोरको थुप्रो वरपर बरालिने म नै हो । तपाईं भन्दा छिटो तपाईंको विद्यालय पुगेर भिखारीको भेष धारण गर्ने पनि म नै । भिखारी बनिराख्दा चाँही बहुत कुरा देख्न पाइयो, तपाईंलाई नजिकबाटै नियाल्न पाइयो । गजब भयो । तपाईं स्कुलबाट फर्किदा स्कुलका भित्ताहरु रंगाए झैं गरेर तपाईंलाई घुरेर हेर्ने पनि मै । नपत्याए यी हेर्नुस् मेरो भित्रको टि–सर्टमा अझै छन् पेन्टका थोपाहरु, आलै ।’

पात्र: “यती छिटो रुप बदल्दै मेरो वरपर रहन कसरी सकिन्छ ? अनि आजकै दिन विद्यालयका भित्ता रंगाउन कसले अनुमति दियो ?’

नवआगन्तुक: “तपाईंलाई मेरो पूर्ण परिचय त दिनै भुलेछु । म डाइरेक्टर त भर्खर बनेको, यस अघि त म मेकअप आर्टिस्टको काम गर्थे । भेष बदल्नु मलार्ई कुनै गाह्रो बिषय होइन  । रह्यो कुरा विद्यालयको भित्ताबारे, जसको लागि एक हप्ता अघि नै हामीले अनुमति लिइसकेका थियौं, एउटा संस्थाको नाममा । तपाईंलाई कति भन्नु यार, यो सबै पूर्व योजनाअनुसार नै घटेको हो भनेर ।’

पात्र: “उसो भए कालो बाकस खै त ?’

नवआगन्तुक: “त्यो त मैले सुरक्षित स्थानसम्म पुर्याइ दिई सकें । सुटिङ गर्दा त फेरी चाहियो नि त्यो । तपाईंले दराज अनलक गरी राखेर मेरो आधा काम सहज गरिदिनु भयो । मूल ढोकाको साँचो त्यहाँ राखिन्छ भन्ने जानकारी हाम्रो रिसर्च टिमलाई पहिल्यै थाहा थियो । कुनै समस्या नै थिएन ।’

पात्र: “अनि, त्यो बाकस भित्रको टाउको भने कसको हो ?’

नवआगन्तुक: “मेरो । आइ मिन मैले बनाएको । आफ्टर अल आइ एम अ मेकअप आर्टिस्ट । रियल जस्तो लागेन त ? लाग्नै पर्यो नि, नत्र त रियल रिएक्सन कहाँ देख्न पाईन्थ्यो र ? नलाग्ने पनि थोरै डाउट थियो मलार्ई । त्यसैले त तपाईंलाई टल्ली हुने गरी दारु र गाँजा खुवाइएको हो । रिस्क किन लिनु भनेर ।’

पात्र: “खुवाइएको हो ...? मतलब ?’

नवआगन्तुक: “तपाईं त साह्रै मन्द बुद्धिको मान्छे । कति भन्नु यो सबै पूर्व योजनाअनुसार नै चलेको हो भनेर  । त्यसै पनि फ्रिमा पाए त तपाईं भट्टी नै रित्याउने मान्छे । हा हा हा...।’

यति भनेर नवआगन्तुक डाइरेक्टर खाटबाट उठ्छ अनि ढोकातर्फ लम्कन्छ । ढोकामा पुगेर त्यहीँ अडिन्छ । अनि फेरि पात्रतर्फ फर्किदै केही कुरा भन्न बिर्सेझंै गरी सुरु गर्छ, “अ साँच्ची, एउटा कुरा त भन्नै भुलँेछु । मेरो फिल्मकी नायिका चाँही तपाईंकी प्रेमिका नै हुन् । ह्याभ अ ग्रेट डे । गुड बाइ ।’

(एउटा लेखक तु चाहियो कथा श्रृंखलाको अन्तिम भाग)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप