शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

साताका ५ कविता : ‘अब म अमेरिका आउदिनँ भैरे !’

शनिबार, १४ फागुन २०७८, १० : १९
शनिबार, १४ फागुन २०७८

हामीले रातोपाटीमा प्राप्त भएका कवितामध्ये केही छानिएका रचनाहरू​लाई ‘साताका कविता’ स्तम्भमा शनिबारको साहित्यिक परिशिष्टमा समेट्दै आएका छौं । हरेक साता नियमितरुपमा नभएता पनि प्राप्त भएका कविताहरूका आधारमा यस्तो छनोट गर्ने गरिएको छ ।

यो साता खगेन्द्र न्यौपानेको ‘म अमेरिका आउँदिनँ भैरै’ कवितालाई शीर्ष कविताका रुपमा यहाँ प्रस्तुत गरिएको छ । झापाली कवि न्यौपानेले यस कवितामा एमसीसी सम्झौतामाथि रोचक शैलीमा व्यंग्य गरेका छन् ।  त्यसैगरी यो साताका कवितामा राकेश कार्कीको ‘श्रीमतीको मोहनी’, कैलाशकुमार पाण्डेयको ‘कविता हरायो’, लोकेन्द्र भण्डारीको ‘रगतले भिजेको सगरमाथा’ र मणिकुमार श्रेष्ठको ‘एउटा अधुरो सपना’ कवितालाई समेटिएको छ ।
यो साताका ५ कविता –

१. म अमेरिका आउदिन भैरे !
खगेन्द्र न्यौपाने​

वहाँकी बुहारीले नाति पाओस् कि
यहाँको छोराले रडाको मच्चाओस्
म अब अमेरिका आउँदिनँ
समुन्द्रपारिको सपना सजाउँदिनँ
सुनिस !
अमेरिका नै यहीँ आउँदै छ रे
काँधभरि नोट बोकेर ल्याउँदैछ रे
म अब अमेरिका आउँदिनँ भैरे !
 
अस्ति पनि एम्बेसीमा धेरैबेर रोएँ
नजन्मिएको तेरो नानीको थाङ्ना
कल्पनामा धोएँ
म अब यसरी रुने छैन
भिसाको लागि बेचैन हुने छैन
यहाँको बाटो पनि अब चिल्लो बन्छ रे
यहाँको नातिले पनि
जन्मँदै अँग्रेजी भन्छ रे
सपनाको जहाज चढेर
निन्द्रामै बर्बराउने छैन
सुनिस् !
अरबौं नोटको बजार लाउँदैछ रे
अमेरिका नै यहीँ आउँदैछ रे !
 
तल्लाघरे र माथ्लाघरेका अगाडि कमजोर बन्दा
चेन्नई र गोन्जाओको कथा भन्दा
मेलबर्न, सिङगापुर र टोकियोको गीत गाउँदा
लण्डनको नाना तमास सुनाउँदा
मैले पनि तँलाई धेरैबेर सम्झें
तैंले पनि कैले नानी पाउँछस्
हामी बूढाबूढी दुबैलाई बोलाउँछस्
हामी पनि अमेरिका जान पाउँला
छाती खोलेर चोकमा कथा सुनाउँला
भन्ने थियो नि इरादा भैरे !
तर, आज सुनेँ
सरकारले त अमेरिका यहीँ बोलाउँदै छ रे
बोराभरि पैसा बोकेर
अमेरिका नै यहँ आउँदै छ रे ।
 
उमेरमा त मैले पनि
गतिलै सपना सजाएको थिएँ
ड्रम अर्केष्ट्रा र किबोर्डमा
राष्ट्रवादी गीत गाएको थिएँ
अरुकै क्यारिकेचरमा कलाकार बनेको थिएँ
नौटङ्गी र थिएटरमा जोकर भै जमेको थिएँ
जब तेरो पालो आयो
अँग्रेजीले कठालो समायो
आवश्यकताले डेरा जमायो
भोगले अभाव कमायो
विदेशी स्वप्नाको तीर्खाले घाँटी खायो
तेरो अम्रिकाने भिसा आयो
मलाई स्वदेशी र तँलाई विदेशी बनायो
हो भैरे हो
यहाँ यस्तो दिन आयो
तर, भैरे
तैंले मलाई अम्रिका बोलाउँनुभन्दा पैले
मस्ती चान्स र चैन (एमसीसी ) आउँदै छ रे
यहीँलाई नै स्वर्ग बनाउँदैछ रे
म अब अमेरिका आउँदिनँ भैरे !
(झापा)

००००

२. श्रीमतीको मोहनी
–राकेश कार्की
 

कहिले साँझले मलाई कुर्छ
कहिले म साँझलाई कुर्छु
एउटा सुन्दर रातो गुलाव बोकी
ताराहरूको झिलिमिलीसँग झर्छु
 
हाम्रो प्रेमकहानीमा अर्को अध्याय थप्न
त्यही साँझमा बसेकी मेरी श्रीमती
नवदुलही देखी यो उमेरसम्म
हर साथ हर हिँडाइ बढ्दैछ प्रीति
 
उपहार हो कि मेरो दिलको भाग
गाला– ओठ छुवाउँदै जतनले सँगाली
पलपल रमाइरहन्छन् मनोभावहरू
उचाइ गहिराइ हृदयको खुसीयाली
 
सौन्दर्य त्यहीँ त्यो दुई नदीको सङ्गम
मिलन यो कस्तो मधुर कलकल एउटै
कलकलसँगै मन्द दुई मुटुको ढुकढुकी
हेर्छु नयनमा भेटछु मायाका दृश्य सबै
 
मन लोभ्याउने मुस्कानले जितिरहन्छ
बादलरहित आकाश पृष्ठभूमिमा चाँदनी
यो समय यो स्थान यो अवधि नै प्यारो
पवित्र चोखो र मीठो श्रीमतीको मोहनी
लस एन्जेलस
 

०००००
 

३. कविता हरायो
    –कैलाशकुमार पाण्डेय
 
जिन्दगीका मोडहरूमा धेरै चिज हराए
समय हरायो, सभ्यता र संस्कृति हरायो
र एउटा कविता पनि हरायो
समय गतिशील छ
सभ्यतासँग इतिहास छ
संस्कृतिसँग पहिचान छ
समयको वेगलाई बुझ्न सक्थ्यो कविता
इतिहास बोल्दथ्यो
पहिचान झल्काउँथ्यो कविता
तर आज हराएको छ
कविता मात्र हराएन धेरै थोक हराएको छ
हराएका मध्ये महत्त्वपूर्ण छ कविता 
गाउँबेँसी छ, सहरको रहर छ
भोकमरी, गरिबी अभाव र महामारी
जय पराजय सबैको साङ्गोपाङ्गो
वर्णन थियो कविता
सुस्ता मात्र होइन टिष्टा लेख्थ्यो कविता
कालापानी मात्र होइन नालापानी लेख्थ्यो
काकडादेखि टिष्टासम्म
हिमाल, पहाड, तराई लेख्थ्यो कविता
तर कविता हरायो
स्नेह, माया, प्रेम, अनुराग अभिव्यक्त हुन्थ्यो
हर्ष, विस्मात पनि हुन्थ्यो
सरल लेखिन्थ्यो जटिल लेखिन्थ्यो
स्थुल अनि भावात्मक सूक्ष्म पनि
कविले आफूलाई लेख्छ
पाठकले आफूलाई नै पढ्छ
आर्थिक, सामाजिक, राजनीतिक मात्र होइन
रवि किरण नपुगेको ठाउँ कवि पुग्दछन्
आस्तिक लेख्छ, नास्तिक लेख्छ
भौतिक, अभौतिक, आध्यात्मिक
लौकिक, अलौकिक पनि हो कविता
तर आज हराएको छ
स्वतन्त्रता, स्वाधीनता, लोकतन्त्र
र मानवता लेख्थ्यो
आवाजविहीनको आवाज बोलिदिन्थ्यो
जल, स्थल, नभ हो
भू, भूव, स्व, मह, जन, तप हो
आकाश, पृथ्वी, जल, वायु, अग्नि
पञ्च महाभूत पनि हो कविता
तत्त्व, अणु, परमाणु हो
अनि न्युट्रोन, प्रोटोन, इलेक्ट्रोन हो
तत्त्व मात्र होइन यौगिक पनि हो
ज्ञान विज्ञान हो कविता
उत्कृष्ट सृजना र स्वच्छ परिकल्पना हो
जप ध्यान, तपका लागि मन्त्र हो
साधकका लागि तन्त्र हो
अन्वेषकका लागि यन्त्र हो
वेदान्त, साङ्ख्य, वैषेसिक, मीमांसा, योग, न्याय
षट् दर्शन हो कविता
कवितै कविता रहेको संसारमा
मेरो कविता हरायो
लिखित, अलिखित हुन्छन्
शब्द, स्वर, भाव, कला र सङ्गीतमा
हुन्छन् रे कविता
संयोग र वियोग
हर्ष, विस्मात र विषादमा पनि
सार सङ्क्षेप पनि हो विस्तृत वर्णन पनि
कसैलाई श्रीखण्ड हो
भने कसैलाई खुर्पाको बिँड हो
कागजको खोस्टो मान्लान् कोही
मेरा लागि जीवन हो कविता
जन जीवनमा जीवन्त हुन्छ कविता
यतिको महत्त्व बोकेको
मेरो कविता हरायो ।
– डडेल्धुरा
 

००००

४. रगतले भिजेको सगरमाथा
–लोकेन्द्र भण्डारी
 
यो बुद्ध जन्मेको देश हो
यहाँ युद्ध नजन्मियोस्
मेरो देश तिमीलाई युद्धको रणभूमि नबनाइयोस्
कसैका स्वार्थहरू खेल्ने क्रीडास्थल नबनाइयोस्
म देख्न चाहान्न
सेतो सगरमाथामा रातो रगत बगेको
भयानक दृश्य ।
 
मेरो आँगनमा बुद्ध छन्
मेरो आँखामा बुद्ध छन्
मेरो मुटुमा बुद्ध छन्
बुद्धसँग खेलिरहेका म

शान्त समयका स्वर्णिम पलहरूमा
रमाइरहेकी मेरी आमा
कसरी हेर्न सक्छिन्
युद्धको क्रुरता ।
 
म देख्न चाहान्न
रक्ताम्य भएका मेरा बस्तीहरू
शान्ति हराएका सहरहरू
खुसी उजाडिएका खर्कहरू
बारुदले पुरिएका हरिया डाँडाहरू
रगतका खोला र खहरेहरू
गल्लीमा ढलेका बेवारिसे लासहरू
खै कसरी हेर्न सकुँला
रगतको आहालमा डुबेको 
मेरो अग्लो सगरमाथा ।
 
यो बुद्धको देश हो
यो शान्तिको देश हो
यो कुरा बुझ्नेले बुझिदिएन भने
मेरो देशको प्राकृतिक सुन्दरता
प्राकृतिक स्रोत
प्राकृतिक शक्तिको मोहमा
नबुझे जस्तो गरिदियो भने
महाशक्तिशालीहरूको स्वार्थ
मेरै आँगनमा सिँगौरी खेल्न थाल्यो भने
खै के हुन्छ ?
कसरी कल्पना गरूँ
मेरो आकाशमा लडाकु विमानहरूको दौड प्रतियोगिता ?
कल्पना गर्ने मन पनि
कलपना गर्न डराउँछ
त्यहाँ शान्तिको गीत गाउन पाइने छैन
मैलेले फेर्ने हरेक स्वाससँगै पीडा निस्किनेछ
मेरो आकाशमा उन्मत्त उडिरहेका सेता परेवाहरू
ढल्दै फुत्तफुत्त भुइँमा खस्नेछन्
आँगनभरी रगतका टाटा पर्नेछन्
रगतका धारा बग्नेछन् मेरा बलेन्द्रीहरूमा
मेरो कञ्चन आकासभरी बारुदको धुवाँ उड्नेछ
असार भएर वर्षिनेछन् गोलीहरू
रगतका साउन उर्लिनेछन्
सोच्न सक्दैन मस्तिष्कले
अफ्ट्यारो गरी गाँठो पर्छ मनमा
ढल्छन्  भर्खर उठेका कलिला आशाहरू
निभ्न खोज्छन् आस्थाका दीपहरू
ठप्प रोकिन्छन् पाइलाहरू
आधार शिविरमै अलपत्र पर्छन्
सगरमाथा चुम्न हिँडेका खुसीहरू
बिन्ती छ
यो बुद्ध जन्मेको देश हो
यहाँ युद्ध नजन्मेओस्
म देख्न चाहान्न
रगतले भिजेको सगरमाथा ।
(रुकुम पश्चिम, चौरजहारी)

०००

५. एउटा अधुरो सपना
मणिकुमार श्रेष्ठ ‘सिजन’
सपना उसको पनि थियो
नेपाली जनताको मुहारमा
लाली छाएको हेर्ने
अनि प्रजातन्त्र सँगै
मौलाएका ती व्यवस्थाहरूमा
आफूलाई पनि सामेल गराउने
तर ?
उसको प्रजातन्त्रको
आक्रोशलाई सम्मान गर्नुको
साटो शासकले
बन्दुकको नालबाट गोली निकाली
जमिनमुनि दवाएर
राख्यो उसलाई ।
 
समयले बिर्सिएन उसलाई
अनि उसको योगदानलाई
अहिले उसलाई मृत्यु पछाडिको
प्रजातन्त्र सेनानी भनेर
सम्मान गरेको छ ।
ऊ जस्तै कैयौ बन्दीहरू
प्रजातन्त्र दिवसको अवसरमा
कैदबाट मुक्त हुने अवसर पाएका छन् ।
तर, शासकहरू
यसलाई पनि आफ्नो पोल्टामा पारी
व्यभिचारी, दुराचारीहरूलाई
कैद मुक्त गरी
समाजमा उनैलाई महान बनाउन खोजिदैछ
प्रजातन्त्र दिवसको अवसरमा यहाँ ।
 
प्रजातन्त्रको नाममा
परेवा उडाई
शान्तिको कामना गरिदैछ
महान सहिदको नाममा
एक मिनेट मौनधारण गरी
प्रजातन्त्र दिवसको सुरुवात
हुन्छ मेरो देशमा
तर प्रजातान्त्रिक व्यवस्थाको
खिल्ली उडाउँदै
विभेदको बीउ रोपिन्छ
तिनै तानाशाहको हातबाट
चिल्ला गाडी, राता कार्पेट
सहिदको नाममा खरिद गरी
तिनै शासकको वाहुलीबाट
राहतको रुपमा वितरण गरिन्छ
कठै मेरो देश ।
 
एउटा अधुरो सपना
वोकेर सहिदको आमा
सहिदको बाबा
अनि सहिदका छोराछोरी
परिवर्तनको दौरानमा
निस्किएका छन्
अदृश्य यात्री झैं ।
तर तिनै सहिदको योगदानलाई
सम्मान गर्न नसक्दा
मेरो देशमा
प्रजातन्त्रको नाममा
खास कार्यक्रम गर्न नसकी
एकल दिवसको रुपमा
मनाइदैछ यहाँ ।
 
(योजना शाखा प्रमुख, साल्पा सिलिछो गाउँपालिका, भोजपुर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप