सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बानेश्वर किन बन्दैछ रणभूमि ?

शनिबार, १४ फागुन २०७८, ०९ : ३२
शनिबार, १४ फागुन २०७८

एमसीसीको विषयलाई लिएर नेपाली नेपालीबीचको झगडाले काठमाडौँक‍ो बानेश्वर रणभूमि बन्न थालेको छ । तर, एमसीसी के हो भन्ने कुरा धेरैलाई थाहा नभए पनि सबैको मुखमा यो विषय झुन्डिएको छ । हामी नेपालीहरूको दिमागले गलत कुरा छिटो टिप्छ । तर, सत्य कुरा पटक भने पनि टिप्दैन । यही कारणले होला हामीभन्दा अविकसित मुलुकहरू केही वर्षमै आधुनिक र विकसित बनिसके । हामी भने भर्खर त्यसको सिको गरिरहेका छौँ, तर त्यो पनि कसैले उचालेको र पछारेको भरमा ।

एमसीसीको पचास अर्ब रूपैयाँ किन चाहियो, चाहिने नै हो भने नेपालको संविधानभन्दा माथि राखेर संसद्बाट पारित किन गर्नु ? भनेर धेरैले भन्दैछन् । यति मात्र होइन एमसीसी भित्र्याउने फलानो पार्टी र फलानो नेता हो, उनीहरूले आफ्नो स्वार्थ पूरा गरेर ल्याएको हो भनेर गाली गर्छन् । राष्ट्रिय स्वाधीनता खत्तम पार्न यो इन्डोप्यासिफिक रणनीतिअन्तर्गत आएको अनुदान हो, अमेरिका हाम्रो मित्र राष्ट्र होइन, साम्राज्यवादी दुस्मन राष्ट्र हो भन्ने आरोप लगाइरहेका छन् । यसले नेपालको हित गर्दैन र यो अनुदान लिनु पनि हुँदैन भन्दैछन् ।

उनीहरूको नजरमा यी तमाम प्रश्न जायज हुनसक्छन् । आफूले सुनेको र बुझेको कुरा खुलेर राख्नुपर्छ, खुलेर विरोध गर्नुपर्छ । यो लोकतन्त्रको मूल्य र मान्यता हो । तर सुनेका र भनेका सबै कुरा सत्य नै हुन्छ भन्ने छैन । त्यसैले अरूले भनेको र सुनाएको भरमा उफ्रिनुभन्दा आफैले नजिकबाट नियालेर हेर्दा सत्यको नजिक पुग्न सकिन्छ । तर हामी त्यो गर्न जान्दैनौँ । यही कारण धेरैले अनाहकमा ज्यान गुमाइरहेका छन् । आफूलाई वीर सम्झेर गर्व गरिरहेका हुन्छन् तर सत्य त्योभन्दा निकै फरक रहेको हुन्छ ।

नेपालका हरेक आन्दोलनमा बाहिरी शक्तिको ठूलो भूमिका रहँदै आएको देखिन्छ । समर्थन र विरोध दुवैमा डलरको खेती भएको देखिन्छ । तर जनता भने सधैँ भ्रममा बाँचिरहेका छन् । पटक पटक भएका विभिन्न सम्झौताले नेपाललाई बर्बाद गर्दै आएको छ । राष्ट्रियता कमजोर हुँदै आएको छ । चाहे कम्युनिस्टका नाममा होस् या काँग्रेस, राजावादीका नाममा होस् या यस्तै अरू कुनै, राष्ट्रियताको व्यापार चलेको छ । तर नेपाली मौलिकताको खोजीमा कुनै राजनीतिक गतिविधि भएका छैनन् । यो कुरा विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ । चाहे त्यो सात सालको आन्दोलन होस्, ४६ सालको जनआन्दोलन होस्, जनयुद्ध वा मधेस आन्दोलन नै होस्, सबैको इतिहास उस्तै प्रकारको छ । हरेकमा विदेशी शक्तिको कमान्ड छ । यसले गर्दा नेपाल पटक पटक अस्थिरतामा फस्दै आएको छ । यसको सिकार हाम्रा राजनीतिक दल र नेताहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भएका छन् । विदेशीले हामीलाई जुटाइदिए जुट्ने र फुटाइदिए फुट्ने जात रहेछौँ नेपाली ।

अहिले चलिरहेको एमसीसी विवाद पनि यसै वरिपरि केन्द्रित छ । कसैले समर्थन त कसैले विरोधको नाममा डलरको खेती गरिरहेका छन् । उनीहरूलाई नेपाल र नेपालीप्रति कुनै चिन्ता छैन । किनभने दिनदहाडै दलित महिलामाथि हिंसा बढ्दै गएको छ । व्यापक घुसखोरी र भ्रष्टाचार बढेको छ । तर सडकमा देखिएका यी आन्दोलन कहिले विभेद र भ्रष्टाचारका विरुद्धमा देखिएनन् ।

यहाँ हाकाहाकी निर्दोष मानिस मरिरहेका छन् । जात व्यवस्थाका कारण नवराज विक, शम्भु सदा, विजय राम, निरञ्जन राम, त्रिभुवन राम, रोशन रामहरूको हत्या भएको छ । कतै राज्यपक्षबाट त कतै समाजिक शासक वर्गबाटै यस्तो घटनाहरू भइरहेको छर्लङ्ग छ । तर, पनि हामी बोल्दैनौँ किन ? किनभने उनीहरूलाई यसबाट निहीत स्वार्थ पूरा हुँदैन । बरु समाजमा रहेका यस्ता विकृति विसङ्गति रहिरहे भने उनीहरूलाई डलरको खेती गर्न र राज्य शक्तिको दुरुपयोग गर्न सजिलो हुँदोरहेछ । त्यसैले विदेशीसँगको कुनै कुरा स्वदेशमा चर्किंदा यिनीहरू च्याउ जस्तै सडकमा उम्रिन्छन् । राष्ट्रियताको नारा दिएर सर्वसाधारण निरक्षर नागरिकहरूलाई प्रयोग गर्छन्, हतियार बनाउँछन् । उनीहरु चाहिँ मस्तले डलरको खेती गर्छन् अनि सता र शक्तिमा पुग्न चुनावमा खर्च गर्छन् ।

एमसीसी ल्याउने नेता र दलहरूले नै सडकमा मानिस उतारेर अफगानिस्तान बनाउन खोजिरहेका छन् । यस्तै गर्नु थियो भने एमसीसी किन भित्र्याइयो ? ल्याउनुअघि विचार गर्नुपर्ने थियो । केही राष्ट्रहरूले त्यसलाई अस्वीकार गरेका छन् । केहीले लिए तापनि एमसीसीको विधान संशोधन गरेर लिएका छन् । हामीले लिँदा किन विचार नगर्ने ? लिनलाई एकहोरो हौसिने अनि अहिले संशोधन गरेर लिने भनेर दोहोरो चरित्रको प्रदर्शन काम ठीक होइन ।

पढ्ने बेला गुलेली खेल्नेहरू अहिले देशको र पार्टीका नेता बनेपछि देश यो अवस्थामा पुगेको हो । सहमति र हस्ताक्षर गर्नेबेला गल्ती गरेपछि जनताको बीचमा गएर माफी माग्नुपर्ने हो तर यी नेता र पार्टीहरू विरोधमा उत्रिएका छन् । आफ्ना राजनीतिक दल र नेतागिरीबाट सन्यास लिएर नयाँ युवा पुस्तालाई हस्तान्तरण गरेर आफ्नो लाज बचाए हुने हो । यसो गर्दा देशले पनि फड्को मार्छ । यसरी देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन । अन्तर्राष्ट्रिय लिगेसीमा देशलाई भाड्खालोमा फसाउनु हुँदैन । पार्टीहरूको लिगेसीलाई आधुनिक युगअनुसार फेरिनु अहिलेको राजनीतिक आवश्यकता देखिएको छ । यो बहस किन निर्णायक हुनुपर्छ ।

संसारका २२५ राष्ट्र संयुक्त राष्ट्र सङ्घका सदस्य छन् । नेपाल पनि यसको सदस्य राष्ट्र हो । हाम्रो शान्ति प्रक्रियामा अनमिनको नेतृत्वमै माओवादी लडाकुहरूलाई व्यवस्थापन गरियो । त्यसबखत ठिक थियो अमेरिका ? माओवादीहरूले नै अमेरिकी सम्राज्यवाद र भारतीय विस्तारवाद भनेर हिंसाको राजनीतिलाई अवलम्बन गरेका थिए । तर त्यही माओवादीले दिल्लीमा गएर सातबुँदे सम्झौता गरे । त्यतिबेला भारतीय विस्तारवाद ठीक थियो ? सोझा जनतालाई यसरी कहिलेसम्म दोहन गर्ने ?

उत्तर र दक्षिण मुलुकले हाम्रो देशमाथि हस्तक्षेप गर्दै आएका छन् । हामीले यसलाई सन्तुलनमा राख्न सकिरहेका छैनौँ । सन्तुलन कायम गर्न हामीलाई अमेरिका जस्तो शक्तिशाली मुलुकको खाँचो पनि छ । यसलाई कसरी प्रयोग र परिचालन गर्ने क्षमताको विकास गर्न जरुरी छ । त्यस्तो राष्ट्रिय नेतृत्वको जरुरी छ । बरु प्रतिस्पर्धा यहाँ गरौँ । एक राष्ट्रको विरुद्ध अर्को राष्ट्रको पक्षमा उभिएर दलहरूले आफ्नो राजनीतिक लिगेसी त्यागुन् । यो गलत प्रतिस्पर्धा हो । सरकारलाई मिलेर टिकाउने र देशलाई प्रगतिको बाटोमा डोहो¥याउनेभन्दा आफू सत्तामा पुग्न विदेशी शक्तिको आडमा सरकार बनाउने र सरकार ढाल्ने खेल निकै भयो । यो प्रवृत्तिबाट माथि उठौँ ।

नेपालका लागि सबैभन्दा राम्रो त आत्मनिर्भरता नै हो । अहिलेको आधुनिक युगमा एमसीसी जस्तो अनुदान परियोजना देशलाई चाहिन्छ । देश अनुदामै चलेको छ । ऋणभन्दा अनुदान ठीक हो । एमसीसीभन्दा कैयौँ गुणा रकम विदेशीहरूबाट विभिन्न नाममा लिइरहेका छौँ । यसको सही सदुपयोग अहिलेसम्म देखिएको छैन । बरु बहस र आन्दोलन त्यहाँ गरौँ । खोजीनिती यहाँ गरौँ । अहिलेसम्मको ऋण र अनुदानको हिसाबकिताब मागौँ । कुन दल, कुन नेता र कुन सरकाको नेतृत्वमा केके भएको छ खोजौँ । अनुसन्धान गरौँ । किनभने अहिलेसम्म हामीसँग कुनै पनि तथ्याङ्क सही छैन । सबै क्षेत्रबाट शासकहरूले नागरिकलाई अन्योलमा राखेका छन् । के त्यो आँट र सहास छ हामीमा ? छ भने आजैदेखि लागौँ ।

यसर्थ एमसीसी परियोजना हामीले लिएनौँ भने पनि मुलुक अफगानिस्तान हुने खतरामा फस्नेछ । छिमेकी भारतले यो विषयमा आन्तरिक मामिला भनेर अहिलेसम्म बोलेको छैन । चीन किन हाकाहाकी यसरी एमसीसी परियोजनाको विरुद्धमा उभिएको छ ? विषय गम्भीर छ । हामीले अमेरिकासँग के लेनदेन गर्ने भनेबारे चीनलाई किन चासो ? चीनसँग पनि हामीले धेरै लेनदेन गरेका छौँ । अमेरिका यसरी आमुने सामुन्ने आएर कहिले बोलेको छैन । यसरी सडकमा मान्छे उतारेको छैन । शक्ति राष्ट्र र छिमेकी राष्ट्रको मर्मलाई आत्मसात गरौँ । आफ्नो अनुकूलतामा पुलका रूपमा काम गरौँ । हाम्रो मुलुकलाई पनि विकसित मुलुकको रूपमा बदलौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश विद्रोही
राजेश विद्रोही
लेखकबाट थप