सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा खटिने स्वयंसेवीको किन हुँदैन बीमा ?

शनिबार, १४ फागुन २०७८, ०७ : ०३
शनिबार, १४ फागुन २०७८

निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खटिने दुई लाख ५० हजार जना कर्मचारीको बिमा गर्ने भएको छ । यद्यपि निर्वाचनमा नै खटिने स्वयंसेवीले बीमा सुविधा नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले बताए ।

आयोगले २०७९ वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनमा मतगणना, मतदान र प्राविधिक विषयहरूमा काम गर्नका लागि ठूलो सङ्ख्या कर्मचारी खटाउन लागेको छ। निर्वाचन आयोगका अनुसार चुनावमा खटिएका कर्मचारीको २० लाख रुपैयाँको बीमा गरिने छ । आयोगले स्थानीय तहको चुनावमा खटिने आयोगका पदाधिकारी र निर्वाचनमा खटिने एक लाख १० हजार ७ सय १३ जना कर्मचारीको बीमाका लागि प्रस्ताव गरेको छ । 

कुन कुन कर्मचारीलाई कति दिनको बीमा ?
निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खटिने कर्मचारीको बीमा निर्वाचन अवधिभर मात्र गर्नेछ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ३६ ले निर्वाचन अवधिभर काममा खटिने पदाधिकारी तथा कर्मचारीको दुर्घटना बीमा गरिदिनु पर्ने उल्लेख गरिएको छ । 

सोही ऐन अनुसार, आयोगले बीमा आयोगका पदाधिकारी, केन्द्रीय कार्यालयका कर्मचारी, प्रदेश कार्यालयका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयका कर्मचारीका लागि १ सय ४ दिनका लागि बीमा अवधि तय गरेको प्रवक्ता पौडेलले बताउँछन् । तीनवटै संरचनाका करिब नौ सय कर्मचारीको बीमा गरिनेछ । यस्तै, आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने ६ हजार ७ सय ७७ जना कर्मचारीको भने ७० दिनको बीमा गरिनेछ । मतगणनामा खटिने ९ हजार ३६ जना कर्मचारीका लागि १० दिनको बीमा गरिनेछ । र मतदान केन्द्रमा खटिने ९४ हजार कर्मचारीका लागि १५ दिनको बिमा गरिने निर्वाचन आयोगले जनाएको छ । 

किन स्वयंसेवी सेवकको बीमा भएन ? 

निर्वाचन आयोगले चुनावमा खटिने सबै कर्मचारीको लागि बीमाको व्यवस्था गरे पनि फ्रन्टलाइनमा खटिने स्वयंसेवीको लागि भने बीमाको व्यवस्था गरेको छैन । स्वयंसेवीको बीमा सम्बन्धमा आयोगले कुनै निर्णय नगरेको प्रवक्ता शर्माले बताए । आयोगका अनुसार निर्वाचन अवधि भर खटिने स्वयंसेवीलाई बीमा गर्ने नियम नभएकाले व्यवस्था नगरिएको हो । 

  उनले भने, ‘मतदान अधिकृतले स्थानीय जसलाई पनि स्वयंसेवीको रूपमा विधि र प्रक्रिया पुर्‍याएर राख्न सक्नुहुन्छ । आयोगले सिधै उहाँहरूको बीमा गर्ने कुनै पनि नियम छैन । उहाँहरूलाई मतदान अधिकृतले छनौट गर्नु हुन्छ ।’

आयोगका अनुसार आउँदो वैशाख ३० गते हुने निर्वाचनमा खटिने स्वयंसेवीको अवधि दुई दिन मात्रै हुनेछ । स्वयंसेवीहरू कर्मचारी, करार, शिक्षक नभई दुईसम्म खटिने भएकाले मतदान अधिकृतले सामान्य सेवा सुविधा खटाउने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले ठूलो सङ्ख्यामा कर्मचारी तथा सुरक्षाकर्मी खटाउने भएकाले कुनै प्रकारको हाताहाती नहुने उनको भनाइ छ ।

‘निर्वाचनमा हाताहाती गर्ने स्थिति आउँदैन, उनी भन्छन् लाखौँ कर्मचारी र सुरक्षाकर्मी खटिदा पनि कथमकदाचित दुर्घटना भएको खण्डमा उहाँहरूको सम्पूर्ण विवरण हुने भएकाले आयोगले प्रक्रिया पुर्‍याइ व्यवस्थापन गर्छ ।’ उनले भने,

बीमा प्रक्रिया कहिले सुरु हुन्छ ?

निर्वाचन आयोगले कर्मचारीको बीमा अबको एक दुई दिन भित्र संस्था छनोट गरी बीमा प्रक्रियालाई टुङ्ग्याउने जनाएको छ । प्रवक्ता पौडेलका अनुसार बीमा शुल्क र प्रस्तावका आधारमा उपयुक्त बीमा कम्पनीबाट बीमा गरिनेछ । ५० प्रतिशतभन्दा बढी स्वदेशी स्वामित्व भएका बीमा कम्पनीलाई  फागुन १६ गतेभित्र आइपुग्ने गरी प्रस्ताव आह्वान गर्न भनिएको आयोगले जनाएको छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप