शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

महालक्ष्मी बैंंकको साधारणसभा : सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

शुक्रबार, १३ फागुन २०७८, २१ : ४०
शुक्रबार, १३ फागुन २०७८

महालक्ष्मी विकास बैंकको बीसौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले बैंकका सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । 

साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल र पारित भएको छ । लेखा परीक्षकले तयार पारेको प्रतिवदेन, २०७८ असार मसान्तसम्मको वासलात, गत आर्थिक वर्षको नाफा–नोक्सानको हिसाब तथा नगद प्रवाह वितरणलगायत एकीकृत वित्तीय विवरणहरू पनि स्वीकृत भएको बैंकले जानकारी दिएको छ । 

साधारणसभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायले गरेका थिए । उपाध्यायले सेयरधनीबाट प्राप्त सुझावलाई अंगिकार गर्दै बैंकले आगामी दिनमा थप प्रगति हासिल गर्ने दाबी गरे । साथै, उनले सेयरधनी र बैंकका सरोकारवालालाई सहयोग निम्ति धन्यवाद पनि दिए । 

वार्षिक साधारणसभामार्फत बैंक सञ्चालक समितिमा संस्थापक समूहबाट राजेश उपाध्यक्ष, सञ्जय गिरी र दीपककुमार रौनियार तथा सर्वसाधारण समूहबाट श्यामसुन्दर रुङ्गटा, राहुल अग्रवाल र रूपेन्द्र पौडेल संचालकमा निर्वाचित भएका छन् । आजै बसेको सञ्चालक समिति बैठकले उपाध्यायलाई बैंक अध्यक्ष पदमा सर्वसम्मत चयन पनि गरेको छ । महालक्ष्मी विकास बैंकले २७ वर्षयता बैंकिङ सेवा दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप