पल शाह प्रकरण : ४ जनाबीच भएको अडियो कुराकानी छरपस्ट, अदालतले अडियोलाई प्रमाण मान्छ
अभिनेता पल शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी पर्नुअघि ४ जनाले ‘फसाउने’ सल्लाह गरेको अडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमा पलले बिहीबार साँझ ६ वटा फरक अडियो सार्वजनिक गरेका छन् ।
भिडियो निर्देशक सरोज ओली, गायक तथा मोडल दुर्गेश थापा, कृष्ण जोशी र सम्राट चौलागाईंले आफूविरुद्ध षड्यन्त्र गरेको शाहको आरोप छ । अडियो कुराकानीमा एउटी महिलाको स्वर सुनिन्छ । ती महिलालाई पुरुषहरुले भनेका छन्, ‘अब अरुबाट त्यसलाई गिराउन सकिन्न, त्यसलाई पतन बनाउने तिमीले मात्र हो ।’
सो घटनामा आफूहरु देखिन नमिल्ने भन्दै दुईजना पुरुषले ती किशोरीलाई पल विरुद्ध बलात्कार मुद्दा अघि बढाउन आग्रह गरेका छन् । ‘विवाह गरिहालेमा के गर्नु ?’ अडियोमा महिलाको स्वर सुनिन्छ, ‘त्यो भन्दा अगाडि नै गर्नुपर्छ ।’
जिल्ला अदालत तनहुँले पक्राउ पूर्जी जारी गरेसँगै प्रहरीले पललाई खोजिरहेको छ । उनीविरुद्ध बलात्कारको उजुरी दिने किशोरीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले मेडिकल जाँच गराएको छ । आरोपीलाई पक्रेर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले रातोपाटीलाई बताए ।
अडियोबारे के हुन्छ ?
पल प्रकरणमा सामाजिक सञ्जालमा छरपस्ट भएको अडियोबारे के हुन्छ भन्ने प्रश्न उठेको छ । प्रहरी र सरकारी वकिल कार्यालयले बलात्कृत किशोरीको तर्फबाट अनुसन्धान र बहस गर्छन् । सरकारी निकायले सो अडियोलाई अन्देखा गर्छन् । तर, मुद्दाको बहस गर्दा पल शाह पक्षका कानुन व्यवसायीले सो अडियोलाई प्रमाण लगाउन माग गर्न सक्छन् ।
परीक्षण गरिएको अडियोलाई अदालतले प्रमाण मान्ने बताउँछन् वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल । रातोपाटीसँग कुरा गर्दै खरेलले भने, ‘विशेष अदालतले परीक्षण नै नगरेको अडियोलाई पनि प्रमाण मानेको उदाहरण छ तर, परीक्षण गर्दा बिचमा क्लिप नकाटेको अडियोलाई हाम्रो अदालतले प्रमाणको रुपमा स्वीकार गरिरहेको छ ।’
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोसँग आवाज हो कि होइन भनेर परीक्षण गर्न मिल्ने प्रविधि छ । अमेरिकी सरकारले दिएको भ्वाइस स्पेक्टर्म एनालाइजर मार्फत अडियो परीक्षण गरिन्छ । एनालाइजरले ८० प्रतिशत आवाज मिलेको रिपोर्ट दिएमा त्यसलाई अदालतले प्रमाणको रुपमा लिने गरेको छ ।
पल शाहको मुद्दा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक अडियोबारे ‘नदेखेझैं’ गर्नेछन् । तर, डिफेन्स लयर्सले त्यसबारे कुरा उठाएमा अदालतको आदेशमा परीक्षण हुनसक्छ । अडियो परीक्षण गर्दा अडियो क्लिप काटेको हुनु हुँदैन । क्लिप काटेको भिडियो र अडियोलाई चाहिँ अदालतले प्रमाण मान्दैन । अमरेन्द्र कर्णको मुद्दामा भिडियो क्लिप बिचमा काटेको भन्दै सर्वोच्चले प्रमाणको रुपमा नमिल्ने भनेको थियो ।
भ्वाइस स्पेक्टर्म एनालाइजर मेशिन नेपालमा आउनुअघि अदालतले अडियोलाई प्रमाण मान्ने गरेको थियो । सो डिभाइस आउनुअघि अडियोमा बोल्ने व्यक्तिले स्वीकार गरेमात्र अदालतले प्रमाण मान्ने गरेको बताउँछन् वरिष्ठ अधिवक्ता खरेल । आफ्ना विरुद्ध प्रतिकुल हुने कुरा झिकेको (क्लिप काटेको) अवस्थामा चाहिँ प्रमाण लाग्दैन ।
पल शाह विरुद्ध षड्यन्त्र गरिएको अडियोबारे अनुसन्धान गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नमा तनहुँका एसपी राजेन्द्रबाबु रेग्मी भन्छन्, ‘हामी जाहेरी अनुसारको मुद्दालाई बलियो हुने प्रमाण संकलन गरेर सरकारी वकिल कार्यालयमा पेस गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण