‘पुटिन युक्रेनमै रोकिएलान् जस्तो छैन, मन्द आँचमा पकाइरहेका छन् मासु’
बेलायती फिल्म निर्माता अल्फ्रेड हिचककले असञ्जस, द्विविधा वा शंकाको विषयमा एक पटक भनेका थिए, ‘जति सम्भव छ त्यति नै दर्शकलाई समस्यामा पार्नु ।’
यस्तो लाग्छ कि भ्लादिमिर पुटिन हिचककको फिल्म धेरै हेर्ने गर्छन् । महिनौँसम्म उनले विश्वलाई रुसले युक्रेनमा हमला गर्छ कि गर्दैन भनेर अनुमान गर्न लगाए । शीतयुद्धपछि युरोपमा जुन सुरक्षा बहाल भएको थियो त्यसलाई नष्ट गर्ने योजना बन्यो वा छैन ?
जब उनले यसै साता पूर्वी युक्रेनपछि पृथकतावादी क्षेत्रलाई स्वतन्त्र क्षेत्रको रुपमा मान्यता दिइयो भने, कयौँ मानिस आश्चर्यमा परेका थिए । तर, पुटिन अब के गर्छन् ? पुुटिनको आदेशमा आज दोस्रो दिन युक्रेनमा रुसी हमला चलिरहेको छ ।
‘पुटिन्स रसा’ किताबकी लेखिका लिलिया स्वेतसोभा भन्छिन्, ‘पुटिनका लागि शंका सबैभन्दा मन पर्ने औजार हो ।’
स्वेतसोभा भन्छिन्,‘पुटिनले आगो लगाएर वा निभाएर तनावको स्थिति सिर्जना गरिराख्छन् । यदि उनी आफ्नो मानसिक तर्कमा अडिग भए पूर्ण रुपमा हमला गर्ने छैनन् । तर उनीसँग सम्भावित कदम उठाउनका लागि फरक–फरक कयौँ चिज छन् । जस्तै साइबर हमला र दक्षिणी अमेरिकी अजिंगरको रुपमा युक्रेनलाई आर्थिक रुपमा थिचिरहनेछन् ।’
‘रुसी सेना पुरै दोनेत्स्क र लुहान्स्कलाई पनि आफ्नो नियन्त्रणमा लिन सक्छन् र बिरालो जसरी मुसासँग खेलिरहन्छन्,’ उनले भनेकी छिन् ।
रुसको सत्ताको पर्खाल पछाडि के चलिरहेको छ, यो थाहा पाउनुु अत्यन्त मुश्किलको काम हो । त्यसमाथि पुटिनको दिमाग पढ्नु वा बुझ्नु त्यति नै चुनौतीपूर्ण छ ।
पुटिनको आगामी योजना
तर पुटिनको बयान र उनको भाषणबाट उनको सोचबारे केही अनुमान लगाउन सकिन्छ । शीतयुद्ध जसरी अन्त्य भएको थियो, त्यसबाट पुटिन धेरै रिसाएका थिए ।
शीतयुद्धको अन्त्य सोभियत संघको बिघटन र उसको प्रभावको अन्तको कहानी हो । नेटोको विस्तार पूर्वसम्म भयो र पुटिनको कठोरता पनि बढ्दै गयो । पुटिन त्यस्तो व्यक्तिको रुपमा लागिरहेका छन् जो पुरा शक्तिका साथ एक मिशनमा लागेका छन् । पुटिनको मिशन भनेको युक्रेनलाई कुनै पनि हालतमा रुसमा ल्याउनु रहेको छ ।
युनिभर्सिटी कलेज लण्डनका वरिष्ठ अनुसन्धान असोसिएट भ्लादिमिर पस्तुखोव भन्छन्, ‘उनी रुसको संघीय सुुरक्षा सेवाका एक अधिकारीभन्दा बढी अयातुल्लाह जस्ता देखिएका छन् । उनी इतिहासमा आफ्नो विशेष स्थानका लागि कुनै धार्मिक आस्थाको रुपमा लागेका छन् ।
उनी पायला–पाइलाको रुपमा काम गर्छन् । पहिले पृथकतावादी क्षेत्रलाई मान्यता दिए । अब त्यहाँ सेना पठाउँदै छन् । फेरि दुबै क्षेत्रमा आफ्नो दृष्टिकोणबाट रुसमा समावेश हुन जनमत संग्रहको घोषणा गर्नेछन् । यसपछि यहाँ स्थानीय सैन्य अभियान चल्नेछ र पुटिन सन् २०१४ भन्दा पहिलेको सीमा विस्तार गर्नेछन् ।’
भ्लादिमिर पस्तुखोभ भन्छन्, ‘यदि आफ्नो नियमबाट पुटिनलाई खेल खेल्ने स्वतन्त्रता मिल्यो भने यसलाई उनी जहाँसम्म सम्भव हुन्छ, टाढासम्म लैजान्छन् । उनी मन्द आँचमा मासु पकाउँछन् ।’ पश्चिमाका नेताहरुलाई लागिरहेको छ कि नयाँ प्रतिबन्ध गेम–चेन्जर हुनेछ । तर पुटिन धेरै नै कडा रुपमा देखा परिरहेका छन् ।
रुसको प्रतिष्ठा
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले भनिन्, ‘हामी यी प्रतिबन्धलाई अवैध मान्छौँ । हामी लामो समयदेखि यसलाई हेरिरहेका छौँ र पश्चिम हाम्रो प्रगतीलाई रोक्नका लागि यसै औजारलाई पटक–पटक प्रयोग गर्छन् । हामीलाई थाहा थिया,े प्रतिबन्ध अवश्य लाग्नेछ, चाहे जे सुकै होस् । हामीले जे गरे पनि प्रतिबन्ध लाग्ने निश्चित छ । उनीहरुको यो प्रतिबन्ध अनिवार्य छ ।’
तर, के रुस पश्चिममा आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठाको कुनै मतलब गर्दैन, जुन लगातार तल्लो स्तरमा गइरहेको छ । तपाईंको मुलुकलाई एक हमलावरको रुपमा हेरिँदै छ ? यो सवालको जवाफमा मारिया भन्छिन्, ‘हाम्रो यो प्रतिष्ठाको खोज तपाईं गरिरहनु भएको छ । पश्चिको प्रतिष्ठाको बारेमा तपाईं के सोच्नुहुन्छ ? जुन रगतबाट रङ्गिएको छ ।’
मारिया जखारोभालाई पनि युरोपेली संघको प्रतिबन्धको सूचीमा समावेश गरिएको मान्यता राखिन्छ । हिचककको थ्रिलर फिल्मले मानिसलाई मनोरञ्जन प्रदान गर्छ तर पुटिनको युक्रेन थ्रिलरले रुसका नागरिकलाई नर्भस बनाइरहेको छ ।
रुसका नागरिक के सोचिरहेका छन् ?
लेवाडा पब्लिक ओपिनियन एजेन्सीका डेनिस भोल्कोभ भन्छन्, ‘धेरैजसो मानिस के भइरहेको छ भनेर जान्न चाहँदैनन् । मानिसका लागि यो डर देखाउने खालको छ । यसबारे सुन्न चाहँदैनन् । मानिस युद्धसँग डराइरहेका छन् । हामीले जुन सर्वेक्षण गरेका छौँ तीमध्ये आधा मानिसले युद्धको आशंका व्यक्त गरेका छन् ।’
रुसका केही मानिसले सार्वजनिक रुपमै सरकारको लाइनको विरोध गरेका छन् । केही शीर्ष रुसी बुद्धिजिवीले एक विरोधमा हस्ताक्षर गरेका छन् र युक्रेनमा अनैतिक, गैर जिम्मेवारका साथ आपराधिक युद्धबाट बच्च सल्लाह दिएका छन् ।
विरोधमा आफ्नो नाम दर्ता गराउने प्राध्यापक एन्द्रेई जुबोभले भने, ‘रुसमा मानिस आफ्नो सरकार वा संसद रोक्न सक्षम छैनन् ।’ जुबोभले भने, ‘तर मैले आफ्नो धारणा व्यक्त गर्नका लागि यो हस्ताक्षर गरेको हुँ । मैले रुसको शाशक वगबाट आपूmलाई पर नै राखेको छु । यो वर्ग अन्तर्राष्ट्रिय नियमलाई तोडिरहेका छन् ।’
तर रुसमा पुटिनका समर्थक पनि रहेका छन् । सोभियत सेनाका एक पूर्व कमाण्डर एलेक्सीले भने, ‘केवल युक्रेन मात्रै होइन, जो रुसमा फर्कनेछन् । पोल्यान्ड, बुल्गेरिया र हंगेरी पनि छन् । यी सबै देश हाम्रा थिए ।’ एलेक्सीलाई सन् १९९० को दशकको आर्थिक उथल–पुथलको पनि सम्झना छ । तर उनलाई लागेको छ कि रुस आफ्नै घुँडामा उभिसकेको छ ।
एलेक्सी भन्छन्, ‘यो एक जैविक प्रक्रिया हो । जब एउटा बच्चा बिरामी हुन्छन्, बिरामीसँग लड्नका लागि थप क्षमता विकसित गर्छन् । सन् १९९० को दशकमा रुस रोगबाट ग्रस्त भएको थियो । रोगले हामीलाई थप बलियो बनायो ।’