आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

१२ वर्षे बालिकाको शव गाडेको अवस्थामा फेला, बलात्कारपछि हत्या गरिएको आशंका

शुक्रबार, १३ फागुन २०७८, ११ : ५२
शुक्रबार, १३ फागुन २०७८

 मोरङको लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र १२ वर्षीय बालिकाको शव फेला परेको छ । लेटाङ–८, ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वनभित्र गाडिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।

उनका अनुसार शव नग्न अवस्थामा फेला परेको हो । प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

प्रहरीका अनुसार जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत करुणा राई बुधबार दिउँसो ४ बजेतिर विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले शव फेला पारेको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ । बलात्कारपछि हत्या गरेर शव गाडिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप भन्न सकिने डीएसपी मुकारुङले बताए । उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एक वृद्धसहित दुई जना पुरुषलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप