मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन युद्ध : नेपालमा कस्तो असर पर्छ ?

खाने तेल, पेट्रोलियम पदार्थ र सुनचाँदीको मूल्य बढ्ने
शुक्रबार, १३ फागुन २०७८, ११ : ४५
शुक्रबार, १३ फागुन २०७८

युरोएसियाली मुलुक रुस–युक्रेन युद्धको असर नेपालसम्म पर्न थालेको छ । रुसले युक्रेनमाथि सैन्य हमला सुरु गर्नुभन्दा अघिदेखि आर्थिक क्षेत्रमा पर्न थालेको असर हमलासँगै झनै बढेको हो । रुस र युक्रेनबीच युद्धको सुरूवातसँगै नेपालमा सुन, चाँदी, खानेतल र पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्न सुरु गरिसकेको छ ।

रुस र युक्रेन आपसमा युद्ध भिडिरहँदा विश्व बजार नै त्यसको बाछिटाले ग्रस्त हुने छ । त्यससँगै नेपालको बजारसमेत यी दुई मुलुकको युद्धको चपेटाबाट बच्न नसक्ने देखिएको छ । खासगरी, नेपालले विदेशबाट आयात गर्ने वस्तुहरूको मूल्य आकासिने देखिएको छ भने औद्योगिक कच्चा पदार्थको मूल्य समेत उकालो लाग्ने देखिएको छ । यस्तै, ती दुई मुलुकबाट हुने आयात र निर्यात समेत स्वतः प्रभावित बन्ने छ ।

पेट्रोलियम पदार्थ
रुस र युक्रेन आपसमा युद्ध लडिरहँदा त्यसको प्रत्यक्ष प्रभावस्वरूप नेपाल पेट्रोलियम पदार्थको मूल्यवृद्धिको भूमरिमा पिल्सिन्छ । यी दुई मुलुक युद्धमा जानुअघि नै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगिसक्यो । यस्तै, पेट्रोलको खरिद लागत प्रतिलिटर १६१ रुपैयाँभन्दा माथि छ । यसैगरी, डिजेलको बिक्री मूल्य प्रतिलिटर १२८ रुपैयाँ र खरिद लागत १४० रुपैयाँ प्रतिलिटर छ ।

आज रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि युद्धको घोषणा गरेसँगै पेट्रोलियम पदार्थको कच्चा मूल्य प्रतिब्यारेल १०३ अमेरिकी डलर पुगिसक्यो । जसको प्रत्यक्ष असर नेपालसम्म आइपुग्ने निश्चित छ । नेपाल आयल निगमलाई इन्डियन आयल निगम (आईओसी) ले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । यस हिसाबमा अबको मार्च १ तारिखमा आईओसीले पठाउने नयाँ मूल्यसूची थप बढेर आउने निश्चित छ ।

खासगरी, युक्रेनमाथि सैन्य हमलामा अघि सरेको रुस आफैँमा ठूलो पेट्रोलियम पदार्थको उत्पादक र भण्डारण रहेको देश हो । रुस विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक र दोस्रो ठूलो प्राकृतिक ग्यास उत्पादक राष्ट्र हो । रुसले दैनिक साढे १० मिलियन ब्यारेल तेल उत्पादन गर्दै आएको छ, जुन अमेरिका र साउदी अरेबियापछि सबैभन्दा धेरै हो ।

निगमका प्रवक्ता बिनितमणी उपाध्याय पछिल्लो घटनाक्रमले नेपाललाई थप समस्यामा पार्ने बताउँछन् । रुसले युक्रेनमाथि हमला गरेको घोषणा गर्नसाथ कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ अमेरिकी डलर पुगेको देख्दा नेपाल थप समस्यामा पर्न सक्ने देखिएको उनको भनाई छ ।

‘पछिल्लो ४÷५ दिनमा कच्चा तेलको मूल्य १० डलरभन्दा बढीले बढेको छ । यस हिसाबले अब थप मूल्य बढेर आउने सम्भावना छ,’ उनले भने, ‘अब निगमलाई कसरी धान्ने भन्नै विषय नै अन्योलमा छ । तर, निगम सरकारी निकाय भएकाले यसलाई बचाउन सरकारले नै केही सोचेको होला ।’ 

खाने तेल

रुस युक्रेनबीचको युद्धका कारणले नेपालमा पेट्रोलियम पदार्थपछि खाने तेलमा सबैभन्दा बढी प्रभाव पर्छ । हाल नेपालले युक्रेनबाट खाने तेलको कच्चा पदार्थ आयात गर्दै आएको छ । युक्रेनबाट चालू आर्थिक वर्षको सात महिनामा ७९ करोड ४७ लाख रुपैयाँको कच्चा भटमास तेल आयात भएको छ ।

यस्तै, यस अवधिमा ९ अर्ब ५४ करोड ६३ लाख रुपैयाँको कच्चा सुर्यमूखी तेल आयात र करिब ३ अर्ब ९५ करोड रुपैयाँको तोरीका दाना आयात भएको भन्सार विभागले जानकारी दिएको छ । रुसले युक्रेनमाथि सैन्य हमला गरेसँगै नेपाल आउने सबै प्रकारका कच्चा तेलको आयात रोकिने छ । फलस्वरुपः कोरोना महामारीका कारण झण्डै दोब्बर बनेको खाने तेलको मूल्य थप बढ्ने देखिन्छ ।

अमेरिकाको ‘यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चर’का अनुसार सन् २०२१–२२ मा युक्रेनबाट हुने भटमास तेलको निर्यात २ मिलियन टनले पुगेको थियो । अघिल्लो वर्षमा युक्रेनबाट १.७० लाख टन भटमास तेल निर्यात गरेको थियो । यस्तै, सन् २०२१ मा युक्रेनको १०६ मिलियन हेक्टर क्षेत्रफलमा भटमासको खेती भएको अनुमान लगाइएको छ ।

यस आधारमा युक्रेन विश्वको सबैभन्दा ठूलोमध्येको एक भटमास निर्यातकर्ता मुलुक हो । उक्त मुलुकमाथि रसियाले हमला गर्नसाथ निर्यात रोकिने र विश्वव्यापीरूपमा खाने तेलको मूल्य बढ्ने सम्भावना देखिन्छ । यसैगरी, युक्रेन विश्वकै सबैभन्दा ठूलो सूर्यमुखी उत्पादक हो । सन् २०१७ को तथ्यांकअनुसार युक्रेनमा १४ मिलियन टन सूर्यमुखी उत्पादन भएको अनुमान छ ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले रुस युक्रेनबीचको युद्धको प्रभाव नेपालसम्म पर्ने बताए । उनले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा त्यसको प्रभाव नेपाली बजारसम्म पर्ने र प्रभावित वस्तुको सूचीमा खाने तेलको मूल्य पनि पर्ने बताए । तर, आयातकर्ताले युक्रेनबाट आउने खानतेलको कच्चा पदार्थको आयातको विकल्प खोज्नुपर्ने बताए । ‘युक्रेनबाट आयात हुने कच्चा तेलको विकल्प खोजिनुपर्छ,’ उनले भने, ‘उद्योगी र उत्पादकहरूले रुस र युक्रेन मामिलाको बहाना बनाएर खाने तेलको मूल्य हचुवामा बढाउन मिल्दैन ।’

सुन र चाँदी
आज नेपाली बजारमा सुनको मूल्य एकै दिन २५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै, अन्तर्राष्ट्रिय बजारमा प्रतितोला सुनको मूल्य १.६७ प्रतिशतले बढेर १०२३ अमेरिकी डलर पुगेको छ ।

रुस र युक्रेन आपसी युद्धमा जेलिइरहँदा विश्वभरमा सुनको उत्पादन प्रभावित बन्ने छ । यस्तै, लगानीकर्ताहरूको ध्यान समेत सुनतर्फ मोडिनेछ । लगानीकर्ताले अन्य क्षेत्रको लगानी कटाउँदै सुनमा लगानी बढाउँदा सुनको मूल्य उकालोतर्फ लाग्ने छ ।

यसका साथै, रुस विश्वको तेस्रो ठूलो सुन उत्पादक समेत हो । रुसले वार्षिक ३०० मेट्रिक टन सुन उत्पादन तथा विश्वबजारमा आपूर्ति गर्दै आएको छ । रुस युद्धमा होमिएपछि उसको उत्पादन र विश्वबजारमा आपूर्ति समेत करिब–करिब ठप्प हुने छ । जसको परिमाणस्वरूपः विश्वबजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने छ । यसैगरी, सुनसँगै चाँदीको मूल्य समेत उकालो लाग्ने सम्भावना देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भूराजनीतिक अवस्थाका कारण अन्तर्राष्ट्रिय सुनको मूल्य बढ्ने सम्भावना रहेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपाल त्यसको प्रभावबाट नबच्ने बताउँदै भने, ‘हामी सुनमा पूर्णतः परनिर्भर छौँ । विदेशी बजारबाट आयात गरेर स्वदेशी माग धान्नु पर्छ ।’ सोहीकारण, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा समेत बढ्ने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप