सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरी भन्छ– कोभिड संक्रमण र लकडाउनपछि आफन्तबाटै हत्या बढेको छ

प्रदेश १ मा चालू आर्थिक वर्षको माघ मसान्तसम्म आफन्त कै संलग्नतामा ३६ जनाको हत्या
शुक्रबार, १३ फागुन २०७८, ११ : ३३
शुक्रबार, १३ फागुन २०७८

विराटनगर । पछिल्लो समय परिवारका सदस्यबीच नै हुने आपराधिक घटना बढ्न थालेको छ । प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो समय एउटै परिवारका एक सदस्यले अर्को सदस्यको हत्या गरेको घटनामा बढोत्तरी भएको हो ।

प्रदेश १ प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७५/०७६ मा आफन्तबाटै मारिनेको संख्या ३५ थियो । आर्थिक वर्ष ०७६/०७७ मा उक्त संख्या बढेर ३७ पुग्यो । आर्थिक वर्ष ०७७/०७८ मा यो संख्या अझै बढेर ५५ पुग्यो । चालू आर्थिक वर्ष २०७८/०७९ को माघसम्म आफन्तबाटै ३६ जनाको हत्या भइसकेको छ । 

फागुन महिनामा मात्रै पनि धरानको जंगलमा भेटिएको दिनेश भण्डारीको शव होस् वा संखुवासभाको सुमन दर्जीको हत्या होस्, यी घटनामा पनि आफन्त नै संलग्न रहेको प्रहरीको निष्कर्ष छ । यस्तै फागुन २ गते झापाको भद्रपुरमा अमर बहादुर तामाङले चक्कु प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेको थिए । गत माघ १८ गते मोरङको पथरी शनिश्चरेका कमल श्रेष्ठले आफ्नै आमाको हत्या गरेका थिए ।

यसरी आफन्तबाटै हत्याको घटना बढिरहेको कारणबारे धेरै मानिसले सोधिरहेको प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी बताउँछन् । उनका अनुसार कोरोना महामारीका समयमा यस प्रकारको घटना बढेको हो ।

‘पहिलो कुरा त मानिस सुरुमा बेरोजगार भए, तनाव त्यहाँबाट सुरु भयो । शहरतिर बसेका कतिपय मानिस बिहान–बेलुका छाक टार्नलाई नै काम गर्नुपरेको अवस्था छ,’ बिसीले भने, ‘अर्को कुरा रेमिट्यान्स आउन बन्द भयो, सामाजिक सञ्जाल कोभिडको बेलामा एकदमै धेरै एक्टिभ भएको छ र त्यसबाट पनि अपराध बढेको छ ।’

प्रहरीका अनुसार अधिकांश घटना सम्पत्तिकै कारण भएको देखिन्छ । ‘घरभित्रकै दाजुभाइबीच अंशको कारण विवाद भयो, यसअगाडि चाहिँ दाइ घर आउँदा भाइ विदेश हुन्थ्यो, परिवारको अन्य सदस्यहरु बाहिर हुनसक्थे,’ बिसीले भने, ‘कोभिडको समयमा लकडाउनका कारण विदेशबाट आएकाहरूले श्रीमतीको चर्तिकला देखे, श्रीमतीले श्रीमान्को चर्तिकला देखेपछि पनि हत्याका घटना भएका छन् ।’

०७६ चैत ११ देखि कोभिडका कारण विभिन्न किसिमका लकडाउन भए । मानिस बेरोजगार भए । विदेश गएका नागरिक नेपाल आए । घरबाहिर निस्कन नसकेको अवस्थामा डिप्रेसन, नैराश्य देखापरेको कारण परिवार भित्रै झै–झगडा भयो । यस्तो अवस्थामा पारिवारिक कलह बढेको र हत्यासम्मका घटना भएको तथ्याङ्कले देखाउँछ ।

यसखालका घटना न्यूनीकरण गर्न प्रहरीको पनि केही कमजोरी देखिएको छ । ‘अबका दिनमा हामीले जनचेतनामूलक कार्य अगाडि बढाउने सोचेका छौं,’ डिआइजी बिसीले भने, ‘नेपाल सरकारले पनि बेरोजगारी समस्या हटाउन ध्यान दिनुपर्छ, हामीले पनि त्यस्ता घटना हुने स्थानहरुमा प्रहरी–समुदाय साझेदारीमा जनचेतनामूलक कार्यक्रम गरेर अगाडि बढ्ने योजना बनाएका छौं ।’

समाजशास्त्री, मानवशास्त्री  तथा उपप्राध्यापक डिल्ली प्रसाईले व्यक्तिवाद र भोगविलाशले आफन्तबीचमा झैझगडा भइरहेको बताए । उनले आधुनिकीकरणको प्रभाव, सामाजिक संजालको नक्कलको परिपाटीले पनि नेपाली समाजको सामाजिक संरचनामा क्षति पुर्‍याइरहेको बताए ।

‘अहिलेको चरण भनेको मानिस कसरी बढीभन्दा बढी चिनिने, कसरी बढी सम्पत्ति कमाउने र कसरी भोगविलाश गर्ने भन्ने व्यक्तिवादी सोचाईमा अगाडि बढिरहेको छ,’ उनले भने, ‘अहिले पारिवारिक नियन्त्रण प्रणाली पनि गुम्दै गइरहेको छ ।’

विगतको तुलनामा अहिले मानवीय सम्बन्धमा पनि क्षयीकरण भइरहेको उनको भनाइ छ । ‘आर्थिक प्रलोभन, शारीरिक हिंसा, अर्काको बहकाउलगायत कारणले हत्याका शृङ्खला बढिरहेको छ,’ उनले भने ।

आफन्तबाटै हत्याका घटना हुनुमा मनोसामाजिक पाटो पनि रहेको उनको भनाइ छ । ‘जस्तो वैदेशिक रोजगारका कारण पनि समस्या सिर्जना भएको छ । कोभिडपछि नियमित गतिविधिमा रोकावट आउनु, रोजगार गुमाउनु, सामाजिक संजालको भुलभुलैयामा पर्नु, संसारमा प्रयोग भएका आपराधिक घटनालाई सामान्य रुपमा बुझ्न थाल्नुले पनि मानिसको मनोविज्ञानमा असर पारेको छ र घटनामा वृद्धि भएको छ,’ उनले भने ।

कतिपय हत्यामा परपुरुष, परस्त्रीसँगको सम्बन्ध, आर्थिक लेनदेन, अंशबण्डा पनि कारकका रुपमा देखिएका छन् । सम्पत्तिकै लोभमा मोरङको पथरीमा आमालाई छोराले हत्या गरे । आमाछोराको जन्मसिद्ध नाता पनि हत्यासम्म जान सक्छ र ? भन्ने गम्भीर प्रश्न नेपाली समाजमा उठेको छ । ‘श्रीमान श्रीमतीको सम्बन्ध भनेको सम्झौताको नाता हो, त्यसमा खटपट हुनसक्छ । तर, आमाछोरासम्म जानु भनेको चाहिँ कहालीलाग्दो घटना हो,’ प्रसाईले भने ।

उनका अनुसार अहिले मानिसभित्र समवेदना गुम्दै गएको हो कि जस्तो पनि लाग्छ । राज्यले परिवारदेखि समाजका अंग इकाईमा राज्यको नियन्त्रण गुम्दै गएको त होइन भन्ने प्रश्न पनि उठेको उनले बताए ।

रोजगारीको अवस्था सिर्जना गर्ने, सामाजिकीकरणको प्रक्रियालाई स्कुलको पाठ्यक्रममै समावेश गरेर अध्ययन अध्यापन गराउने, जीविकोपार्जनको अवस्थालाई ध्यान दिने, दण्डहीनताको अवस्थालाई पनि अन्त्य गर्नेगरी अगाडि बढे यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप