मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

पुर्जा ‘सद्भावना दूत’ नियुक्त

शुक्रबार, १३ फागुन २०७८, १० : ३९
शुक्रबार, १३ फागुन २०७८

कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडवील एम्बेसडर फर नेपाल्ज  टुरिजम) बनेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेका हुन् । मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई बिहीबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको छ ।

मन्त्री आलेले आरोही पुर्जाको साहसिक हिमाल आरोहण यात्राको सम्मान गर्दै थप  सफलताको शुभकामना दिए । उनले आरोही पुर्जालाई पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु आफ्नो कार्यकालको स्मरणीय काम मध्येकै एक रहेको उल्लेख गरे ।

आरोही पुर्जामार्फत नेपालको पर्यटन क्षेत्रको व्यापक प्रचार हुने र कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय फेरि माथि उठ्ने विश्वास रहेको मन्त्री आलेले बताए ।  यस्तै आरोही पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफूलाई थप जिम्मेवार महसुस गरेको बताउँदै आगामी दिनमा नेपाललाई विश्वसामु चिनाउन आफू सदैव लागिपर्ने बताए ।

उनले भने, “मलाई सद्भावना दूत नियुक्त गरेर नेपाल सरकारले थप जिम्मेवार बनाएको छ, म नेपाल देश विश्वसामु चिनाउन हरपल लाग्ने छु ।” पर्वतारोही पुर्जाले सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर विश्व रेकर्ड कायम गरेका छन् । आरोही पूर्जाले निर्माण गरेको ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री संसारभर चर्चित रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप