रूसले युक्रेनमा किन हमला गऱ्यो, पुटिन के चाहन्छन् ?
रूसले बिहीबारदेखि युक्रेनमाथि सैनिक हमला थालेको छ । तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कयौं महिनासम्म युक्रेनमा रूसले हमला गर्ने योजना नबनाएको बताइरहेका थिए । बिहीबार चाहिँ टेलिभिजन प्रत्यक्ष प्रसारणमा पुटिन आए र युक्रेनविरुद्ध विशेष सैन्य कारबाही घोषणा गरे ।
‘मिन्स्क शान्ति सम्झौता’ अन्त्य गर्ने र युक्रेनका दुई विखण्डनकारी क्षेत्रमा सेना पठाउने निर्देशनलगत्तै पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही घोषणा गरेका हुन् । पुटिनको यो घोषणापश्चात युक्रेनको राजधानी कियभसमेत देशका अन्य क्षेत्रमा गोलाबारीको आवाज सुनिएको खबरहरू आइरहेका छन् ।
रूसले गत महिना युक्रेनको सीमानजिक करिब २ लाख सैनिक तैनाथ गरेको थियो । ठूलो संख्यामा रूसी सैनिक सीमानजिकै तैनाथ भएलगत्तै रूसले युक्रेनमा हमला गर्ने आंकलन भएको थियो । तर, रूसले यो आंकलन गलत भएको जिकीर बारम्बार गरिरहेको थियो ।
यतिखेर रूसले युक्रेनमा हमला गर्ने आंकलन यथार्थमा बदलिएको छ । स्थिति खराब भएको छ र युक्रेनका कयौं शहरमा रूसबाट हमला थालिएको समाचार र तस्वीरहरू सार्वजनिक भइरहेका छन् । रूसले आफ्नो छिमेकी देशविरुद्ध हमला किन थाल्यो ? पुटिन आखिर के चाहन्छन् त ?
यो हमलाको कारण बुझ्न ८ वर्ष अघि अर्थात सन् २०१४ को घटना याद गर्नुपर्छ । त्यतिखेर पनि रूसले युक्रेनमाथि हमला गरेको थियो । युक्रेनको पूर्वी भागमा रूस समर्थित विद्रोहीहरू युक्रेनी सेनासँग भिडन्त गरिरहेका थिए । सो समयदेखि आजसम्म भिडन्त लगातार जारी छ ।
यूरोसियाली दुई देशबीच टकराव कम गर्न मिन्स्क शान्ति सम्झौता पनि भयो । तर, टकराव अन्त्य भएन । सोही कारण युक्रेनमा सेना पठाउन आफू बाध्य भएको पुटिनको दाबी छ । तर, संयुक्त राष्ट्रसंघका महासचिवले रूसद्वारा ‘युक्रेनको विखण्डनकारी राज्यमा शान्ति कायम गर्ने उद्देश्यले सेना पठाइएको’ तर्कलाई अस्वीकार गरिसकेका छन् । रूस संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक स्थायी सदस्य पनि हो ।
पश्चिमा देशले यस अघि नै रूसले युक्रेनमा हमला गर्ने आशंका जनाइरहेका थिए । पछिल्लो केही महिनायता त ती देशले युक्रेनमाथि रूसी हमला निश्चित रहेको दाबी नै गरिरहेका थिए । अन्ततः पश्चिमाहरूको आशंका र दाबीलाई सत्य सावित गर्दै रूसले युक्रेनमाथि हमला थालेको हो ।
युक्रेनले पनि आफ्ना कैयन शहरमा रूसले हमला गरेको जानकारी दिइसकेको छ । राजधानी कियभ, निप्रो र खारकीएफ यतिखेर रूसी हमलाको केन्द्रमा छन् । ती शहरबाट लाखौं मानिसहरू ज्यान जोगाउन सुरक्षित मानिएका स्थानतर्फ भागिरहेका छन् ।
किन चिढिए पुटिन ?
रूसी राष्ट्रपति पुटिनले हालै युक्रेनलाई रूस समर्थित विखण्डनकारी रहेका पूर्वी क्षेत्रमा सैनिक कारबाही बन्द नगरे सम्भावित रक्तपातको जिम्मेवार स्वयम् युक्रेन हुने चेतावनी दिएका थिए । यस्तो चेतावनी दिनुको कारण आफूपक्षधर विखण्डनकारीविरुद्ध भएको युक्रेनी कारबाही मात्रै थिएन ।
लामो समयदेखि रूसले यूरोपेली संघ (ईयू), अमेरिकी सैन्य गठबन्धन नेटो र अन्य यूरोपेली संस्थासँग युक्रेनको सम्बन्धप्रति विरोध जनाइरहेको थियो । पटिनले यतिसम्म तर्क गरिरहेका छन् कि वास्तवमा युक्रेन कहिल्यै पनि एक देश थिएन । उनले युक्रेनलाई पश्चिमा देशको कठपुतली बनिरहेको आरोप लगाइरहेका छन् ।
पुटिन यो सुनिश्चित गर्न चाहन्छन् कि युक्रेन अमेरिकी सैन्य गठबन्धन नेटोमा सामेल नहोस् । छिमेकी देश युक्रेन सो गठबन्धनमा सामेल हुँदा रूसलाई सुरक्षा खतरा हुने पुटिनको तर्क छ । उनले युक्रेन र पश्चिमा मुलकसँग युक्रेनलाई त्यस्ता गठनबन्धनमा नराख्ने सुनिश्चितता मागिरहेका थिए । युक्रेनलाई त उनले सैनिकीकरण बन्द गर्न र कुनै गुटको हिस्सा नबन्न चेतावनी दिइरहेका थिए ।
तत्कालीन सोभियत संघको हिस्सा युक्रेनमा रूसी समाज र संस्कृतिको गहिरो प्रभाव छ । त्यहाँ रूसी भाषा बोल्ने मानिसहरूको संख्या पनि निकै धेरै छ । तर, २०१४ मा रूसले हमला गरेपछि दुई देशबीचको सम्बन्ध निकै खराब बनेको थियो । सो वर्ष रूस समर्थक मानिने युक्रेनी तत्कालीन राष्ट्रपतिले सत्ता छाड्नुपरेको थियो । लगत्तै रूसले युक्रेनमा हमला गरेको थियो ।
खतरनाक कदम !
युक्रेनमा विखण्डनकारी रुझान बढी रहेको लुहान्स्क र दोनेत्स्क इलाकामा अहिले रूस समर्थक विद्रोहीहरूले अप्रत्यक्ष शासन गरिरहेका छन् । रूसी राष्ट्रपति पुटिनले केही दिनअघि यी इलाकालाई स्वतन्त्र राज्यको मान्यता दिने घोषणा गरिसकेका छन् । यसको मतलब हो – रूसले आफ्ना सैनिक ती इलाकामा रहेको स्वीकार्नु । अझ, ती इलाकामा रूसले अब आफ्नो सैनिक आधार शिविर बनाउन सक्छ भन्ने पनि हो ।
मिन्स्क सम्झौताअनुसार ती इलाकालाई युक्रेनले विशेष दर्जा दिनुपर्ने थियो । तर, रूसी कारबाही कारण अब यो सायदै सम्भव हुन सक्छ । अब युक्रेनको अवस्था यसकारण पनि खतरनाक भएको कि विद्रोही दोनेत्स्क र लुहान्स्कका केही क्षेत्रमा मात्रै सीमित छैनन् । उनीहरूले यी दुवै राज्यलाई पूर्णतः आफ्नो कब्जामा रहेको बताइरहेका छन । रूसी राष्ट्रपति पुटिनले पनि भनेका छन्, ‘हामी उनीहरूलाई मान्यता दिन्छौं । यसको अर्थ हामीले उनीहरूका सबै कागजात र प्रमाणलाई मान्यता दिनु हो ।’
युक्रेनमाथि पूर्वी हिस्सामा नरसंहार गरेको आरोप लगाउँदै रूसले युद्धका लागि आवश्यक वातावरण बनाउँदै थियो । मस्कोले युक्रेनको विद्रोही नियन्त्रित इलाकामा ७ लाख मानिसहरूका लागि रूसी राहदानी नै जारी गरिसकेको छ । रूसले यसो गर्नुको कारण युक्रेनका ती क्षेत्रमा भएका आफ्ना मानिसहरूको रक्षा गर्ने वहानामा युक्रेन कारबाहीलाई जायज ठह¥याउन खोजेको बुझिन्छ ।
रूसले अब के गर्ला ?
रूस–युक्रेन युद्ध अन्त्य गर्न तत्कालै कुनै कूटनीकि समाधान निस्कने सम्भावना देखिएको छैन । सैन्य हमला नै थालिसकेकाले रूसले अब युक्रेनको पूर्वी, उत्तरी र दक्षिणी इलाकामा हमला गर्दै त्यहाँको निर्वाचित सरकारलाई अपदस्थ गर्नसक्छ ।
युक्रेनमाथि कारबाही गर्न रूसले क्रिमिया, बेलारूस र युक्रेनको उत्तरी सीमा क्षेत्रमा ठूलो संख्यामा आफ्ना सैनिक तैनाथ गरेको छ । तर, यस दौरान रूसले युक्रेनबाट फौजी प्रतिरोध सामना गर्नुपर्ने स्थिति पनि निम्तनसक्छ । किन कि, पछिल्ला केही वर्षयता युक्रेनले आफ्नो सैनिक शक्ति पहिलेभन्दा प्रभावकारी बनाएको छ । युक्रेनले १८ देखि ६० वर्षसम्मका सबै नागरिकलाई सेनाको ‘रिजर्भ’ सदस्यमा भर्ती हुन आग्रह गरिसकेको छ ।
मानव बसोबास धेरै भएका युक्रेनका शहरी क्षेत्रमा युक्रेनका शहरी क्षेत्र रूसी सेनाका लागि खतरनाक हुनसक्ने शीर्ष अमेरिकी सैन्य अधिकारी मार्क माइली बताउँछन् । तर, रूससँग अन्य धेरै विकल्पहरू पनि छन् । युक्रेनलाई उडानरहित क्षेत्र घोषणा गर्न, त्यहाँको बन्दरगाहमा अवरोध गर्न र अर्को छिमेकी मुलुक बेलारूसमा आफ्ना परमाणु हतियार तैनाथ गर्ने विकल्पहरू रूससँग बाँकी नै छ ।
युक्रेनविरुद्ध साइबर हमलाको विकल्प पनि रूससँग बाँकी नै छ । यसै वर्ष जनवरीमा युक्रेनको सरकारी वेभसाइटलाई साइबर हमलाकारीले ठप्प पारेका थिए । फेब्रुअरीमा युक्रेनका २ वटा सबैभन्दा ठूला बैंकलाई पनि ह्याकरहरूले निशाना बनाएका थिए ।
पश्चिमी देशसँग के विकल्प ?
युक्रेन समर्थित पश्चिमा देशरूले रूसी आक्रमणलाई अवैध भन्दै कडा आलोचना गरेका छन् । राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले पनि रूसले युक्रेनमाथि गरेको कारबाहीप्रति आलोचना गरेका छन् । उनले पछिल्लो आक्रमणलाई युक्रेनको क्षेत्रीय अखण्डता र सम्प्रभुतामाथिको हमला भनेका छन् ।
नेटो गठबन्धनले युक्रेनमा सेना पठाउने कुनै योजना नरहेको जनाएको छ । तर त्यहाँ सल्लाहकार, हतियार र फिल्ड अस्पतालका माध्यमबाट सहयोग पु¥याउने उल्लेख गरेको छ । यी सबै घटनाक्रम र प्रतिक्रियाहरू हेर्दा युक्रेनमा हमला गरेको रूसविरुद्ध अब विश्वसँग प्रतिबन्ध गराउने विकल्पमात्रै बचेको अनुमान लगाउन सकिन्छ ।
युक्रेनमाथि आक्रमण भएपछि जर्मनीले हालै रूसबाट विस्तार गरिएको नर्डस्ट्रीम–२ पाइपलाइन सञ्चालन अनुमति रोकिदिएको छ । यूरोपेली संघले पनि रूसविरुद्ध कडा प्रतिबन्ध लगाउनेबारे सोचिरहेको जनाएको छ । युक्रेनका २ विखण्डनकारी राज्यलाई मान्यता दिने पुटिनको प्रस्तावलाई संसदमा साथ दिने ३५१ सांसदलाई पनि पश्चिमाले निशाना बनाउनसक्ने अनुमान छ ।
अमेरिकाले पश्चिमा वित्तीय संस्थानसँग रूसको सम्बन्ध टुटाइरहेको जनाएको छ । साथै, रूसी उच्चपदस्थ व्यक्तिहरूमाथि पनि कारबाही तयारी भइरहेको जानकारी दिएको छ । बेलायतले रूसका ५ ठूला बैंक र ३ जना अर्बपतिमाथि कारबाही थालेको छ । तर, यस्ता चेतावनी र अवरोध रूसले दशकौंदेखि खेपिरहेको छ ।
यद्यपि, यी देशहरूले तत्कालै रूसविरुद्ध ठूलो स्तरको प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छैनन् । अमेरिकाले रूसका वित्तीय संस्थान र मुख्य उद्योगहरूलाई निशाना बनाउन खोजेको छ । यूरोपेली संघले मस्को नियन्त्रित वित्तीय बजारतर्फ नजर लगाइरहेको छ । बेलायतले पुटिनसँग निकट सम्बन्ध राख्ने मानिसहरूले लुक्ने ठाउँ पनि नपाउने चेतावनी दिएको छ । उसले रूसी उद्योगले गर्ने अमेरिकी डलर र पाउन्डको कारोबार संकुचित पार्ने प्रयास गरिरहेको छ ।
आर्थिक रूपले रूसमाथि हुने कारबाहीका कारण उसको बैंकिङ प्रणाली इन्टरनेशनल स्वीफ्ट पेमेन्टबाट अलग हुनसक्छ । तर, अमेरिकी र यूरोपेली अर्थव्यवस्थामा पनि यसको ठूलो प्रभाव पर्नेछ ।
यता, बाल्टिक मुलुक र पोल्याण्डमा नेटोले ५ हजार सैनिक परिचालन गरेको छ । रोमानिया, हंगेरी र स्लोभाकियामा पनि ४ हजार सैनिक परिचालन भएको छ । लामो समयदेखि जारी तनावबीच रूसका लागि सत्यको पल निम्तिसकेको छ । नेटोसामू उसले २ वटा माग राखेको छ ।
पहिलो–नेटोको अब विस्तार नहोस् । यसका लागि पुटिनले नेटोबाट एक भरपर्दो र कानूनी रूपले नै बलियो आश्वासन चाहिरहेका छन् । रूसका उपविदेशमन्ी सेर्गेई रिभकोभले पनि हालै भनेका छन्, ‘हाम्रा लागि यो निकै जरुरी छ कि युक्रेन कहिल्यै पनि नेटोको सदस्य नबनोस् ।’ पुटिनले पनि आफू पछि नहट्ने र रूसले आरामसाथ पश्चिमाको गतिविधि हेरेर नबस्ने चेतावनी दिइसकेका छन् ।
सन् १९९४ मा रूसले एक सम्झौतामा हस्ताक्षर गर्दै युक्रेनको स्वतन्त्रता र सम्प्रभुताको सम्मान गर्ने सहमति जनाएको थियो । तर, गत वर्ष पुटिनले एक लामो लेख लेख्दै रूसी र युक्रेनी जनता एकै राष्ट्रको हिस्सा भएको तर्क गरिदिएका थिए । यतिखेर पुटिन अर्को दाबी गर्दैछन् कि युक्रेनको गठन कम्युनिष्ट रूसले गरेको थियो । सन् १९९१ मा सोभियत संघको विघटन ऐतिहासिक रूस टुट्नुसमान भएको उनको भनाइ छ । यदि युक्रेन नेटोको हिस्सा बनेमा उसले रूसमा गाभिएको क्रिमियामा पुनः आक्रमण गर्नसक्ने पुटिनको अर्को तर्क छ ।
पुटिनको मागबारे के भन्छ नेटो ?
अहिले नेटोमा ३० राष्ट्र सदस्य छन् । हरेक राष्ट्रलाई गठबन्धनमा सामेल हुने ढोका खुलै रहेको नेटोले बताउने गरेको छ । यी ३० वटै देश यो नीतिबाट पछि हट्न तयार देखिँदैनन् ।
युक्रेनले नेटोमा सामेल हुन निर्धारित समय र सम्भावना स्पष्ट गर्न माग राखिरहेको थियो । तर, तत्कालीन जर्मन चान्सलर एङ्गेला मर्केलले युक्रेन तत्कालै नेटोमा सामेल हुन सम्भव नरहेको बताइदिएकी थिइन् । अर्को समस्या के पनि हो भने कुनै नेटो सदस्य देशले यसको सदस्यता त्याग्न त्यति सम्भव देख्दैनन् ।
पश्चिमा मुलुकले सन् १९९० मा पूर्वतर्फ नेटो एक इञ्च पनि अघि नबढ्ने वाचा गरेको, तर यो वाचा तोडेको ठान्छन् । पुटिनले जुन समयको कुरा गरिरहेका छन्, त्यतिखेर सोभियत संघ अस्तित्वमा थियो । तत्कालीन सोभियत राष्ट्रपति मिखाइल गोर्भाचोभले पूवी जर्मनीको सन्दर्भमा नेटोको उल्लेखित प्रसंगबारे पश्चिमासँग कुरा गरेका थिए । गोर्भाचोभपछि नेटो विस्तारको सवाललाई रूसी नेतृत्वले नजरअन्दाज गरिरहेको थियो । पुटिनको उदयपछि रूस अहिले पुनः पश्चिमतर्फ निशाना साँध्दै अघि बढेको छ ।