शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कुकुरको टोकाइबाट महिलाको मृत्यु भएपछि गाउँमा त्रास

बिहीबार, १२ फागुन २०७८, १९ : २५
बिहीबार, १२ फागुन २०७८

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ । रेबिजका कारण वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो । 

काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त सबैभन्दा बढी त्रसित छन् । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७/८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए । 

एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरे पनि टोकेको २०/२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको २८/२९ दिनतिर घाउ भएका दाहिने हात चल्नै छाडेपछि बिरामीलाई टिचिङ अस्पताल पुर्‍याइएको थियो । टिचिङले टेकुमा रेफर गरे लगत्तै बिरामीको मृत्यु भएको हो । कुकुरले टोक्ने बित्तिकै दिइनुपर्ने खोप नपाउँदा बिरामीको मृत्यु भएको अस्पतालले जवाफ दिएको राई बताउँछन् । 

'कुकुरले टोक्ने बित्तिकै रोकथामका लागि छुट्टै खोप दिइनुपथ्र्यो रे । त्यही भएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामी निको नभएको अस्पतालले जवाफ दिएको छ,' राईले भने, ‘कमसेकम जिल्ला अस्पतालले यत्ति जानकारी दिएको भए पनि बिरामीलाई बचाउन सकिन्थ्यो । आफन्त गुमाउन पर्दैनथ्यो भन्ने हाम्रो बुझाई छ ।’ जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले भने बिरामीलाई ढिलोगरी अस्पताल पुर्‍याएकाले एन्टी रेबिज भ्याक्सिनले काम नगरेको हुनसक्ने बताए । 

२५ जनालाई एन्टी रेबिज भ्याक्सिन 

मृतक वृद्धाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका २५ जनालाई ११ फागुनमा एन्टी रेबिज भ्याक्सिनको पहिलो मात्रा दिइएको छ । हाललाई परिवार र नजिकका छरछिमेकलाई एन्टी रेबिज भ्याक्सिन दिइएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए ।

बुइपा र राजापानीमा अझै पनि मृतकको सम्पर्कमा रहेका आफन्तहरू खोपबाट छुटेको हुनसक्ने स्थानीय बताउँछन् । रेबिजको आतंक फैलिएको ठाउँमा तत्काल खोप व्यवस्थापनमा स्थानीय सरकार र जिल्ला अस्पतालले बेवास्ता गरेको युवा नेता निसन राईले दाबी गरे । 

जन्तेढुंगामा कुकुरको बिगबिगी 

खोटाङको जन्तेढुंगा गाउँपालिकामा सामुदायिक कुकुरको बिगबिगी फैलिएको छ । बाँदर, स्याल धपाउनका लागि पालिएका कुकुर बजार तथा अन्यत्र छाडिँदा सामुदायिक कुकुरको बिगबिगी फैलिएको हो । केही समयअघि बेवारिसे कुकुरको टोकाइबाट जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका कर्णबहादुर खत्रीको परिवारका ४ सदस्य घाइते भए भने एउटा भैँसी मरेको थियो । 

यस्तै, कुकुरले गोपाल नेपालीका ४ जना, रमेश तामाङका २ जना, उत्तरबहादुर खड्काका १ जना, गोविन्द विष्टका १ जना, अप्जसा खड्काको १ जना, कोपिला प्रधानको एक जना, मेहरमान दमाईको एक जना सदस्यलाई टोकेका थिए । 

यस्तै, गोपाल कट्वालको एउटा गाई, डाइश्वर कार्कीको एउटा बाख्रा, दलबहादुर तामाङको एउटा भैँसी, चन्द्र प्रधानको एउटा बाख्रा, मीनबहादुर प्रधानका एउटा गोरु, युवराज प्रधानको एउटा बाख्रालाई कुकुरले टोकेर घाइते बनाएको थियो । कुकुरको टोकाइबाट तुलसीराम कोइरालाको एउटा गाई मरेको थियो । कतिपय बराहपोखरी गाउँपालिकाका स्थानीयलाई समेत सामुदायिक कुकुरले टोकेर घाइते बनाएको थियो ।

सामुदायिक कुकुरको बिगबिगी बढिरहँदा घाइतेलाई आफ्नै पालिकामा एन्टी रेबिज भ्याक्सिनको व्यवस्थाका लागि स्थानीय सरकार अग्रसर हुनुपर्ने युवा नेता बाजिन्द्र विष्ट बताउँछन् ।– न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप