बाबुरामको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव सशंकित
जनता समाजवादी पार्टी नेपालमा आफ्नो बहुमत सिद्ध गर्न पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हस्ताक्षर अभियान जारी राखेका छन् । पार्टीमा देखिएको समस्याबारे छलफलका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका छन् तर भट्टराईले अझै हस्ताक्षर अभियानलाई निरन्तरता दिइरहेका छन् ।
भट्टराईले सञ्चालन गरेको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव पक्षका नेताहरुले आपत्ति जनाएका छन् । भट्टराई पक्षका कार्यकारिणी सदस्य प्रशान्त सिंह भन्छन्, ‘हामीले दुईटा कारणले यो हस्ताक्षर अभियान चलाएका हौं, पहिलो, अध्यक्ष उपेन्द्र यादवमाथि पार्टीको बैठक बोलाउन प्रेसर बनाउन र दोस्रो, हामीले जुन मुद्दा उठाएका छौं, त्यो मुद्दाप्रति पार्टीभित्र कस्तो मत छ त्यो जान्नका लागि ।’
यो हस्ताक्षर अभियानलाई पार्टी फुटाउने नजरले हेर्नु गलत हुने भन्दै उनले पार्टीलाई झन् मजबुत बनाउन यो अभियान चलाएको दाबी गरे । पार्टीबाट पठाएको मन्त्री समावेशी नभएको तथा अन्य नियुक्ति तथा मनोनयनहरु समावेशी नभएको गुनासो भट्टराई पक्षको छ । पार्टीको विधानमा दुईजना अध्यक्षको व्यवस्था भएअनुसार अर्को अध्यक्षमा अशोक राईलाई राख्न पनि सो पक्षले माग गरेको छ । यी निर्णय गर्न पार्टीको बैठक आवश्यक भएकाले बैठक बोलाउन हस्ताक्षर संकलन गरिएको सिंहले बताए ।
उनले हस्ताक्षर अभियान पार्टी विभाजनका लागि नभएको प्रस्ट पारे । ‘पार्टी विभाजन गर्नु परेको भए यो हस्ताक्षर गोप्य रुपमा संकलन हुन्थ्यो,’ उनले भने, ‘यो हस्ताक्षर अभियान गोप्य छैन, खुल्ला रुपमा हस्ताक्षर संकलन गरिरहेका छौं । सबै केन्द्रीय सदस्यलाई हस्ताक्षरका लागि आह्वान गरेका छौं, कतिपयले गरेका छन्, कतिपयले गरेका छैनन् ।’
कतिपय केन्द्रीय सदस्यले यो पार्टी विभाजनका लागि हो कि भन्ने लागेर पनि हस्ताक्षर नगरेको हुन सक्ने उनको भनाइ छ । ‘कतिपयले हस्ताक्षर दुरुपयोग होला कि भन्ने आशंकामा हस्ताक्षर गरेका छैनन् तर दुई तिहाई भन्दा बढीले हस्ताक्षर गर्ने अनुमान गरिएको छ,’ उनले भने ।
हालसम्म कति जनाले हस्ताक्षर गरे भन्ने आफ्नो जानकारीमा नरहेको तर धेरै केन्द्रीय सदस्यले हस्ताक्षर गरेको उनले दाबी गरे । उनले कार्यकारिणी समिति सानो समिति भएकाले त्यहाँ चलखेल बढी हुने, छलफलै नगरी एजेण्डालाई अगाडि बढाइदिने भएका हुनाले केन्द्रीय समिति सदस्यको हस्ताक्षर संकलन गरिएको बताए ।
तर सोही पार्टीका केन्द्रीय सदस्य मनिष सुमनले आफूलाई हस्ताक्षर गर्नका लागि कसैले नभनेको बताए । उनले भने, ‘पार्टीमा हस्ताक्षर संकलन भइरहेको मैले पनि सुनेको छु, तर हस्ताक्षरका लागि म समक्ष कोही पनि आएका छैनन् ।’
हस्ताक्षरका लागि आए पनि आफूले हस्ताक्षर नगर्ने बताउँदै उनले पार्टी विभाजनको पक्षमा आफू नरहेको प्रस्ट पारे । ‘पार्टीमा कुनै विवाद छैन, बाबुरामहरुले जानी जानी विवाद सिर्जना गर्न खोजेको देखिन्छ,’ उनले भने, पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाइसकेको अवस्थामा त्यो बैठकबाट अन्य बैठकहरू पनि तय हुनेछ, तैपनि उनीहरुले हस्ताक्षर संकलन गरिरहेका छन्, यसमा हाम्रो आपत्ति छ ।’
हस्ताक्षर संकलनले पार्टीमा विभिन्न शंका उब्जाएको उनको भनाइ छ । ‘बाहिर बाहिर जे आशंकाहरु भइरहेका थिए, त्यसको पुष्टि भएको छ र, यसले विभाजनतर्फ लगिरहेको छ,’ उनले भने ।
विगतमा पनि यस्तै हस्ताक्षर भएको जिकिर गर्दै उनले त्यही हस्ताक्षरका कारण पार्टी विभाजन भएको स्मरण गराए । उनले भने, ‘बाबुरामजीहरुले आफ्नो शक्ति परीक्षण गर्न हस्ताक्षर संकलन गरिरहनु भएको छ, बहुमत पुग्यो भने उहाँहरुले त्यो हस्ताक्षरलाई दुरुपयोग गर्नुहुन्छ ।’
बाबुराम पक्षले संसदीय दल, कार्यकारिणी समिति तथा केन्द्रीय समितिमा आफूहरुको बहुमत रहेको दाबी गर्दै आएको छ । बाबुराम पक्षका एक नेताले भने, ‘पार्टी एक रहने कि नरहने कुरा भोलि बस्ने कार्यकारिणी समितिको बैठकबाट टुङ्गो लाग्छ ।’ आवश्यक परेमा कार्यकारिणी समितिमा पनि हस्ताक्षर पेस गर्न सकिने बताउँदै ती नेताले आफूहरुले चाँडै नै केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने बताए ।