बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

विशेष अदालतमा ६ न्यायाधीशको नाम सिफारिस, राजश्व न्यायाधिकरणमा ढुङ्गाना

बुधबार, ११ फागुन २०७८, २० : १७
बुधबार, ११ फागुन २०७८

बुधबार बसेको न्याय परिषद्को बैठकले विशेष अदालतमा ६ न्यायाधीशको काज सरुवाका लागि नाम सिफारिस गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले विशेष अदालतमा अध्यक्षसहित ६ न्यायाधीशको काज सरुवाका लागि नाम सिफारिस गरेको हो । 

परिषद्ले विशेष अदालतमा अध्यक्षका लागि उच्च अदालत पाटनमा दरवन्दी भई उच्च अदालत पोखराको बागलुङ इजलासमा काजमा रहेका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।  त्यस्तै विशेष अदालतका सदस्यहरूमा उच्च अदालत जनकपुर अन्तरगत वीरगञ्ज इजलासमा रहेका रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरका यमुना भट्टराई, उच्च अदालत पोखरा (बागलुङ इजलास) का शालिग्राम पोखरेल, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश डा. खुशी प्रसाद थारुको नाम सिफारिस गरिएको छ । 

यसअघि विशेष अदालतमा रहेका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटनको हेटौंडा इजलास र न्यायाधीश नित्यनन्द पाण्डेयलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा काज सरुवा गर्ने निर्णय भएको छ । 

त्यसैगरी बुधबारको परिषद्को बैठकले राजश्व न्यायाधीकरण काठमाडौंको कानुन सदस्य एवम् अध्यक्ष पदमा हाल उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा रहेका न्यायाधीश टेकप्रसाद ढुङ्गानालाई तोक्न सिफारिस गर्ने निर्णय गरेको छ । 

६ जनाको दरवन्दी रहने विशेष अदालतमा गत साउन महिनादेखि ४ अध्यक्षसहित न्यायाधीशको पद रिक्त थियो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत साउन २९ गते विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीसहित न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्र बहादुर सारुलाई अन्य अदालतमा सरुवा गरेका थिए । त्यसपछि परिषद्को बैठक बस्न नसकी विशेष अदालत नेतृत्वविहीन भएको थियो । 

विशेष अदालतमा उच्च अदालतका न्यायाधीशलाई काज सरुवा गर्ने कानुनी व्यवस्था छ । तर विशेष अदालतमा काज सरुवा गर्नका लागि न्याय परिषद्बाट सिफारिस हुनुपर्ने भएकाले परिषद्को बैठक बस्न नसक्दा विशेष अदालतमा न्यायाधीश पठाउन सकिएको थिएन ।

जसका कारण कतिपय मुद्दाको सुनुवाइ नै हुन सकेको छैन भने कतिपय मुद्दा पेसीमै चढ्न सकेका छैनन् । ६ जना न्यायाधीश हुँदा तीन–तीन जनाको दुईवटा इजलास रहने भएपनि दुई जना मात्रै न्यायाधीश हुँदा इजलास गठनमा समेत अप्ठेरो परेको थियो । यतिबेला विशेष अदालतमा ६७० थान मुद्दा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप