मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुराम र प्रेम आलेको त्यो बचन : एमसीसी पास हुनेमा देउवा ढुक्क !

बुधबार, ११ फागुन २०७८, १६ : ०२
बुधबार, ११ फागुन २०७८

अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) पारित गराउन सरकारले तीव्र तयारी थालेको छ । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा टेबल भएको एमसीसी फागुन १६ भित्र पास गराउने रणनीतिका साथ सरकार अगाडि बढेको हो ।

सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग समानान्तर संवादमा छन् । प्रतिनिधिसभामा बिहीबार एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुने भएपछि देउवाले छलफललाई तीव्रता दिएका छन् ।

देउवाले मंगलबार एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा संवाद गरेका थिए भने बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए । त्यस लगत्तै गृहमन्त्री खाँण ओली निवास बालकोट पुगेका थिए । प्रचण्ड र ओलीसँगको छलफलमा खाँणले एमसीसीका विषयमा छलफल गरेका थिए ।

खाँणले रातोपाटीसँग भने, ‘एमसीसीमा मुलुक ध्रुवीकृत भयो । सहमतिका साथ यसलाई पास गरौं भनेर मैले भनेँ । आजको छलफल यी विषयमा थियो ।’ तर छलफल परिणाममुखी नभएको बुझिएको छ ।

माधवमाथि देउवाको अझै आशा

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमै एमसीसीका पक्षमा बहुमत जुट्ने आश मारेका छैनन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीको पक्षमा बहुमत जुटाउन सहयोग गर्ने देउवाको अपेक्षा छ ।

‘प्रधानमन्त्रीजी माधव नेपालको कुराबाट अझै अलमलेर बस्नुभएको छ । माधव नेपालले सकभर एमसीसीको पक्षमा मत दिनुहुन्छ,’ काँग्रेसका एक नेताले भने, ‘त्यो भएन भने पनि उहाँहरुले प्रचण्डको जस्तो एमसीसीको विपक्षमा मत हाल्न ह्वीप लगाउनु हुने छैन भन्ने प्रधानमन्त्रीलाई विश्वास छ ।’

एकीकृत समाजवादीका कम्तीमा पनि १०–११ जनाले एमसीसीको पक्ष मत दिने आँकलन देउवाको छ । प्रधानमन्त्री देउवा एकीकृत समाजवादीको भोट लिएर एमसीसी पारित गराउने पक्षमा छन् ।

माधव नेपाल आफैले प्रधानमन्त्री देउवालाई एमसीसी पास गर्ने वातावरण मिलाउने बचन दिएको काँग्रेस नेताको दाबी छ । काँग्रेसका एक पदाधिकारीले भने, ‘एमसीसी पास गर्ने ढंगले म वातावरण मिलाउँछु, तपाईं धेरै नआत्तिनुस् भनेर माधव नेपालले भन्नु भएको छ । प्रधानमन्त्रीजी पनि त्यसैको भरमा हुनुहुन्छ ।’

देउवालाई आलेको बचन

९–१० जना मन्त्रीले पनि एमसीसीको पक्षमा मत हाल्ने प्रधानमन्त्रीलाई बचन दिएको पाइएको छ । पर्यटनमन्त्री प्रेम आलेले त मन्त्रीसहित एकीकृत समाजवादीका १० जनाभन्दा बढी सांसद एमसीसी पक्षमा उभिने प्रधानमन्त्रीलाई विश्वास दिएको बालुवाटार स्रोतले रातोपाटीलाई बतायो ।

स्रोतले भन्यो, ‘नेकपा एकीकृत समाजवादीमा माधव नेपालभन्दा प्रेम आलेसँग सांसद बढी देखिन्छन् । प्रेम आलेसँग १० जना सांसद होल्ड छन् ।’

पर्यटनमन्त्री आलेले आफ्नो पार्टीबाट श्रममन्त्री किसान श्रेष्ठ, पार्वती विशुंखे, धनबहादुर बुढा, गोपाल बम, हिराचन्द्र केसी, समिना हुसेन र बिना बुढाथोकीले एमसीसीको पक्षमा मत दिने विश्वास प्रधानमन्त्री देउवालाई दिलाएका छन् ।

गत असार ३ मा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा पनि एमालेमा ओली निकट उनीहरुले विश्वासको मत दिएका थिए ।

यस्तै शहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि एमसीसीको पक्षमा मत दिने संकेत दिएको पाइएको छ । काँग्रेसका ती पदाधिकारीले भने, ‘यिनीहरुले प्रधानमन्त्रीलाई बचन दिएका छन् । त्यो हुँदा एमसीसी पास गर्न बहुमत पुग्छ । अहिलेको हिसाब किताब यही हो ।’

काँग्रेस नेताहरु अनुसार गठबन्धन भत्केको अवस्थामा माधव नेपालले आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाए पनि आले फर्किने मुडमा छैनन् । आलेले प्रधानमन्त्री देउवाबाट पनि बर्खास्त नहुने गरी लबिङ गरिरहेको बालुवाटार स्रोतको भनाइ छ ।

बाबुराममाथि भरोसा

काँग्रेसले नेकपा एकीकृत समाजवादीसँगै जसपा नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबाट पनि एमसीसी पारित गराउने कुरामा निर्णायक योगदान रहने विश्वास छ ।

काँग्रेसको हिसाब अनुसार जसपामा बाबुराम भट्टराई निकट १०–११ जना सांसद एमसीसी पास गर्न साथ दिने खालका छन् । सत्ता गठबन्धनमा एमसीसीबारे देउवाको लाइनमा उभिएका भट्टराईले सिङ्गो जसपा नै पक्षमा उभिने बताएको काँग्रेस नेताहरुको भनाइ छ ।

अध्यक्ष उपेन्द्र यादवसहित केही सांसदले मत नदिए पनि जसपाको बहुमत पक्षले एमसीसीमा मत दिने विश्वास भट्टराईले देउवालाई दिलाएका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १२ जना सांसद एमसीसीको पक्षमा उभिने काँग्रेसको दाबी छ ।

एमसीसी यसरी हुने छ पास–फेल

कानुनमन्त्री दिलेन्द्र बडूका अनुसार बिहीबार कार्यव्यवस्था परामर्श समितिमा हुने सहमति अनुसार एमसीसीमाथि छलफल सुरु हुनेछ । ‘बिहीबार कार्यव्यवस्था परामर्श समिति बसेर एमसीसीमाथि छलफलका लागि समय सीमा तोक्ने निर्णय हुन्छ,’ उनले भने, ‘सैद्धान्तिक र दफाबार छलफलका लागि कार्यव्यवस्था परामर्श समिति बैठकले समय तोक्छ ।’

तर, फागुन १६ गतेभित्र एमसीसी पारित गराउने गरी कार्यतालिका निर्धारण हुने बडूले बताए । उनका अनुसार बिहीबारकै प्रतिनिधिसभा बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

सैद्धान्तिक छलफलमा सांसदहरूले एमसीसीबारे आ–आफ्नो धारणा राख्ने उनको भनाइ छ । सञ्चारमन्त्री कार्कीले सांसदहरुले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने छ ।

मन्त्रीले जवाफ दिएपछि सभामुखले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने उनको भनाइ छ ।

एमसीसी प्रक्रिया थप अगाडि बढ्न उक्त प्रस्ताव बहुमतले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । बहुमतले अस्वीकृत भए एमसीसी अघि बढाउने बाटो बन्द हुन्छ ।

प्रस्ताव स्वीकृत भए प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २२५ बमोजिम अगाडि बढ्ने कानुनमन्त्री बडूले बताए । त्यसपछि एमसीसीलाई फेरि मन्त्रीले सन्धिको प्रावधानमाथि छलफल गरियोस् भनि अर्को प्रस्ताव राख्न सक्छन् । उक्त प्रस्तावलाई सभामुखले ध्वनि मतबाट निर्णय गराउने उनको भनाइ छ ।

जसमा पक्षमा हुनेले ‘हुन्छ’ र विपक्षमा हुनेले ‘हुन्न’ भन्ने अभ्यास छ । सो क्रममा ‘हुन्छ’ भन्ने सांसदको ध्वनी ठूलो सुनियो भने प्रस्ताव पास भएको मानिन्छ भने ‘हुन्न’ भन्नेको ठूलो सुनियो भने फेल हुन्छ ।

ध्वनि मत प्रक्रियाबाट निर्णयार्थ प्रस्तुत हुँदा एमालेले विरोध जारी राखे मतदानमा सहभागी भएको मानिने छैन । सभामुखले निर्णयार्थ पेस गर्दाको समयमा एमाले सांसदहरु वेल घेराउमा उत्रिए भने पक्ष र विपक्षमा मतदान गर्नेको संख्या मात्रै गणना हुने छ ।

प्रतिनिधि सभामा कूल २ सय ७५ सांसदमध्ये हाल २७१ सांसद छन् । जस अन्तर्गत नेकपा एमालेका ९८ सांसद छन् । काँग्रेसका ६३ सांसदमध्ये २ जना निलम्बित रहेकाले हाल ६१ जनामात्र छन् । माओवादी केन्द्रका सभामुखसहित ४९ जना छन् ।

नेकपा एकीकृत समाजवादीका २३ जना छन् भने जसपाका १९ जना एक (जना निलम्बित) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १२ जना सांसद (रेशम चौधरीले पार्टी छोडेको) छन् । जसमा काँग्रेसका ६१ र लोसपाका १२ सांसद गरी एमसीसी सम्झौताको पक्षमा ७३ मत पुग्छ ।

एमसीसी संसदमा टेबल हुँदा भने लोसपा मौन बसेको थियो । तर लोसपा संसदीय दलको बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री देउवासँगको भेटमा पनि लोसपा अध्यक्ष महन्थ ठाकुरले एमसीसीको पक्षमा उभिने बताएका थिए ।

यता सत्ता घटक माओवादीका सभामुख बाहेक ४८, एकीकृत समाजवादीका २३, जनमोर्चाका १ सांसद अहिलेसम्म सम्झौताको विपक्षमा छन् । सत्ता गठबन्धनका ७२ सहित नेमकिपाका १, राप्रपाका १ र स्वतन्त्र १ गरी ७५ मत विपक्षमा देखिन्छन् ।

सत्तारुढ जसपामा भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरहरू एमसीसीको पक्षमा उभिए पनि अध्यक्ष उपेन्द्र यादव समूह मौन छ ।

भट्टराईको पक्षमा बहुमत पुगे एमसीसी पास गर्न केही सहजता छ । तर यादव पक्षमा बहुमत पुग्दा एमसीसी सम्झौता अनुमोदन प्रक्रिया नै असफल हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप