आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जंगी अड्डामा सुरु भयो सेनाको बैठक

बुधबार, ११ फागुन २०७८, १४ : ५५
बुधबार, ११ फागुन २०७८

नेपाली सेनाको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ सुरु भएको छ । बुधबार जंगी अड्डामा आयोजित विशेष समारोहका बीच रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको शुभारम्भ गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै देशको संवेदनशील भूराजनैतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे । 

उनले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाडौं–तराई–मधेस द्रुतमार्ग लगायतका विभिन्न राष्ट्रिय सडक करिडोरहरुको निर्माणमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उक्त आयोजनाहरु समयमै सम्पन्न गर्न नेपाली सेना सक्षम रहेको बताए । 
साथै, नेपाली सेनाको पहलकदमीमा स्थापना हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल संचालनमार्फत भविष्यमा यस क्षेत्रमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञहरू उत्पादन हुने र नेपाली सेना अन्तर्गत संचालित राष्ट्रिय गौरवका आयोजना लगायत महत्वपूर्ण आयोजनाहरुको निर्माणको लागि आवश्यक पर्ने श्रोत साधनको अभाव हुन नदिने विश्वास समेत प्रधानमन्त्रीले गरे । 

कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेशहरू अक्षरशः पालना गर्न कटिबद्ध रहेको बताए ।  समन्वयात्मक बैठकमा नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात् प्राप्त हुने राय सुझावहरूले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप