विद्यार्थीलाई एसईईको त्रास किन ?
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को असरले विशेषगरी स्कुले नानीहरूलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरूका पनि आआफ्नै समस्या होलान्, त्यसो भन्दै गर्दा विगतका दुई वर्ष भौतिक रूपमा जाँच नगराउँदा पनि हुने, अनि यो वर्ष मात्रै किन विद्यार्थीलाई एसईईको हाउगुजी देखाउने त ? यो प्रश्न गम्भीर रूपमा तेर्सिएको छ । पहिलेदेखि नै एसईई अर्थात् साविकको एसएलसी खारेज गरौँ भन्दै सरकारी निकायका पदाधिकारीहरू कराउँदै आए । होमा हो गर्दै निजी विद्यालयअन्तर्गतका प्याब्सन, एन प्याब्सनहरू पनि निकै तातेकै हुन् । तथापि अहिले यस्तो अवस्थामा भौतिक रूपमा विद्यार्थीलाई परीक्षामा सामेल गर्ने सरकारी रबैया देखावटी मात्रै हो कि जस्तो लाग्छ । एसईईमा अहिले जम्माजम्मी आठवटा विषय छन् । कक्षा आठमा पढ्दै आएका विद्यार्थीहरू करिब कोभिडकै कारण सबैभन्दा बढी प्रताडित हुनेमा पर्छन् । किनभने उनीहरू नै त्यस्ता विद्यार्थी हुन्; जसले लामो समय अनलाइनबाटै कक्षा लिए, भौतिक रूपमा लामो समय घरमै बस्नुपर्ने बाध्यता भयो । यसअघि र त्योभन्दा पनि पहिलो वर्ष सरकारले मेरिटका आधारमा जाँच लियो, नतिजा पनि सोही प्रकारले सार्वजनिक ग¥यो । तर अहिले आएर आजको आजै कक्षा सञ्चालन गर्ने, अनि दुई महिनामै कोर्स पनि सकिने र परीक्षाका लागि तमाम विद्यार्थी तयार हुने भन्ने कुरा सम्भव छैन । फेरि एसईईको ‘वेटज’लाई लिएर विगतदेखि नै यो केही समयसम्मका लागि मात्रै हो, अन्ततोगत्वा कक्षा १२ नै विद्यालय स्तरका पढाइका लागि मुख्य ढोका हो पनि भनिँदै आएको अवस्था छ । विगतको एसएलसी र अहिलेको एसईईमा के समस्या छ भने विद्यार्थी एउटा विषयमा फेल भयो भने ऊ पठनपाठनका लागि फेरि विद्यालय जाँदैन । किनभने फेल पास हुने कुरालाई एउटा विद्यार्थीले ठूलो प्रतिष्ठाका रूपमा लिएको हुन्छ । यो पटकको एसईई परीक्षामा सामेल हुने विद्यार्थीहरू लामो समयसम्म कोभिडका विभिन्न प्रकारका वेभहरूबाट प्रभावित भएकाहरू नै छन् । उनीहरूमा कन्फिडेन्ट लेभल पनि कमजोर भएको छ । केही समयअघि पनि सरकारले भौतिक रूपमा कक्षा सञ्चालन नगराउनू भन्दै उर्दी जारी गर्यो, त्योभन्दाअघि पनि तिनै विद्यार्थीहरू लामो समय घरमै बसेर अनलाइन कक्षाबाट आफूलाई जसरी तसरी तयारी बनाउँदै ल्याए । अहिले आएर फेरि तिनैलाई वैशाखबाट एसईईका लागि तयार होऊ भन्ने नैतिक आधार हामीसँग छ त ? यहाँनेर मेरो प्रश्न हो ।
उमेरका हिसाबले पनि एसईई दिने एउटा विद्यार्थी सबल भएको हुँदैन । यो उमेर समूहका केटाकेटीहरू नाबालक नै हुन् । तिनको अद्र्धचेतन मस्तिष्क पनि बलियो र पूर्णरूपमा सोच्ने अवस्थामा पुगिसकेको हुँदैन । स्मरण शक्तिका हिसाबले पनि यो उमेर समूहका बालबालिकाहरू कमजोर नै हुन्छन् । बल्ल त उनीहरूको मस्तिष्कको विकास हुँदै गरेको हुन्छ । यो उमेरमा एउटा ढोका बन्द हुँदा अर्को ढोका खुल्छ भन्ने ज्ञानको विकास पनि भएको हुँदैन । विद्यार्थीलाई विगतदेखि नै एसईई अर्थात् विगतको एसएलसी ‘आइरन गेट’ हो भनिँदै आइयो । विद्यार्थी पनि एसईईलाई यसरी तयारी गर्नुपर्छ कि मानौँ जीवनको ठूलो उपलब्धि नै त्यही हो भन्नेमा विश्वस्त छ । स्कुलहरू पनि दिनरात एसईईकै तयारीमा हुन्छन्, सकेसम्म बढी अङ्क ल्याउने होडबाजीमा परम्परागत स्कुलहरूले विद्यार्थीलाई यति धेरै बर्डेन दिएका हुन्छन् कि त्यसको कुनै सीमा नै हुँदैन । यस्तो अवस्थामा अहिले सरकारले जुन प्रकार भौतिक रूपमा उपस्थित गराउँदै एसईईको जाँच गर्ने उद्घोष गरेको छ, त्यसका बारेमा केही सोच्ने हो कि भन्ने मेरो भनाइ हो ।
मान्छेको शारीरिक हिसाबले विकासको कुरा गर्ने हो भने पनि एउटा दाँतपछि मात्रै अर्को दाँत आउने हो । त्यसैगरी अद्र्धचेतन मनको विकास पनि क्रमिक रूपले हुँदै जाने हो । फेरि अहिले जो जसले एसईईको जाँच दिने तयारी गरिरहेका छन्, तिनलाई त तीन तीन पटकको कोभिड–१९ का विभिन्न प्रकारका वेभहरूले यति गलाई सकेको छ कि अब उनीहरू दौडन नसक्ने अवस्थामा पुगिसकेका छन् । विगतमा पनि केही विद्यार्थीहरूलाई ‘कोभिड फोबिया’कै कारण समस्या आएको कुरालाई विभिन्न सञ्चार माध्यमहरूले बाहिर ल्याएका थिए । अहिलेको अवस्थामा बढीभन्दा बढी विद्यार्थीले ‘ग्रेड ए’ नै ल्याउँछन् भन्ने पनि छैन । विद्यार्थीहरूमा महामारीको फोबिया धेरै छ, उनीहरू बल्ल तङ्ग्रिन खोजिरहेकान् छन् । अनि यस्तो बेलामा एसईईको झोला बोकाएर ‘हिँडे हिँड नभए कुट्छु’ भन्नु समय सान्दर्भिक हुँदैन । यस्तो प्रवृत्तिले बाल मस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ । मलाई त कस्तो लाग्छ भने कम्तीमा पनि यो वर्षसम्मका विद्यार्थीलाई सरकारले आन्तरिक मूल्याङ्कनकै आधारमा एसईई परीक्षाको नतिजा दिलाउनुपर्छ । अहिले एसईईको जाँच दिन लागेका विद्यार्थीलाई कुनै हालतमा टर्चर दिनु हुँदैन । लामो समय कोभिडको ‘ह्याङओभर’मा रहेका विद्यार्थीलाई फेरि जाँचको भूत देखाउनु उपयुक्त होइन । सम्बन्धित निकायले बेलैमा यसका बारेमा सोच्नुपर्छ ।
हुन त यसबीचमा धेरै विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे । तर त्यो कति प्रभावकारी भयो भन्ने त अहिले देखिँदै आएको छ । अनलाइनले विद्यार्थीलाई मोनोटोनस बनाएको छ, घरमै बसेर पढ्ने बानीले शारीरिक व्यायाम नहुँदा विद्यार्थीहरू भद्दा भएका छन् । शिक्षकले भनेको भन्दा प्रविधिमा देखेका र भेटेका कुरामा अहिलेका विद्यार्थीहरू भरपर्दा अवस्था कस्तो आउँछ, सोचनीय विषय बन्ने गरेको छ । लामो समय अनलाइनकै भरपर्दा कतिपय अभिभावकले आफ्ना नानीलाई रायसल्लाह दिन सके पनि होलनन् तर धेरैको अवस्था फरक छ । शिक्षकले भौतिक उपस्थिति देखाउँदै पढाउँदा त कति धेरै समस्याहरू आउँथे भने अहिले त पढ अनलाइन, नपढ अनलाइन भनेजस्तो भयो । अनलाइनको भूतले पनि विद्यार्थीलाई निरश बनाएको छ । अहिलेको समस्याले समस्त विद्यार्थीलाई ‘आइसबर्ग’ जस्तो बनाएको छ । आइसबर्गमा मात्रै माथिकोे टुप्पो हेरिन्छ तर तल त्यसले कति धेरै ठाउँ लिएको हुन्छ भन्ने कुरामा कसैको ध्यान गएको हुँदैन । अहिले पनि सरकारले विद्यार्थीलाई एकतर्फीरूपमा मात्रै हेरेको अवस्था छ । वर्ष दिनभरि पढाउनुपर्ने कोर्स दुई महिनामा सिध्याऊ भन्ने, अनि परीक्षाका लागि आफ्ना विद्यार्थीलाई तयारी हालतमा बस भन्ने पक्कै पनि न्यायसङ्गत कुरा होइन । अनलाइनले त विद्यार्थीलाई एउटा कोठाभित्र मात्रै सीमित बनाइदिएको छ । सामाजिक रूपमा पनि हाम्रा विद्यार्थीहरू कमजोर भएका छन् । तसर्थ अहिलेको समस्यालाई सबै मिलेर हल गर्नुपर्छ । विद्यार्थीलाई एसईईको भूत देखाउनेभन्दा पनि अब यसै वर्षबाट यो परीक्षा प्रणालीलाई खारेज गर्न सके त्यसले पक्कै पनि भोलिका दिनमा सरकारले सोचेजस्तो उच्च शिक्षाका लागि हाम्रा विद्यार्थीहरू तयार हुन्थे कि ?