सुदूरपश्चिमको शानदार शुक्लाफाँटा
सुदूरपश्चिम प्रदेश अन्तरगत कञ्चनपुर जिल्लाको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि भूस्वर्ग मान्निछ । यो नेपाल–भारत सिमानाको दक्षिण पश्चिम कुनामा महाकाली नदीको किनारमै अवस्थित छ । करिब ५५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको मुलुककै ठूलो घाँसे मैदानमा फागुन चैतको पारिलो घाम तापिरहेका बाह्रसिँगेको झुण्डले प्रकृतिप्रेमीहरुलाई कुरिरहेका छन् । घाँसे मैदानको चारैतिर पलाँसका रुखहरु पहेलपुर हुने अवस्थामा रहेका बेला बाह्रसिँगे, जरायो, चित्तल लगुना जस्ता जनावरको दौडधुपले तपाईंलाई निकै आनन्द दिनेछ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको यस निकुञ्जमा तत्कालीन राजा महेन्द्रदेखि वीरेन्द्रसम्मले वर्षको एकचोटि घुम्नैपर्ने गन्तव्य स्थलको रुपमा लिएका थिए । यो शिकार आरक्षको रुपमा २०२६ सालमा स्थापना भएको थियो । सरंक्षणको क्रममा २०३२ सालमा १५५ वर्ग किमी क्षेत्रलाई समेट्दै शुक्लाफाटा वन्यजन्तु आरक्ष हुँदै करिब ४ दशकपछि २०७३ साल फागुन ९ गते ३०५ वर्ग किमीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रुपमा घोषणा भएको पाईन्छ । समुद्री सतहदेखि १७४ मिटरदेखि १३८६ मिटरको उचाईमा फैलिएको निकुञ्ज हो यो । विश्वकै सबैभन्दा ठूलो बथानका रुपमा पाइने बाह्रसिँगासँगै देशमा सबैभन्दा बढी बाघको घनत्व रहेको सरक्षित क्षेत्रका रुपमा पनि चिनिएको छ यो क्षेत्र ।
नेपालको तराईका संरक्षित क्षेत्रहरुमध्ये सबैभन्दा बढी वनस्पति प्रजाति पाइने क्षेत्र र क्षेत्रफलका हिसाबले सानो भएतापनि दुर्लभ वन्यजन्तु, चराचुरुँगी यस निकुञ्जमा पाइन्छन् । जसमा खरमयुर, कृष्णसारको पुनस्र्थापनासँगै जंगली हात्ती, पाटे बाघ, चितुवा, घोडगधा, बाह्रसिँगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर, सारस, सम तित्रा, राज धनेस, लेसर भँुडीफोर जस्ता लोभ लाग्दा पशुपन्क्षी प्रमुख वन्यजन्तुका रुपमा रहेका छन् । निकुञ्जको अधिकतम भाग सालले ढाकेसँगै बाँकी भाग सिसौ, खयरको जंगल र घाँसे मैदान रहेको छ । यस निकुञ्जमा स्तनधारी प्रजाति ५३ भन्दा बढी, १२ प्रजातिका घस्रिने जन्तुसँगै २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, ४२४ भन्दा बढी प्रजातिका चराचुरुँगी पाइन्छन् । जैविक विविधताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने यस निकुञ्जमा ११८ परिवारका ६६५ प्रजातिका वनस्पतिसँगै ५२ प्रतिशत साल वन, मिश्रित वन २ प्रतिशत, ६ प्रतिशत तटीय वन, १० प्रतिशत सिमसार क्षेत्र छ भने एसियाकै ठूलो घाँसे मैदान ३० प्रतिशतका रुपमा ५५ वर्ग किमिमा फैलिएको छ ।
निकुञ्जसँगै जोडिएको क्षेत्रमा राना थारू समुदायले मिलेर राना थारू होमस्टे सञ्चालनसँगै शुक्लाफाँटा जंगल कटेजले प्राकृतिक सौन्दर्यमा थप सांस्कृतिक र भौतिक रंगरोगन भर्ने काम गरेको छ । निकुञ्जदेखि करिब ६ किलोमिटर मात्रै टाढा रहेको एशियाकै लामो दोधारा चाँदनी झोलुँगे पुलले महाकाली नदी पारीका समुदायलाई जोड्नुका साथै पर्यटकीय पारखीका लागि सुनमा सुगन्ध थपिएको आभास हुन्छ ।
संकटापन्न दुर्लभ वन्यजन्तु तथा प्रजातिको संरक्षणमा उच्च प्राथमिकता दिंदै आएको निकुञ्जमा वर्षेनी वन वातावरण तथा वन्यजन्तु संरक्षण तथा पर्यटन प्रर्वद्धनमा प्रत्यक्ष रुपमा चासो राख्ने विश्वविद्यालय स्तरका विद्यार्थी तथा अनुसन्धानकर्ताहरुको अन्वेषण अभिरुचि क्षेत्र बन्दै गएको छ ।
पर्यटकीय दृष्टिकोणले यस सुन्दर सुदूरपश्चिमको चिरपरिचित नाम शानदार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौतर्फी विकासका लागि निकुञ्जसँगै जोडिएका स्थानीय सरकार भीमदत्त नगरपालिका लगायतका अन्य पालिकाहरुले संघीय सरकार, नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारलाई झक्झकाउँदै पर्यापर्यटनका लागि कम्मर कसेर लागि परेका छन् । जसको ज्वलन्त उदारहण निकुञ्ज नजिकै रहेको मझगाउँ विमानस्थलको शीघ्र सञ्चालन प्रक्रिया अगाडि बढ्नुका साथै निकुञ्जसम्म जोड्ने सडक सञ्जालको स्तरोउन्नति प्रक्रिया अघि बढेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणसँगै पर्यापयटनको दिगो विकासका लागि स्थानीय सरकार, निकुञ्ज कार्यालय, पर्यटन व्यव्यसायीसँगै सोसँग सरोकार राख्ने सरोकारवाला निकायहरुको एकीकृत विकासको अवधारणालाई अवलम्वन गर्दै व्यापक प्रचारप्रसार र जनसहभागितामा जोड दिन सके शानदार शुक्लाफाँटाले सुन्दर सुदूरपश्चिमको मुहारलाई अवश्य चम्काउनेछ ।
लेखक वन, वातावरण, पर्यापर्यटन विषयमा कलम चलाउँछन्