आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दुई जना, कामकाज प्रभावित

मङ्गलबार, १० फागुन २०७८, १४ : ४७
मङ्गलबार, १० फागुन २०७८

 महोत्तरीको एक स्थानीय तहमा दुई जना प्रमुख प्रशासकीय अधिकृत रहँदा कार्यसम्पादन प्रभावित बनेको छ । रामगोपालपुर नगरपालिका कार्यालयमा दुई जना प्रमुख प्रशासकीय अधिकृत छन् ।

नगरप्रमुख अशोक मण्डल र प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णबीच केही विषयमा विवाद भएपछि नगरप्रमुख मण्डलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरी अर्को प्रमुख प्रशासकीय अधिकृत माग गरेका थिए ।

सोही आधारमा नगरपालिकामा शिवेन्द्र मण्डल प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएपछि थप विवाद सिर्जना भएको हो । एउटा प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै निजको व्यवस्थापन नै नगरी अर्को प्रमुख प्रशासकीय अधिकृत आएपछि करिब डेढ महिनादेखि नगरपालिकाको कामकाज कसले हेर्ने भन्नेमा विवाद बढेको हो ।

नगरप्रमुख अशोक मण्डल र वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरु बीच योजना तथा भुक्तानी विषयमा सहमति नहुँदा नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतमाथि दबाबपूर्वक कामकाज गराउन खोज्दा जनप्रतिनिधिहरु नै दुई धु्रवमा विभाजित भएको केही वडाअध्यक्ष बताउँछन् ।

प्रमुख प्रशासकीय अधिकृत कर्णले नगरप्रमुख अशोक मण्डलको स्वार्थ अनुसारको योजना भुक्तानी तथा कामकाज नगर्दा उनलाई हटाएर सोही पदमा अर्को प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र मण्डललाई ल्याएको एक वडा अध्यक्षले रातोपाटीलाई बताए । प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहँदै आएका कर्णलाई अन्यत्र सरुवा नै नगरी शिवेन्द्र मण्डललाई ल्याइएपछि समस्या बढेको उनले बताए ।

नगरप्रमुख अशोक मण्डलले प्रमुख प्रशाकीय अधिकृत कर्णलाई हटाएर कामकाज गर्नबाट रोक लगाएपछि कर्णले मन्त्रालयमा उजुरी गरेका थिए । गत माघ १४ मा मन्त्रालयले कर्णलाई पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदै शिवेन्द्र मण्डललाई भने महोत्तरीकै लोहारपट्टी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा गरेको छ ।

तर नगरप्रमुख अशोक मण्डलले मन्त्रालयको निर्देशनको बेवास्ता गर्दै मण्डललाई नै प्रमुख प्रशासकीय अधिकृतका रुपमा राख्न खोजेका छन् ।

जनप्रतिनिधिहरु नै दुई पक्षमा विभाजित भएपछि दिनहुँ तनाव बढ्दै गएको छ भने पालिकाभित्र द्वन्द्वका कारण जुनसुकै बेला मुठभेडको अवस्था सिर्जना हुने सक्ने खतरा बढेको एक कर्मचारीको भनाइ छ ।

नगरकार्यपालिकाका १३ सदस्यले निर्णय गरी कर्णलाई सम्मान सहित पदस्थापन गराउन खोजेपछि नगरप्रमुख अशोक मण्डलले नगरपालिकाको कामकाज प्रभावित गरी दिनहुँ हुलहुज्जत गर्दै आएको वडाअध्यक्ष जयनारायण मण्डल बताउँछन् ।

नगरप्रमुख अशोक मण्डलले स्थानीय तहको निर्वाचन आउन लाग्दा कागजमै योजना सम्पन्न गरेर भुक्तानी लिने षड्यन्त्र गरेको र प्रमुख प्रशासकीय अधिकृत कर्णले नगरप्रमुखको निर्देशन अनुसार भुक्तानी गर्नबाट इन्कार गरेपछि उनलाई हटाउन खोजेको बताइन्छ ।

कार्यपालिका बोर्डबाट पास नभएको र प्रक्रिया नै नपुगेका योजनाहरुको भुक्तानी गरिदिन र वडाअध्यक्षहरुको योजनाको भुक्तानी नदिनका लागि पछिल्लो समय पटक पटक दवाव दिँदै आएपनि आफूले नमानेपछि अनियमितता गरेको आरोपसहित विभिन्न बहानामा आफूलाई हटाउन खोजेको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए ।

मन्त्रालयले दिएको जिम्मेवारी सहितको पत्रको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले गरेको पत्राचारबाट प्रमुख प्रशासकीय अधिकृत कर्ण र सह लेखापाल सुभाषकुमार साहको नाममा स्थानीय सिद्धार्थ बैंकमा संयुक्त खाता समेत सञ्चालनमा छ ।

वडाअध्यक्ष शम्भु साहले गत आर्थिक वर्ष झैँ चालु आर्थिक वर्षमा पनि नगरप्रमुख मण्डलले वडाध्यक्षहरु, अधिकृत र लेखा समेतलाई जानकारी नै नदिई घरमै बसेर योजना बनाएपछि विवाद उत्पन्न भएको स्पष्ट पारे ।

नगरप्रमुख अशोक मण्डलले केही कर्मचारी र केही कार्यपालिका सदस्यका कारण प्रमुख प्रशासकीय अधिकृत कर्णले नगरपालिकाको कार्यालय छाड्न नचाहँदा समस्या उत्पन्न भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप