बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लोसपा परित्याग गर्दै वृषेशचन्द्र लालसहितका नेता तमलोपामा प्रवेश

मङ्गलबार, १० फागुन २०७८, १४ : २६
मङ्गलबार, १० फागुन २०७८

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल परित्याग गर्दै वृषेशचन्द्र लालसहितका नेता तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा समाहित भएका छन् । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै लोसपाका केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, संविधानसभा सदस्य समेत रहेका केन्द्रीय कार्यकारिणी सदस्य डा.विजयकुमार सिंहलगायतले लोसपा परित्याग गरेका हुन् । उनीहरु लोसपा नेपाल गठनदेखि नै असन्तुष्ट थिए ।

जसपा नेपालबाट विभाजित भएर ७ महिना अघि बनेको लोसपा नेपालभित्र अध्यक्ष महन्थ ठाकुरले एक्लौटी ढंगले पार्टी एकीकरण गरेको र लोसपा गठनपछि पनि एकलौटी ढंगले अघि बढेका कारण आफूहरुले लोसपा नेपाल परित्याग गरेको नेता लालले बताए ।

पार्टीमा आन्तरिक द्वन्द्व बढेपछि लोसपा नेपालका केही नेताले तत्कालीन तमलोपालाई नयाँ ढंगले निर्वाचन आयोगमा दर्ता गराएका थिए । रविशंकर लाल कर्णको नेतृत्वमा तमलोपा दर्ता छ । कर्ण नेता लाल निकटका हुन् ।

मधेस आन्दोलनको सुरूवातसँगै तमलोपाहुँदै लोसपासम्म आइपुग्दा पार्टीले आन्दोलनकारीहरूलाई अवमूल्यन गरेको असन्तुष्ट बनेका नेताहरूको आरोप छ । तत्कालीन जनकपुर नगरपालिकाका पूर्वमेयर समेत रहेका नेता लाल प्रथम मधेस आन्दोलनपछि काँग्रेस छोडेका ठाकुरलाई तमलोपा गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

‘मधेसका जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई आगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेन्डाप्रति प्रतिवद्ध राजनीतिक दल आजको आवश्यकता भएकाले हामी आवद्ध रहेका आ–आफ्ना दलहरु आजैदेखि परित्याग गर्दै तराई–मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ पत्रकार सम्मेलनमा नेता लालले भने ।

संविधानसभा सदस्य डा. सिंहले आउँदो १५ गते तमलोपालाई सुदृढीकरण र पुनर्गठन गरी अघि बढाइने बताए । उनले मधेसको एजेण्डा छाडेर लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुुरले सत्तामा जानका लागि पार्टीको दुरुपयोग गरेको आरोपसमेत लगाए ।

यसरी लोसपा परित्याग गर्नेहरुमा लोसपाका केन्द्रीय सदस्य रामजी राय, केन्द्रीय सदस्य धिरेन्द्र बहादुर सिंह, सतिष लाल दास, योगेन्द्र राम, उमेश मण्डल, ब्रज किशोर सिंह, नेतृ विन्दु देवीलगायत धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लाबाट आएका करिब डेढ सयभन्दा बढी नेता तथा कार्यकर्ता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप