आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

सहकारीमा सन्दर्भ ब्याजदर लफडा : १६.२२ प्रतिशत नपुर्‍याए आन्दोलन !

सहकारीमा पनि ‘बेस रेट’ माग
मङ्गलबार, १० फागुन २०७८, १३ : ०४
मङ्गलबार, १० फागुन २०७८

सन्दर्भ ब्याजदर मुद्दालाई लिएर यतिखेर फेरि सहकारी क्षेत्रमा लफडा चलेको छ । सहकारी अभियन्ता र व्यवसायीहरू सहकारीको सन्दर्भ ब्याजदर समयसापेक्ष कम्तिमा पनि १६.२२ प्रतिशत पुर्‍याउनुपर्ने लबिङमा लागेका छन् । सन्दर्भ ब्याजदर (रेफरेन्स इन्ट्रेस्ट) सुझाव उपसमितिले सहकारीको ब्याजदर १६.२२ प्रतिशत कायम गर्न सिफारिस गरेको छ ।

यता नियामक सहकारी विभाग र राष्ट्र बैंक भने उक्त माग सम्बोधन नगर्ने प्रयत्नमा लागेका छन् । जसले यतिखेर सहकारी व्यवसायी, अभियन्ता र नियामकबीच नै तिक्तता बढेको छ । आफूहरूको माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने सहकारी अभियन्ताहरूले चेतावनी दिइसकेका छन् ।

‘अब अरू उपाय नै छैन । जसरी हुन्छ : सहकारीको सन्दर्भ ब्याजदर बढ्छ, बढ्नुपर्छ । अन्यथा अभियान अघि बढ्छ, हामी संघर्षमा उत्रिन्छौँ,’ राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले रातोपाटीसँग भने, ‘अहिलेको सन्दर्भमा सहकारीको सन्दर्भ ब्याजदर अधिकतम १७ प्रतिशत पुर्‍याउन आवश्यक देखिएकोले सोही माग गरिएको हो ।’

नियामक सहकारी विभागले अभियन्ताहरूलाई ब्याजदरको विषयमा छलफल गर्न मंगलबार  (आज) बोलाएको छ । सन्दर्भ ब्याजदर समिति संयोजकसमेत रहेका सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले दिउँसो १ बजे बस्ने गरी संयुक्त बैठक बोलाएका हुन् । आजै बस्ने बैठकमा सन्दर्भ ब्याजदर वृद्धिबारे घनिभूत छलफल हुने र एउटा निष्कर्षमा पुग्ने अभियन्ताहरूले बताएका छन् । 

तर, ब्याजदर बढ्नेमा विश्वस्त हुने अवस्था भने नरहेको एक सहकारकर्मीले बताए । हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत कार्यान्वयनमा छ ।

बैंक ब्याजदर वृद्धिको दबाब सहकारीमा
व्याप्त तरलता अभावबीच बैंक तथा वित्तीय संस्थाहरूले फागुन महिनाका लागि निक्षेपको ब्याजदर बढाएर अधिकतम ११.०३ प्रतिशतसम्म पु¥याएका छन् । यसको परोक्ष असर सहकारीमा पनि परेको हो । यतिखेर सहकारी अभियन्ताहरू बैंकहरूले नै निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिइसकेकाले सहकारीबाट पूँजी पलायन हुने डरमा छन् । 

‘अहिले बैंकहरूले निक्षेपमा घोषित रूपमै अधिकतम ११.०३ प्रतिशत ब्याजदर ‘अफर’ गरिसकेको अवस्था छ । अझ भित्रभित्रै १२–१३ प्रतिशतसम्म दिएको बुझिएको छ । यस्तो अवस्थामा सहकारीले चाहिँ १४.७५ प्रतिशतमा नै कर्जा दिनुपर्ने ? यो कहाँको न्यायोचित व्यवहार हो ?’ सन्दर्भ ब्याजदरको असमान व्यवस्थाप्रति व्याप्त असन्तुष्टि पोख्दै जिल्ला सहकारी संघ, ललितपुरका अध्यक्ष माधव खड्काले प्रतिप्रश्न गरे ।

अहिलेको सन्दर्भमा सहकारीको सन्दर्भ ब्याजदर न्यूनतम १७ प्रतिशत पुर्‍याउनुपर्ने उनको पनि माग छ । ब्याजदर वृद्धिको होडमा भन्दा पनि अहिले सहकारीको शाख बचाउन सन्दर्भ ब्याजदर वृद्धि गर्नुपर्ने अभियन्ताहरूले माग गरेका छन् ।

सहकारीमा पनि आधारदर माग
सहकारी अभियन्ताहरूले अब बैंक तथा वित्तीय संस्थाहरूमा जस्तै सहकारी क्षेत्रमा पनि आधार दर (बेस रेट) हुनुपर्ने माग गरेका छन् । सन्दर्भ ब्याजदरभन्दा पनि संस्थाको कारोबार, खर्च र नाफाको हिसाबमा आधारदर तोक्न पाउनुपर्ने उनीहरूको माग छ ।

‘बढ्दा ह्वातै बढ्ने र घट्दा पनि ह्वातै घट्ने वा ब्याजदर स्थिर रहने भन्दा पनि कारोबारको स्थिति हेरेर स्वःनिर्धारण प्रणालीलाई मान्यता दिनुपर्छ भन्ने हाम्रो माग हो । जुन अन्य बैंक तथा वित्तीय संस्थामा लागू हुन सक्छ भने सहकारीमा किन हुन सक्दैन ?’ काठमाडौँ जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङले भने । 

सोही प्रणालीअनुसार अब सन्दर्भ ब्याजदर नभई सहकारीमा पनि आधारदरको व्यवस्था गरिनुपर्ने माग राखिएको तामाङले बताए । हाल सहकारीको औसत आधारदर ११ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशतको स्प्रेडदर (कर्जा र निक्षेपको ब्याजदरको अन्तर) जोड्दा १७ प्रतिशत पुग्ने देखिन्छ । सहकारी ऐन, २०७४ ले नै सहकारीको स्प्रेडदर ६ प्रतिशतसम्म राख्न पाउने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप