भागरथी भट्ट बलात्कार प्रकरणमा फैसला गर्ने न्यायाधीशको गुनासो : गर्नुपर्ने आजीवन सजाय, तर कानुन भएन
गत वर्षको माघको अन्तिम साता देशैभरका सञ्चारमाध्यममा एउटा दुखद् समाचारले स्थान पाइरह्यो । त्यो थियो– बैतडीको दोगडाकेदार गाउँपालिका ७, चडेपानीका १८ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्या ।
विद्यालयबाट घर फर्किरहेकी एक किशोरीको बलात्कार र हत्या भएपछि उक्त हत्याको विरोध र अपराधीलाई पक्राउ गर्नका लागि दबाब आउन थाल्यो । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा अपराधी पत्ता लाग्न नसकेको अवस्थामा उस्तै प्रकृतिको अर्को घटना भएकाले पनि तत्काल अपराधीको खोजी र सार्वजनिक गर्न दबाब आइरह्यो ।
तत्कालीन समयमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी आँफै दोगडाकेदारको खोचलेकमा रहेको एउटा सानो प्रहरी चौकीमा पुगेर घटनाको अनुसन्धानमा खटिए । स्थानीय प्रहरी, जिल्ला प्रहरी, प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो लगायतको टोली घटनास्थलमा खटिएर सुक्ष्म अनुसन्धान ग¥यो र घटनाको दुई सातापछि घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक ग¥यो ।
सोही बलात्कार र हत्या प्रकरणमा बैतडी जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । बलात्कार र हत्यामा संलग्न किशोरलाई कानुनतः आजीवन कैद सजाय गर्नुपर्ने भए पनि बालबालिकाले त्यस्तो कसुर गरेमा उमेर अनुसार खण्डे सजाय हुने भएकाले उनलाई कति वर्षको जेल सजाय गर्ने भन्ने उल्लेख नभएकाले जन्मकैद बराबर हुने सजायको आधा सजाय गरिएको फैसलाको पूर्णपाठमा उल्लेख छ । अर्थात् कसुरअनुसार आजीवन कैद सजाय भुक्तान गर्नुपर्ने भए पनि अपराधमा संलग्न व्यक्ति १६ वर्षभन्दा कम र १४ वर्षभन्दा बढी उमेरको भएकाले जन्मकैद अर्थात् २५ वर्षको सजायको आधा सजाय अर्थात् १२ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाइएको छ ।
साथै दोषी ठहर भएका किशोरबाटै पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसलासमेत गरिएको छ ।
यस्तो थियो घटना विवरण :
२०७७ साल माघ २१ गते स्थानीय विद्यालयमा अध्ययनका लागि पुगेकी एक किशोरी विद्यालयबाट घर फर्किने क्रममा एकाएक हराएपछि उनको खोजी हुन्छ । ती किशोरी थिइन्, बैतडीको दोगडाकेदार गाउँपालिका ७, चडेपानीकी १८ वर्षीय भागरथी भट्ट । माघ २१ गते साँझसम्म पनि छोरी घर नआएपछि उनकी आमाले छरछिमेकमा छोरीबारे सोधखोज गरिन् । तर उनलाई भेट्टाउन सकिएन । कतिपयले उमेर पुगेकी छोरी भएकाले बिहे गरेर पो गई कि समेत भने । यद्यपि किशोरीकी आमाले उक्त जानकारी प्रहरीलाई समेत गराई खोजतलासका लागि आग्रह गरिन् ।
माघ २२ गते साँझ ४ बजेतिर दोगडाकेदार गाउँपालिकाकै वडा नम्बर ७ मा पर्ने लबलेक भन्ने जङ्गलमा किशोरीको शव भेटियो । विद्यालयबाट घर फर्किदै गरेका किशोरहरुले लाश देखेपछि घर पुगेर परिवारका सदस्यलाई खबर गरेपछि उक्त घटना बाहिर आयो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको पुष्टि भए पनि घटनामा कुन व्यक्तिको कस्तो संलग्नता थियो भन्ने यथेष्ट प्रमाण थिएन ।
प्रहरीले अनुसन्धान सुरु गरे पनि घटनाको ५ दिनसम्म कुनै सुराक प्राप्त गर्न सकेन । त्यसपछि केन्द्रीय तहमै यसबारे चासो सुरु भयो र प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी र केन्द्रीय अनुसन्धान ब्यूरोबाट समेत प्रहरी घटनाको अनुसन्धानमा खटिए ।
घटनाको दुई सातापछि २०७७ साल फागुन ४ गते आरोपी किशोरले किशोरीको बलात्कार र हत्यामा आफ्नो संलग्नता रहेको भन्दै कसुर स्वीकार गरेका थिए । घटनामा संलग्न रहेका किशोर क(१७१) (परिवर्तित नाम) ले अपराधमा आफ्नो संलग्नता रहेको र आफूलाई काले भनेको कारण मनमा इख लिएको तथा मृतकका बुवाले आफ्नो फूपूमाथि जबरजस्ती करणी गरेको भन्ने सुनेकाले समेत मनमा रिस पालेर बसेको कारण आफूले बलात्कार र हत्या गरेको स्वीकार गरेका थिए ।
अपराधमा संलग्न किशोरको बयान : अन्य केटीको अगाडि काले भनेर जिस्काएकाले मारेको हुँ
अपराधमा संलग्न किशोरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान यस्तो थियो :
मिति २०७७।१०।२१ गते बिहान अन्दाजी ८ः३० बजेको समयमा म घरबाट विद्यालय गएको हुँ । विद्यालयबाट १३ः४५ बजेको समयमा घरतर्फ आएको हुँ । विद्यालय समय १५ः१५ बजेसम्म हो । सो दिनमा व्यावसायिक अध्ययन र सामाजिक अध्ययन विषयको पढाई छोडेर आएको हुँ । विद्यालयबाट फर्किदा म सँगै अध्ययनरत तर्क राज भट्ट, भानदेव भट्ट, लिलाधर भट्ट पनि खोचलेक बजारसम्म आएका हौं । निजहरु कपाल काट्न बजारमा बसे, म घर तर्फ आएँ ।
खोचलेक बजारबाट भिरकटैया हुँदै सिल्लमा पुगे । मृतकसँग सिल्लमा भेट भयो । सिल्लदेखि म केही नबोली अगाडि गएँ । पछि घटनास्थलस्थित सडकमा पुगी उक्त स्थानमा बसेको हुँ । अन्दाजी १४ः२० बजेदेखि १५ः०० बजेभित्र क (१८०) ( परिवर्तित नाम) पनि उक्त स्थानमा पुगिन् र निज मृतक उक्त स्थानमा पुग्दा मैले परिवर्तित नाम क (१८०) लाई धकेल्दा सडकको किनारबाट तल लडेकी हुन् । मैले पहिलो चोटी धकेल्दा निज सडक भन्दा केही तल लडिन, निजको खुट्टाबाट एउटा सेन्डिल फुत्कियो, लडे पछि उठेर अलिकति तल गईन् । निज लड्दा म पनि निजको पछिपछि गएँ, त्यसपछि तल जान खोज्दा निजको अर्को सेण्डिल पनि खसेको हो ।
म पनि निजको पछिपछि गएँ, वारदात स्थान स्थित मृतकको लाश फेला परेको स्थानभन्दा अलि माथि शुरुमा मैले निज उभिएकै अवस्थामा निजको घाँटी दबाएँ । निज अलिकती बेहोस भए जस्तो भई भुईँमा लडिन्, पछि मैले निजको तल्लो शरीरमा लगाएका लुगाहरू घुँडासम्म खोली मेरो पनि तल्लो शरीरका लुगाहरू घुँडासम्म खोली सोही स्थानमा एक पटक करणी गर्दा मलाई नमार भनेकी हो । करणी गरी सकेपछि मैले दुबै हातले निजको घाँटी च्यापी मारेको हुँ । मारी सकेपछि म निजलाई धकेलेकै बाटो भएर माथि सडकमा आएको हुँ । सडकसम्म आउने क्रममा निजको मोबाइल खसेको र मोबाइलमा गीत बजिरहेको अवस्थामा फेला पारी उक्त मोबाइलको ब्याट्री निकाली लाश भन्दा केही पर फालेको हुँ ।
सोही स्थानदेखि माथि सडक छेउमा मृतकको घडी पनि रहेको देखेपछि उक्त घडी तल झाडीमा फालेको हुँ । त्यसपछि म घर तर्फ गएको हुँ । घरतर्फ जाने क्रममा बाटोमा घटनास्थल भन्दा माथिल्लो मोड (घुम्ती) मा पासिमबाटा बस्ने मानमति भट्ट, उनकै नाती दीपकराज भट्ट र नातिनी लक्ष्मी भट्टसँग भेट भएको हो । मैले कहाँ जान लाग्नु भयो भनी सोधेँ, निजले ज्वरो आएर औषधि ल्याउन खोचलेक जान लागेको भनी बताएकी हुन् । त्यसपछि घर जाने क्रममा पासिमबाटा भन्ने स्थानमा चडेपानीबाट खोचलेक तर्फ एउटा ट्याक्टर आउँदै थियो । सो ट्याक्टरको अघिल्लो सिटमा मैले चिनेका नवराज भट्ट थिए, उनीसँग केही बोलचाल भएन । म सरासर लमकट्यास्थित मेरो घरमा गएको हुँ । मृतकको बुबा परिवर्तित नाम क (१८३) ले मेरो फुपूलाई जवरजस्ती करणी गरेको भन्ने कुरा म कक्षा ९ ( नौ ) मा पढ्दा सुनेको र म कक्षा ११ मा भर्ना भई सकेको २/३ दिनपछि मृतकले निजका केटी साथीहरु सँगै भएको अवस्थामा काले भनि मलाई जिस्काएको र निजका साथीहरुले हाँसेर मलाई गिज्जाएको हुँदा सोही कुराको पूर्वाग्रह लिई निजलाई करणी गरी मारेको हुँ ।’
प्रहरीले घटना भएको दुई साता बितेपछि बल्लमात्र घटनामा मृतक किशोरी अध्ययन गर्ने विद्यालयकै सहपाठीको संलग्नता भएको भन्दै सार्वजनिक गरेको थियो । मृतक भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न ती किशोर नाताले भागरथीकै भाइ पर्ने सातपुस्ता भित्रका थिए ।
यसरी घटनामा संलग्न व्यक्ति नाताले भाइ पर्ने सोही गाउँकै किशोर रहेको पाइएपछि प्रहरीले थप केही दिन अनुसन्धान गरी सरकारी वकिलमा रायसहितको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय बैतडीले परिवर्तित नाम क(१७१) का १६ वर्षीय किशोरलाई आजीवन कारावासको सजाय मागदाबी गर्दै बैतडी जिल्ला अदालतमा फागुन २५ गते मुद्दा दर्ता गराएको थियो ।
सोही मुद्दामा अदालतले साक्षी बुझ्ने र प्रतिवादीकै बयान लिने कामसमेत गरेको थियो । प्रतिवादी किशोरले अदालतसमक्षको बयानमा पनि मृतक किशोरीले आफूलाई होच्याएको र मृतक किशोरीकी बुवाले आफ्नो फुपूलाई धेरै पहिले जवरजस्ती करणी गरेको भन्ने सुनेको कारण रिस रहेको कारण बलात्कार र हत्या गरेको बयान दिएका थिए ।
अपराधमा संलग्न किशोरको बयान : बेहोसी अवस्थामै बलात्कार गरेँ
भागरथी भट्ट बलात्कार र हत्याका आरोपी किशोरले भागरथी भट्टलाई लडाएपछि बेहोसजस्तै भएको अवस्थामा बलात्कार गरेको र सोही क्रममा मलाई नमार भने पनि आफूले मारेको बयान अदालतलाई समेत दिएका थिए । अदालतमा न्यायाधीशसमक्ष दिएको बयानमा घटनामा संलग्न किशोरले दिएको बयान यस्तो छः
वारदात मितिको बिहान १०ः०० बजे स्कुल गएको हुँ । ऐ दिउसो २ः००–३ः०० बजेको समयमा म बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ स्थित लबलेक भन्ने ठाउमा मृतकलाई कुरेर बसेको थिएँ । उक्त मिति र समयमा मृतकसँग मेरो भेट भएको हो । जाहेरी दरखास्तको बेहोरा यस अदालतबाट पढीबाँची सुनाउदा सुने वेहोरा साँचो हो । मिति २०७७।१०।२१ गते बिहान ८ः०० बजेको समयमा म विद्यालय जान भनी घरबाट हिडेको हुँ । बाटोमा जिल्ला बैतडी दोगडाकेदार गाउँपालिका वडा नं ७ बस्ने मेरो साथी भानदेव भट्ट, तर्कराज भट्ट र लिलाधर भट्टसँग भेट भइ हामी तीनैजना खोचलेक बजारमा रहेको बिरभान कार्कीको पसलमा गई आफ्नो पाइन्टमा लागेको माटो पानीले पुछेर तीनैजना विद्यालयतर्फ गएका हौँ । विद्यालय गइ पठनपाठन कार्य सकेर करिब १ः४५ बजेतिर विद्यालयबाट घरतिर जान भनी फर्केका हौँ । करिब ५ मिनेट पछि हामी तीनैजना खोचलेक बजार पुगेका हौँ । खोचलेक बजारमा मैले मृतक परिवर्तित नाम क(१८०) लाई पनि निजका दुई जना केटी साथीहरुसँग (साथीको नाम थाहा नभएको) देखेको थिए । खोचलेक बजारमा मेरा साथीहरु कपाल काट्न भनी बसे, म घरतिर हिडेको हुँ ।
घर जाने क्रममा मृतक परिवर्तित नाम क (१८०) आफ्नो घरतिर हिँडेको करिब ५ मिनेटपछि म पनि मृतकको पछिपछि हिँडेको हुँ । हिँड्दै गर्दा मृतक परिवर्तित नाम क (१८०) चाउचाउ खाँदै एक्लै घरतिर गइरहेकी समयमा ऐ. गाउँपालिकामा पर्ने सिल्ल भन्ने स्थानमा पुग्दा म मृतकभन्दा अगाडि गई ५/१० मिनेट अगाडि पर्ने लबलेक जङ्गलमा सडकको बायाँ हाततिर मृतकलाई कुरेर बसिरहेको थिएँ । मृतक मोबाइलमा गाना (गीत) सुन्दै आइरहेकी थिइन् । करिब दिउँसोको अन्दाजी २ः४७ बजे तिर मैले मृतकलाई बाटोबाट २/३ मिटर तल धकेलेको हुँ । मैले धकेलेपछि मृतक त्यहाँबाट उठेर तल गई हिँड्दै थिई । म पनि सडकबाट तल ओर्लेर मृतकको पछिपछि आइ सिधै मृतकको घाँटी दबाएको हुँ । मैले घाँटी दबाउँदा मृतक केही बोलेकी थिइनन् र कुनै किसिमको प्रतिकार पनि गरेकी थिइनन् । मैले घाँटी दबाएको ५/७ मिनेट पछि मृतक बेहोस जस्तै भइ त्यसपछि मैले निज मृतकलाई करणी गरेको हुँ ।
त्यसपछि पुनः मैले मृतकको घाँटी च्यापी अन्दाजी दिउसोको २ः५० बजेको समयमा आफ्नो घरतिर हिँडेको हुँ । हिँड्दै गर्दा सडकको माथी छेउमा निज मृतकको मोबाइल र घडी भेटेको हुँ । उक्त घडी मैले मृतकलाई सडकबाट तल धकल्ने बेला सडकमा खसेको हो । त्यसपछि मैले मृतकको मोबाइलको ब्याट्री झिकेर तल फालेको हुँ । मृतकको घडी पनि सडकको तल फाली आफ्नो घरतिर गई ऐ. ४ः०० बजेको समयमा आफ्नो घर पुगेको हुँ । घरमा गइ घटनाको बारेमा मैले कोही कसैलाई जानकारी गराएको होइन । निज मृतकको टाउको तथा खुट्टामा भएको चोट कसरी लाग्यो मलाई थाहा भएन । मैले सडकबाट तल धकाल्दा चोट लागेको होला । घर पुगेपछि मैले हातमुख धोएर खाना खाइ ऐ. बेलुका करिब ५ः०० बजेको समयमा मृतकको घर नजिकै रहेको मेरो पुरानो घरमा आफ्नो मोबाइल चार्जमा राखी मेरो जेठोबुवाको घरमा गइ आफ्नो भाइसँग गुच्चा खेल्दै गर्दा मृतककी आमाले मकहाँ आएर मृतक अहिलेसम्म घरमा आएकी छैनन्, कतै तैँले देखिस् भनि सोध्दा मैले मृतकको छुट्टी म भन्दा अगाडि हुन्छ, निज मृतक म भन्दा अगाडि नै आएकी होलिन् भनी जवाफ दिएको थिएँ ।
मिति २०७७।१०।२४ गते मलाई प्रहरीले घटनाबारे सोधपुछ गर्दा मैले केही बताएको थिइनँ, बताउने आँट पनि आएको थिएन । पछि मिति २०७७।११।०४ गते मलाई प्रहरीले एक्लै राखी सोधपुछ गर्दा मैले उक्त घटना आफूले गरेको बताइ सोही दिन पक्राउ परेको हुँ । निज मृतकको पढ्ने विद्यालयमा म नयाँ विद्यार्थी भइ गएकोले मृतकले आफ्नो केटी साथीहरुको अगाडी काले, कलमौरे भनेर मलाई जिस्काइ मेरो बेइज्जत गरेको भएर मैले निज मृतकलाई जवरजस्ती करणी गरी मारेको हुँ । निज मृतकसँग मेरो पहिले झगडा भएको थिएन । अन्य रिसइवीमा निज मृतकको बुवाले मेरो फुपू (जेठो बाजेको छोरी)लाई धेरै अगाडि २०४४ सालतिर जबरजस्ती करणी गरेको कुरा म कक्षा ९ मा पढ्नेबेला गाउँलेबाट सुनेर थाहा पाएकोले सो सम्बन्धी पनि निज मृतकसँग रिसइवी रहेको थियो ।
घटनास्थल लाशजाँच मुचुल्काका उल्लेखित बेहोरामा मृतकको स्तन मुनि दाँतले टोकेको भन्ने बेहोरामा निज मृतकको स्तनको मुनि मैले नै टोकेको हुँ । निज मृतकको लुगासमेत मैले नै फुकालेको हुँ । अन्य घाउचोट सम्बन्धमा मलाई थाहा छैन । ढुङ्गामा लागेर घाउ भएको हुनसक्छ ।’
यसरी १८ वर्षीय किशोरीको बलात्कार र हत्यामा संलग्न १६ वर्षीय किशोरले आफूलाई काले भनेर जिस्काएको र मृतकका बुवाले आफ्नी फुपूलाई धेरै अगाडि जवरजस्ती करणी गरेको भनेको सुनेकाले रिस साँधी बलात्कार हत्या गरेको बयान दिएका थिए ।
घटनामा संलग्न किशोरको साविती बयान, मेडिकल रिपोर्ट र किशोरीको योनीबाट लिइएको भेजाइनल स्वाबको नमुना र आरोपी किशोरको नङको मासुबाट लिइएको डिएनए प्रोफाइल म्याचिङ भएसँगै घटनामा किशोरको संलग्नता पुष्टि गर्दै बैतडी जिल्ला अदालतले किशोरलाई जन्मकैदको फैसला सुनाएको थियो ।
बैतडी जिल्ला अदालतले गरेको फैसलाको ठहर खण्डमा भनिएको छ,
.... बालबिज्याइकर्ता परिवर्तित नाम क(१७१)ले आफ्नो सात पुस्ता भित्रको दिदी नाता पर्ने परिवर्तित नाम क (१८०) लाइ वारदात स्थलमा सडकबाट तल धकेली आफू तल गई परिवर्तित नाम क (१८०) को घाँटी थिची बेहोस बनाई जवरजस्ती करणी गरी पुनः घाँटी थिची कर्तव्य गरी मारेको तथ्य पुष्टि भएको हुँदा निज बालबिज्याइकर्ता परिवर्तित नाम क (१७१) ले अभियोग मागदाबी मुलुकी अपराध संहिता,२०७४ को दफा १७७ को उपदफा (१), ऐ. संहिताको दफा २१९ को उपदफा(१) र ऐ. संहिताको दफा २१९ को उपदफा (८) विपरीतको कसूर गरेको ठहर्छ ।
.... मिसिल संलग्न जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपीवाट मृतक परिवर्तित नाम क (१८०) १८ वर्ष उमेर पुगी सकेको देखिएको हुँदा १८ वर्ष उमेर पुगी सकेकी महिलालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) को देहाय (ङ) ले सात वर्षदेखि दश वर्ष सम्म कैद सजाय हुने व्यवस्था गरेको छ । बालबिज्याइकर्ता परिवर्तित नाम क (१७१) र मृतक परिवर्तित नाम क (१८०) सात पुस्ता भित्रको दिदी भाइ भएको हुँदा सात पुस्ता सम्मको नातामा करणी गर्नेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२० को उपदफा (२) को देहाय (घ) ले एक वर्षदेखि तीन वर्षसम्म कैद र दश हजार रूपैँयादेखि तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।
बालबिज्याइकर्ता परिवर्तित नाम क (१७१) ले गरेको अभियोग मागदावीको कसूरमा उल्लेखित दफाहरु वमोजिम सजाय गर्नु पर्नेमा मुलुकी अपराध संहिता २०७४ को दफा ४१ मा ‘यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नु पर्नेछ’ भन्ने व्यवस्था गरी सोही दफाको देहाय (च) मा ‘जवरजस्ती करणी गरी ज्यान मारेमा’ भन्ने व्यवस्था रहेको हुँदा जबरजस्ती करणी गरी ज्यान मार्ने कसूरदारलाई जीवित रहेसम्म कैद सजाय हुने देखियो । एउटै वारदातमा एक भन्दा वढी कसूर गरेमा सबैभन्दा बढी सजाय हुने कसूर वापतको सजाय गरी त्यसपछिको अधिकतम सजाय हुने अर्को कसूर वापतको सजायको आधा सजाय थप गरी सजाय गर्नु पर्नेछ तर जन्मकैदको सजाय हुने अवस्थाका कसूरदारको हकमा यो उपदफा लागु हुने छैन भन्ने व्यवस्था मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ मा रहेको पाइयो । बालबिज्याइकर्ताले परिवर्तित नाम क(१८०)लाइ जबरजस्ती करणी, हाडनाता करणी, कर्तव्य ज्यान गरी एकै वारदातमा एक भन्दा बढी कसूर गरेको भएपनि जवरजस्ती करणी गरी ज्यान मारेमा जीवित रहेसम्म कैद सजाय हुने व्यवस्था मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ मा रहेको हुँदा निज बालबिज्याइकर्ताले गरेको अलग अलग कसूरमा अलग अलग सजाय गर्नुपर्ने अवस्था देखिएन तसर्थ निज बालबिज्याइकर्ता परिवर्तित नाम क (१७१) ले गरेको अभियोग मागदावीको कसूरमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम नै सजाय हुने ठहर्छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ मा जबरजस्ती करणी गरी ज्यान मार्ने कसूरदारलाई जीवित रहेसम्म कैद सजाय गर्नुपर्ने व्यवस्था छ । बालबिज्याइकर्ता परिवर्तित नाम क (१७१) मिसिल संलग्न स्थानान्तरण प्रमाणपत्रको प्रतिलिपीबाट वारदात मितिमा १५ वर्ष ११ महिनाको भइ १६ वर्ष भन्दा कम उमेरको नावालक भएको देखिएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ ले नाबालकले कसूर गरेमा पूरा सजाय नभइ उमेरको आधारमा खण्डे सजाय गर्नुपर्ने व्यवस्था गरेको छ । निज बालबिज्याइकर्ता १४ वर्ष पूरा भई १६ वर्ष मुनिको नाबालक भएको हुँदा निज बालबिज्याइकर्तालाई बालबालिका सम्वन्धी ऐन, २०७५ को दफा ३६(३) बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय गर्नु पर्ने देखियो । नावालकले जीवित रहेसम्म कैद गर्नुपर्ने कुनै कसूर गरेमा के कति वर्षलाई आधार मानि खण्डे सजाय गर्ने भन्ने प्रचलित कानूनमा स्पष्ट व्यवस्था रहेको पाइएन । आजीवन कैद सजाय गर्दा जीवन रहेसम्म कैद सजाय गर्नुपर्ने हुन्छ । नाबालकले गरेको कसूरमा पूरा सजाय गर्न नमिल्ने र आजीवन कैद सजायको खण्डे सजाय गर्दा कति वर्षलाई आधार मान्ने भन्ने स्पष्ट कानूनी व्यवस्था नभएको हुँदा जन्म कैदको सजायलाई नै आधार मान्नुपर्ने देखियो ।
जन्म कैदको गणना गर्दा २५ वर्ष कैद सजाय हुने गरी गणना गर्नुपर्छ भन्ने व्यवस्था मुलुकी अपराध संहिता, २०७४ को दफा ४२ मा रहेको हुँदा निज बालबिज्याइकर्ता परिवर्तित नाम क (१७१) लाइ समेत २५ वर्ष कैद सजायलाई आधार मानी कैद सजाय गर्नुपर्ने देखियो । तसर्थ बालबिज्याइकर्ता परिवर्तित नाम क (१७१) लाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१), ऐ. दफा २१९(१), र ऐ. दफा २१९ (८) बमोजिमको कसूरमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म हुने कैद सजायलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६(३) बमोजिम आधा सजाय गर्नुपर्ने भएको हुँदा बालबिज्याइकर्ता परिवर्तित नाम क (१७१) लाई १२ (बाह्र) वर्ष ६ (छ) महिना कैद सजाय हुने ठहर्छ । बालबिज्याइकर्ता परिवर्तित नाम क (१७१) ले गरेको कसूरको गाम्भिर्यता, त्यसबाट पीडित परिवारलाई पर्न गएको असर समेतलाई ध्यानमा राखी मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ र दफा २२८ बमोजिम बालबिज्याइकर्ता परिवर्तित नाम क (१७१) बाट मृतकको आमा परिवर्तित नाम क (१८५) ले रु. २,००,००० (दुई लाख) क्षतिपूर्ति पाउने ठहर्छ । बालविज्याइकर्ता परिवर्तित नाम क (१७१) ले अपराध पीडित संरक्षण ऐन,२०७५ को दफा ४१(१)(ज) बमोजिम रु.२,२००।– (दुई हजार दुइ सय) क्षतिपुर्ती शुल्क बुझाउनु पर्ने ठहर्छ ।
बैतडी जिल्ला अदालतको बाल इजलासबाट ठहर भएको यस मुद्दामा न्यायाधीश तिलकबहादुर कार्की र स्थानीय समाजसेवी केशव दत्त पाण्डेले फैसला दिएका हुन् । फैसलामा अपराधमा संलग्न किशोरलाई आजीवन कैद सजाय हुनुपर्ने भए पनि कानुनी व्यख्या नभएको हुँदा कति वर्षलाई आजीवन कारावास मान्ने भनी कहीँ कतै उल्लेख नभएको कारण अपराध अनुसार सजाय गर्न नसकिएको फैसलामा उल्लेख छ ।
अपराधको प्रकृति र संलग्नता हेर्दा अपराध गराउने किशोरलाई आजीवन कारावासको सजाय गर्नुपर्ने भए पनि कानुनको स्पष्ट व्याख्या नभएको कारण जन्मकैद मात्रै गरिएको कुरा उल्लेख छ । साथै अपराधमा संलग्न किशोर १६ वर्षभन्दा कम र १४ वर्षभन्दा माथिको भएको कारण कुल सजायको आधा सजाय काटे पुग्ने भन्दै जम्मा १२ वर्ष ६ महिना मात्रै कैद सजाय सुनाइएको छ । र, उक्त फैसलाको साधक जाहेर गर्नका लागि भन्दै उच्च अदालतमा समेत पठाइएको छ ।
(मृतक बालिकाको नाम सम्बन्धमा यसअघि नै अधिकांश सञ्चारमाध्यममा नाम आइसकेको र फैसलामा पनि कहीँ सही नाम थर नै उल्लेख भएकाले यहाँ केही स्थानमा सही नाम थर उल्लेख गरिएको छ – सम्पादक ।)