सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

एयर अरेबियाको ठगी : रद्द गरेको टिकटको रकम फिर्ता नै गरेन

मङ्गलबार, १० फागुन २०७८, ०९ : ५९
मङ्गलबार, १० फागुन २०७८

युनाइटेड अरब इमिरेट्स (यूएई) को विमान कम्पनी एयर अरेबियाले नियामककै धज्जी उडाउँदै नेपालीहरूलाई ठगी गरेको खुलेको छ । टिकट काटे पनि गन्तव्यमा पुग्न नसकेका यात्रुलाई रकम फिर्ता नदिएर एयर अरेबियाले नेपालीलाई ठगेको हो । सो एयरलाइन्सले टिकटबापतको रकम फिर्ता दिन आग्रह गरेको नेपाल सरकारकै समेत धज्जी उडाएको छ । 

ओमिक्रोन भेरियन्टले विश्वभर कोरोना महामारीको तेस्रो लहर निम्त्याएपछि नेपाल सरकारको गृह मन्त्रालयले माघ ७ गते खाडी राष्ट्र र मलेसियामा भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको थियो । विभिन्न उद्देश्यले ती मुलुकमा गई बिचल्लीमा परेका गुनासा, समाचार र सूचनाहरू प्राप्त भएकाले माघ १० गतेदेखि मन्त्रालयले यस्तो रोक लगाएको थियो ।

रोक लगाउनुअघि नै एयर अरेबियाको विमानबाट गन्तव्यमा पुग्न सयौँ नेपालीले टिकट काटेका थिए । तर, माघ १० पछि सरकारी निर्णय कार्यान्वयन भएसँगै अधिकांश (सरकारी मापदण्डमा नपरेका बाहेक) यात्रुहरू गन्तव्यमा जानबाट रोकिएका थिए । भिजिट भिसामार्फत खाडी मुलुक जान रोक लगाइएपछि यूएईको दुबईमा त नेपाली समुदायले आयोजना गरेका दर्जनौँ कार्यक्रम नै स्थगित भएको थियो । एयर अरेबियाले काठमाडौँ विमानस्थलबाट दुबईको शारजहा विमानस्थलसम्म नियमित उडान भर्ने गर्छ । 

टिकट काटे पनि गन्तव्यमा पुग्न नसकेका र टिकट रद्द गर्दा पनि एयर अरेबियाले रकम फिर्ता नगरे पनि नेपाली यात्रुहरूले सरकारलाई गुहारेका थिए । टिकटबापतको रकम फिर्ता नदिएर ठगी गरेको व्यापक गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाले गत माघ २० गते एयर अरेबियालाई टिकटको रकम फिर्ता गर्न भन्दै पत्राचार गरेको थियो ।

मन्त्रालयले एयर अरेबियालाई पठाएको सो पत्रमा लेखिएको छ, ‘नेपाल सरकारबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गर्नुअघि भिजिट भिसामा दुबई यात्राको लागि टिकट काटेका यात्रुहरूको यात्रा कार्यक्रम सरकारको निर्णयको कारण अकस्मात् रद्द हुन गएकोले निजहरूले हवाई टिकट बापतको रकम फिर्ताको अनुरोध गर्दा एयरलाइन्सले क्यान्सिलेसन चार्ज लाग्छ भनी टिकटको रकम फिर्ता गर्न नमानेको भनी रकम फिर्ताको लागि यस मन्त्रालयमा गुनासो प्राप्त हुन आएकाले राज्यको निर्णयअनुसार वाध्य भइ टिकट फिर्ता गरी यात्रा रद्द गर्न पुगेका यात्रुहरूको टिकट बापतको सम्पूर्ण रकम फिर्ता गरिदिनुहुन निर्णयअनुसार अनुरोध छ । मन्त्रालयमा प्राप्त गुनासोको प्रतिलिपि यसैसाथ संलग्न छ ।’

तर, मन्त्रालयले रकम फिर्ता दिन आग्रहसाथ पत्र पठाउँदा पनि एयर अरेबियाले टिकट रद्द गरेका यात्रुको रकम फिर्ता दिन अटेरी गरिरहेको छ । रातोपाटीको सम्पर्कमा आएका एयर अरेबिया पीडित दर्जनौँ यात्रुहरूले एयर अरेबियाबाट रकम फिर्ता नपाएको गुनासो गरेका छन् । आफूहरूले बजेट एयरलाइन्स (टिकटदर सस्तो भएको एयरलाइन्स) ठानेर टिकट काटे पनि ठगिएको उनीहरूले बताएका छन् । कोभिड पोजिटिभ भइ दुबई पुग्न नपाएका यात्रुहरूसमेत एयर अरेबियाबाट ठगिएका हुन् । एयर अरेबियाको नेपाल कार्यालय काठमाडौँ हात्तीसारमा छ ।

सामूहिक टिकट काटेका पनि ठगिए

सरकारको भिजिट भिसामा दुबई जान रोक लगाउनुअघि काठमाडौँस्थित रुप्से होलिडेजले पनि त्यहाँ नेपाली पठाउन एयर अरेबियाको टिकट काटेको थियो । तर, सरकारी निर्णयपछि नेपाली पर्यटकहरू यतै रोकिए । त्यसपछि रुप्स होलिडेजले एयर अरेबियासँग टिकटबापत यात्रुले तिरेको रकम फिर्ता मागेको थियो । 

तर, एयर अरेबियाले टिकटबापतको पुरै रकम फिर्ता गर्न नसक्ने भन्दै होलिडेजलाई माघ २० गते पत्र लेख्यो । सो पत्रमा रुप्स होलिजेडमार्फत २९ यात्रुले पुस ३० गते टिकट काटेका र माघ १३ गते रद्द गरेका उल्लेख छ । टिकट काटे पनि सरकारी निर्णयकै कारण युएई जान नपाएका यात्रुलाई पुरै रकम फिर्ता गर्नुको साटो एयर अरेबियाले टिकट रद्द गर्दा यूएई दिराम २०० (मंगलबार तोकिएको विनिमयदरअनुसार ६ हजार ४०० रुपैयाँ) क्यान्सिलेसन चार्ज काटिने उल्लेख गरेको छ ।

सामान्य ग्रुप बुकिङ नीतिअनुसार प्रस्थान मितिको दुई हप्ताभित्र टिकट क्यान्सिल गर्न नमिलेपनि होलिडेज र एयर अरेबियाको सम्बन्धका कारण क्यान्सिलेसन चार्ज काटेर रकम फिर्ता गर्न सकिने सो पत्रमा उल्लेख छ । एयर अरेबियाले प्रतिव्यक्ति ४७ हजार ८५० मा काटेको टिकटको ३४ हजार ६५० रुपैयाँमात्रै रिफन्ड हुने सो पत्रमा लेखेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल नेपालमा २० अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले उडान भरिरहेका छन् । ती मध्ये एयर अरेबिया पनि एक हो । नेपाली यात्रुमाथि टिकटमा भएको ठगीबारे जानकारी लिन खोज्दा एयर अरेबियाका नेपाल र बंगलादेश क्षेत्र व्यवस्थापक अनिल विजयानसँग सम्पर्क हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप