आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लाइभ लोकदोहोरीमा पुराना भाका प्रयोग : ‘बाघको छालामा स्यालको रजाइँ’

सर्जकलाई नाम समेत छैन, कपि गर्नेलाई डलर !
मङ्गलबार, १० फागुन २०७८, १६ : ०६
मङ्गलबार, १० फागुन २०७८

गायिका अञ्जु पन्तको स्वर रहेको चर्चित गीत न बिर्सें तिमीलाई न पाएँ तिमीलाई केही समय अगाडि नयाँ भर्सनमा सार्वजनिक भयो । गीतका सर्जक विपिन किरणले गीतलाई नयाँ भर्सनका रुपमा पुरानै एरेन्जमा अहिलेकी गायिका रचना रिमालको स्वरमा ल्याएका थिए । गीत सार्वजनिक गर्दा भने विपिनले ओरजिनल गायिका पन्तको नाम राख्न भुले, यसले ठूलै विवाद चर्कियो । गायिका पन्तले सो बिषयमा आपत्ति जनाइन्, जो स्वाभाविक पनि थियो । यस बिषयमा गायकदेखि गीतसंगीत उत्पादन गर्ने कम्पनी सम्मले आआफ्नो अभिव्यक्ति दिए । विवादले ठूलै रुप लिने देखेर विपिनले गीत सच्याए, विवाद टुङ्गियो ।

एउटा गीत, त्यो पनि सर्जककै अधिकार भएको पुरानै एरेन्जमा नयाँ गायिकाको स्वरमा ल्याउँदा नाम छुट्यो भनेर हंगामा गर्ने गीतसंगीतसँग सम्बद्ध ब्यक्तिहरुको ध्यान गीतसंगीतमा भएको विकृति केलाउने पक्षमा भने जान सकेको छैन । उदाहरणको रुपमा अहिले लाइभ लोकदोहोरीका नाममा मेलामहोत्सव, दोहोरी साँझदेखि टेलिभिजन र युट्युव च्यानलमा समेत पुराना तथा चलेका लोकदोहोरीका भाका नयाँ गायकहरुको स्वरमा ल्याउने गरिएको छ । त्यसरी चलेका भाका प्रयोग गर्दा न पुराना गायक वा सर्जकको नाम उल्लेख गरिन्छ, न त उनीहरुलाई रोयल्टीकै ब्यवस्था गरिन्छ । के यो बाघको छालामा स्यालको रजाइँ होइन र ?

खै कार्वाही ?

लोकदोहोरीका भाका सिर्जना गर्न एउटा सर्जक टिमले निकै दुःख गरेको हुन्छ । त्यसमा लाखौं लगानी परेको हुन्छ । तर अर्काेको भाका कपि गरेर चर्चा कमाउने र डलरमा रमाउने धेरै छन् यहाँ । अर्काको भाका प्रयोग गरेर सर्जकको नाम समेत नलिनु दुःखद कुरो भएको लोकदोहोरी गायक बद्री पंगेनी बताउँछन् ।

लाइभ लोकदोहोरीमा अर्काको भाका प्रयोग गरेर रोयल्टी नदिनु, अनुमति नलिनु त सामान्य भएको छ, गायक पंगेनीले भने, ‘चित्त दुःख्ने बिषय त हाम्रो भाकामा गीत गाउँदा नाम समेत लिदैनन् र पो । पुराना भाकामा गीत गाउँदा अनुमति लिनुपर्ने, रोयल्टी दिनुपर्ने समेत पंगेनीको भनाई छ ।

हाम्रो संगीत क्षेत्रमा भद्रगोल छ । यस बिषयमा सिस्टम छैन, बनाउनुपर्ने छ पंगेनीले थपे, ‘मैले दोहोरी च्याम्पियन कार्यक्रम चलाउँदा हरेक स्रष्टाको नाम लिन्थे, गीत प्रसारण गर्नुअघि अनुमति पनि लिन्थे । अहिले युट्युवमा आउने लाइभ लोकदोहोरीवालाले अनुमति लिन्छन् भन्ने आफूलाई नलागेको पंगेनीले सुनाए ।

लोकगायिका विमा कुमारी दुराले पनि लाइभ लोकदोहोरी गाउनेहरुले रोयल्टी दिनु त परको कुरा, अनुमतिसमेत नलिने बताउँछिन् । यहाँका चोर्ने र ठग्नेले कहिलै अनुमति लिएको थाहा छ ? दुराले आक्रोशित हुँदै भनिन्, ‘चोरेर, ठगेर खान पल्केकाले त्यसै गरी खान्छन् । कपि गर्नेलाई कानुनी दायरमा ल्याउनुपर्ने गायिका दुराको सुझाव छ । बाल्यकालमा कुनै माग गरियो भने पुरा हुन्छ । हाम्रो त दाँत समेत झरिसकेको अवस्थामा राज्यसँग के पो आशा गर्नु र । गायिका दुराले निराशा ब्यक्त गरिन् ।

पहिलेकै चलन

हुन त चलेका दोहोरी भाकामा लाइभ लोकदोहोरीमा गाउने चलन अहिलेको होइन, पहिले देखिकै हो । यसको लागि स्रष्टासँग अनुमति लिने र रोयल्टी दिने चलन पहिले पनि थिएन, अहिले पनि छैन । लाइभ लोकदोहोरी उत्पादन गर्दै आएका ब्यक्ति तथा संस्थाले पनि यही जिकिर गर्छन् । एपिवान टेलिभिजनमा लाइभ लोकदोहोरी कार्यक्रम जुनकिरी चलाउँदै आएका गायक तथा कार्यक्रम प्रस्तोता राजेश बर्देवाको भनाई पनि यस्तै रहेको छ ।

 

मैले प्रायः स्रष्टाको नाम लिने र युट्युवमा समेत उल्लेख गर्ने गरेको छु । भुलवश केहीमा छुटेको पनि हुन सक्छ, बर्देवाले भने, ‘स्रष्टालाई सोधिने र जानकारी दिने प्राक्टिस भने भए जस्तो लाग्दैन । आफूले आफ्नो कार्यक्रम मार्फत् समेत स्रष्टालाई रोयल्टी नदिएको बताउने बर्देवाले थपे, ‘मैले मात्र होइन, कसैले पनि दिएको सुन्न पाएको छैन ।

 

त्यस्तै युट्युवमा जुनकिरी नामकै लाइभ दोहोरी कार्यक्रम सञ्चालन गर्दै आएका गायक तथा संगीतकार बीबी अनुरागी पनि गायक बर्देवाको भनाईमा सहमत छन् । अनुरागीले कार्यक्रमका लागि आफूले प्रयोग गर्ने भाकाको लागि पहिले अनुमति नलिए पनि अहिले लिने गरेको बताए । मेरो कार्यक्रममा अहिले पुराना भाका भन्दा पनि नयाँ बढी प्रयोग गर्ने गरेको छु । पुरा प्रयोग गर्नु परे अनुमति लिन्छु, अनुरागीले भने, ‘नयाँ भाका आफैले समेत बनाएर दिन्छु । अरुको भाका प्रयोग गर्नु, अनुमति नलिनु र रोयल्टी नदिनु राम्रो प्रबृत्ति नभएको अनुरागीको भनाई छ ।

कस्तो रोयल्टी  ?

कलाकारलाई लाइभ लोकदोहोरी गाउन लगाउने दोहोरी साँझ, युट्युव, टेलिभिजन मात्र होइन, पुराना भाका दोहोरी गाएर रातारात चर्चित हुँदै नाम, दाम कमाएका गायकसमेत थुप्रै छन् यहाँ । पछिल्लो समय लाइभ लोकदोहोरीमा चर्चित गायिका हुन् कल्पना दाहाल । उनी विभिन्न मेला महोत्सवदेखि टेलिभिजनको लाइभ लोकदोहोरीसम्म ब्यस्त छिन् । यस्ता कार्यक्रममा उनले गाउने दोहोरी प्रायः पुरानो भाकामै हुन्छ । ती भाकामा गीत गाउनु पूर्व आफूले कसैसँग अनुमति नलिएको उनी स्वीकार्छिन् ।

मैले धेरैको भाकामा लोकदोहोरी गाएकी छु । त्यसका लागि अनुमति लिने गरेकी छैन, सर्जकको नाम लिएर सम्मान गर्दै गाउने गरेकी छु, कल्पनाले भनिन् अनुमति प्राक्टिक्स पनि छैन । सधैं नयाँ भाका गाएर पनि सकिन्न । लाइभ लोकदोहोरीले पुराना भाका र दोहोरीको क्रेज बढाएको कल्पनाको धारणा छ ।

भाका प्रयोग गर्दा सोध्नुपर्ने र आएको आम्दानी पनि छुट्याउनु पर्ने हो । यो मामिलामा सर्जक अन्यायमा परेका छन्, कल्पनाले थपिन,नियम र सिस्टम भए दिनुपर्छ । दिन हामीलाई केही आपत्ति छैन ।

कल्पनाको विचारसँग गायक राजु परियार पनि सहमत छन् । उनी पनि लाइभ लोकदोहोरीमा पुराना भाका प्रयोग गर्ने तर असली स्रष्टालाई भने उपेक्षित गर्ने गरिएको बताउँछन् । आफूले भने त्यसो नगरेको परियारले बताए ।

मैले प्रयोग गरेको पुराना भाकामध्ये केही अनुमति लिएको छु, केही छैन, गायक परियार भन्छन्, ‘अनुमतिको चलन थिएन र छैन पनि तर कमर्सियल हिसावले जाँदा अनुमति लिनु अनिवार्य भएको परियारको भनाई छ । यो बिषयमा लोकदोहोरी प्रतिष्ठान र सम्बन्धित पक्ष बसेर छलफल, बहस गर्नुपर्ने सर्जकको अधिकार कसैले मार्न नहुने उनको जिकिर छ । यस्ता भाका ब्यावसायिक प्रयोजनमा धेरै प्रयोग भएको तर रोयल्टी दिएको सुखद समाचार छैन ।

गायक परियारले भने, ‘मैले एकपटक सुरुवात गरौं भनेर सर्जक कस्तुप पन्त र एकनारायण भण्डारीलाई केही रकम दिएको थिएँ तर अरुले फलो गरेको पाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप