शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोभिड सम्बन्धी सबै नियम हटाइयो, आइसोलेशन बस्न नपर्ने

मङ्गलबार, १० फागुन २०७८, ०६ : २७
मङ्गलबार, १० फागुन २०७८

बेलायतमा फेब्रुअरी २४ तारिखबाट कोभिड सम्बन्धि बाँकी रहेका सबै प्रतिबन्धहरुको अन्त्य हुने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझको पत्रकार सम्मेलनमा उक्त कुराको पुष्टि गरेका हुन् । 

आउँदो बिहीबारदेखि कोरोना संक्रमित भएपनि आइसोलेशन बस्न पर्ने कानूनी बाध्यता रहने छैन । यद्यपि कोरोना पोजिटिभ भएमा घरमै बस्न सुझाव दिइए पनि  यसलाई बाध्यात्मक रुपमा भने लागू गरिने छैन ।  सोही दिनबाट कन्ट्याक्ट ट्रेसिंङ सम्बन्धी व्यवस्थाको पनि अन्त्य गरिनेछ ।

यसैगरी हाल लागू गरिएको भ्याक्सिन पासपोर्ट पनि खारेज हुने भएको छ । हाल निशुल्क रुपमा उपलब्ध गराउँदै आएको कोरोना परीक्षणको व्यवस्था पनि हटाइने भएको छ । तर, जोखिममा रहेका ८० वर्ष माथि उमेर भएका र केयर होममा रहेका  मानिसको हकमा उक्त नियम यथावत नै रहनेछ । 

होम  आइसोलेशन बसेवापत निम्न आय भएकालाई सरकारले उपलब्ध गराउँदै आएको पाँच सय पाउण्ड पनि हटाइने भएको छ । आउँदो बुधबार बेलायतको संसदमा मतदान गरिने र संसदले पारित गरेपछि बिहीबारबाट कोभिड सम्बन्धी नयाँ नियम कार्यान्वयन हुनेछ ।

ओमिक्रोनको पिक समय सकिएकाले सर्वसाधारणले आफैले आफ्नो जिम्मेवारी बहन गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् । महामारीको अन्त भएको छैन, भाइरस अझै कायमै रहेकाले आफ्नो सुरक्षा आफैले सावधानीपूर्वक गर्न पनि उनको अनुरोध छ । 

राष्ट्रिय तथ्यांकको कार्यालयका अनुसार गतहप्ताको आंकडाका आधारमा अझै पनि बेलायतमा २० जनामध्ये एक जनामा कोभिड संक्रमण हुने गरेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप