आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन जोगाउन पौडेलले बढाए सक्रियता

मङ्गलबार, १० फागुन २०७८, ०६ : २०
मङ्गलबार, १० फागुन २०७८

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभामा टेबुल भएसँगै सत्ता गठबन्धनका राजनीतिक दलबीच सम्बन्ध चिसिएका बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसिसी सम्झौता टेबुल भएपछि सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। सरकारमा सहभागी यी दुई दलका सांसद नै एमसिसी सम्झौताको विपक्षमा उभिएपछि वर्तमान गठबन्धन टुट्ने अवस्थामा पुगेको हो।  

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा वर्तमान गठबन्धन कायम नरहे पनि संसद्बाट एमसिसी अनुमोदन गराएरै छाड्ने अडानमा छन्। माओवादी र एकीकृत समाजवादी सरकारबाट बाहिरिए पनि प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर एमसिसी पारित गर्ने पक्षमा देउवा छन्।

सोही अनुसार एमालेका नेताहरूसँग देउवाले सम्पर्क बढाएका छन्। माओवादी र एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको अवस्थामा एमसिसी पारित गर्न र सरकार सञ्चालनमा पनि सहयोग गर्ने आश्वासन एमाले नेताहरूले देउवालाई दिँदै आएका छन्।

तर प्रधानमन्त्री देउवाका साथै कांग्रेस नेताहरू सकेसम्म अहिलेको गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन्। कम्तीमा मंसिरभित्र हुने तीन तहको निर्वाचनसम्म अहिलेको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताउँदै एक नेताले भने, ‘तर सरकारमा बस्ने र सरकारले ल्याएकै प्रस्तावको विपक्षमा उभिने हो भने गठबन्धन भनेर मात्र बस्ने अवस्था हुँदैन। गठबन्धन हुँदैन भने पनि एमसिसी पारित गरेर अघि बढ्नुपर्छ भन्ने कांग्रेसको स्पष्ट धारणा छ।’ उनले अहिलेको गठबन्धनलाई निरन्तरता दिनकै लागि नेता रामचन्द्र पौडेलले गठबन्धनका नेताहरूसँग छलफल अघि बढाएको दाबी गरे। यो समाचार नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप