शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त राजदूत आचार्यले बुधबारबाट पदभार सम्हाल्ने

सोमबार, ०९ फागुन २०७८, २२ : २९
सोमबार, ०९ फागुन २०७८

बेलायतका लागि २२ औं राजदूतको रुपमा भर्खरै मात्र नियुक्त भएका राजदूत ज्ञानचन्द्र आचार्य बुधबार लन्डन आइपुग्ने भएका छन् । लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार राजदूत आचार्य कतार एयरवेजको उडानबाट मंगलबार साँझ काठमाडौँबाट उडेर बुधबार बिहान लन्डन आइपुग्ने तालिका रहेको छ । राजदूत आचार्यले बुधबारबाट नै आफ्नो पदभार सम्हाल्ने छन् ।

गतवर्षको अक्टुबर २४ मा तत्कालीन राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किएपछि नेपाली दूतावास लन्डन राजदूतविहीन बनेको थियो । हाल कार्यबाहक राजदूतको रुपमा काउन्सेलर तथा उपनियोग प्रमुख श्रीमती रोशन खनालले जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

राजदूत आचार्य कूटनीतिक ज्ञान र अनुभव भएका व्यक्तिको रुपमा परिचित छन् । मुलुकको परराष्ट्र सम्बन्ध सञ्चालनमा प्रत्यक्ष संलग्न भइसकेका आचार्यले सन् २००७ देखि सन् २००९ सम्म पूर्व परराष्ट्र सचिव र सन् २०१२ देखि सन् २०१७ सम्म संयुक्त राष्ट्रसंघीय उपमहासचिवको रुपमा काम गरेका थिए  ।

झन्डै तीन दशक नेपालको परराष्ट्र सेवामा बिताएका आचार्य संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्यूयोर्कमा सन् २००९ देखि सन् २०१२ सम्म स्थायी प्रतिनिधि थिए। उनी सन् २००३ देखि सन् २००७ सम्म संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग जेनेभामा स्थायी प्रतिनिधि थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप